कसले देख्छ मुक्तिराजको पिडा ?



दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ पुरीटोलका का मुक्तिराज पुरीलाई आँपूmले गर्दै आएको कुखुरापालन व्यवसाय ‘तातो दूध निल्नु न ओकेल्नु’ जस्तै भएको छ ।
पछिल्लो ६ महिनादेखि ब्रोईलर जातको कुखुरापालनमा हात हालेका उनको व्यवसायमा एकाएक दैव लाग्यो । उनको फर्ममा बेच्न तयार हुनै लागेका ५ सय ५० वटा कुखुरा पछिल्लो एक साताको अवधिमा एकाएक मर्दै गएर फार्म नै रित्तो भएपछि उनको व्यवसाय नै धरापमा परेको हो ।
रित्तिएको फार्म देखाएर गहभरी आँसु निकाल्दै, गला नै रोकिन लाग्दा सकी नसकी बोल्दै पुरी भन्छन, “१७÷१८ बर्षको उमेरदेखि काम गर्न नै ईन्डियाको चेन्नईमा बसेँ । महिनाको १० हजारको जागिर खाँदा रुपैयाँ पैसा कसरी बाँच्थ्यो र ? दाजुभाई र आफन्तले नेपाल आएर केही गर, यहीँ आएर गरे जे पनि छ भने । यहाँ आएसी ऋणमा नै कुखुरा हालेँ, अहिले यो तेश्रो लट हो । साढे ५ सय कुखुरा यसरी मरे की म खोरमा हेर्नै सक्दीन ।” आम्दानी दिने बेलाका कुखुरा नै मरेपछि संकटमा परेका उनले थपे, “अब न यो काम छोड्नु, न त अझ ऋण काढेर फेरि चल्ला हाल्नु ।”
बेच्नका लागि तयार हुनै लाग्दा औषतमा २ किलोको तौल रहेका ५ सय ५० कुखुरा मर्दा ११ सय किलो कुखुरा नष्ट भएको छ । अहिले बजारमा ज्यूँदो कुखुरा प्रतिकिलो २ सय ५० रुपैयाँ सम्म रहेका कारण पुरीको झण्डै २ लाख ७५ हजार रुपैयाँ नष्ट भएको छ । दुःखीलाई कहीँ गएपनि कुनै हालतमा पनि सुख नमिल्ने तर्क गर्दै उनले पहिलो लटमा २ सय ५० रुपैयाँका दरले बजार भाउ पाएको भएपनि दोश्रो लटमा मूल्य घटेर १ सय ९० रुपैयाँ पुगेका कारण लगानी मात्र जोगिएको र नाफा दिने आशा गरेको अहिलेको तेश्रो लटमा भएजतिका सबै कुखुरा मरेको बताए । कुखुरामा झोक्राउने, आँखा झिमउरो पार्ने, खुट्टा लतार्ने र सेतो हरियो छेर्ने लक्षण देखिएपछि उनले रोगको परीक्षणका लागि जिल्ला पशु सेवा कार्यालय पर्वत र पोखरामा लगेर पनि कुखुराको परीक्षण भने नगराएका होईनन् । डक्टरले दिएको औषधिले कुनै पनि काम नगर्दै कुखुरा भने एक–एक गरी मर्दै गए । 
पुरीले ब्यवसायिक रुपमा कुखुरा पाल्ने योजना अनुसार नै अहिलेसम्म ५ लाख भन्दा बढी लगानी फर्मको लागि गरिसकेका छन । आम्दानीको अन्य श्रोत नभएको कारण उनीसँग फेरि फर्म संचालनको लागि न त लगानी गर्ने पैसा छ न त अन्य केही गर्ने उपाय नै । उमेरले ४० बर्ष पुगेको बताउँदै पुरी भन्छन,“झण्डै ९ महिना अगाडि नेपाल फर्किएको हुँ । परिवारमा दुई छोरा र एउटी श्रीमती छन । बरु उतै (चेन्नई) बसको भए यो ऋण र आपत त पर्ने रहेनछ । अब परिवार पाल्न नै मुस्किल छ, अरु मेरो उपाय केही छैन । भगवान छन त भन्छन, भगवान भएको भए दुःखीलाई नै दुःख किन दिन्छन ?”

प्रतिक्रिया दिनुहोस्