सगरमाथा क्षेत्रमा अटम सिजन शुरू



 

बुद्धवीर बाहिङ, सोलुखुम्बु
सगरमाथा क्षेत्रमा भदौ महिनाको मध्यसँगै अटम सिजन शुरू भएको छ। वर्षायाममा काठमाडौंलगायत अन्य क्षेत्रमा गएका स्थानीय तथा व्यवसायी खुम्बु क्षेत्रमा फर्कन थालेपछि अटम सिजन शुरू भएको हो।
अटम सिजनको सुरुआतीसँगै यस क्षेत्रका होटल, पसल, रेस्टुरेन्ट तथा लजहरू सरसफाइ गर्न थालिएको लुक्लाकी होटल व्यवसायी दावाफुटी शेर्पाले बताउनुभयो। यो सिजनमा सगरमाथा क्षेत्रमा सबैभन्दा बढी पर्यटकहरू आउने गरेको तथ्यांक छ। सबैभन्दा उत्तम सिजन मानिने यो अटममा सबैभन्दा कम लेक लाग्ने स्थानीयको भनाइ छ।

सिजन शुरू भएसँगै तेञ्जिङ हिलारी विमानस्थलमा पनि हवाईजहाज तथा हेलिकोप्टरको चाप बढेको छ। अटम सिजनका लागि दैनिक उपभोग्य खाद्य पदार्थहरू हवाईजहाजबाटै लैजानुपर्ने बाध्यता भएकाले पनि विमानस्थलमा चाप बढेको हो।

पछिल्लो समयमा भएको प्राकृतिक विपत्तिका कारण यस क्षेत्रमा अघिल्लो वर्षभन्दा कम पर्यटकहरू आएका थिए। प्राकृतिक विपत्तिपछि यस क्षेत्रको पर्यटन विस्तारै लयमा फर्कंदै गएकाले यो सिजनमा अघिल्लो वर्षको जस्तै पर्यटकहरू आउने व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्