स्वाइफ्लु लागेका ३०९ जना बिरामी फेला, चारमा डेंगु संक्रमण



रत्ननगर (चितवन), १६ भदौ । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो ।

कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भरतपुर अस्पतालमा उपचार भएका कूल ३८० जना बिरामीको परीक्षण गरिएकामा ३०९ जनामा इन्फ्लुएञ्जा ए एचवान एनवान संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

‘जिल्लामा फ्लु ए देखिएपछि ३८० जनाको नमूना थप परीक्षणका लागि काठमाडौँमा पठाइएको थियो, केसीले भन्नुभयो, “उक्त परीक्षणले ३०९ जनामा संक्रमण पुष्टि गरेको हो ।” संक्रमण भएकामध्ये २५३ जना चितवनका बासिन्दा हुन् ।

बाँकी ५६ जना भने बाहिरी जिल्ला तनहुँ, धादिङ, नवलपरासीलगायतबाट चितवनमा आई उपचार गरिएका बिरामी छन् ।

स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुने भएकाले चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भरतपुर अस्पतालका डा कालिदास अधिकारी बताउनुहुन्छ । उहाँले फ्लु ए संक्रमण भएका बिरामीको चाप अस्पतालमा अत्यधिक भएको बताउनुभयो ।

चारजनामा डेंगु

भारतको मुम्बईमा बिरामी भएर आएका एक व्यक्तिसहित जिल्लामा डेढ महिनाको अन्तरालमा चारजनामा डेंगु देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार साउन १ देखि भदौ १५ सम्ममा चारजनामा डेंगु देखिएको बताउनुभयो ।

कामको सिलसिलामा भारत पुगेका एक व्यक्ति ज्वरो आएर फर्किएकामा एक व्यक्तिको परीक्षणमा पनि डेंगु देखिएको हो ।

भारतको मुम्बईमा ज्वरो आएर फर्किएका उनको परीक्षणमा डेंगु रोग पुष्टि भएको केसीले जानकारी दिनुभयो । भदौ ११ गते नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा उनमा डेंगु पुष्टि भएको केसीको भनाइ छ ।

साउनदेखि भदौ १५ सम्म जिल्लामा ३२४ जनाको परीक्षणका क्रममा चारजनामा डेंगु पुष्टि भएको केसीले आज जानकारी दिनुभयो ।

एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सार्ने भएकाले लामखुट्टेबाट बच्न सके र घर वरपर भाँडामा पानी जम्न नदिए रोगबाट बच्न सकिने चिकित्सकले जनाएका छन् ।

यसैबीच चितवनमा एक जनामा चिकनगुनिया रोग समेत देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । नवलपरासी घर भई चितवनमा उपचार गराइएका एक व्यक्तिमा उक्त रोग देखिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्