सारापोभा तेस्रो चरणमा



 

न्युयोर्क, (एजेन्सी)
रसियन खेलाडी मारिया सारापोभा वर्षको अन्तिम ग्रान्डस्लाम प्रतियोगिताअन्तर्गत यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छन्।महिला सिंगल्सतर्फको दोस्रो चरणको खेलमा हंगेरीकी टिमिया बाबोसलाई हराउँदै सारापोभा तेस्रो चरणमा उक्लिएकी हुन्। पहिलो सेट गुमाएर पनि सारापोभाले उत्कृष्ट पुनरागमन गर्दै खेलको नतिजा आफ्नो पक्षमा ल्याएकी हुन्। बाबोसविरुद्धको पहिलो सेट ७–६ ले गुमाएर समस्यामा परेकी सारापोभाले त्यसपछिका दुई सेट ६–४ र ६–१ ले जित्दै खेल आफ्नो पक्षमा पारिन्।

यस्तै मेडन ग्रान्डस्लाम उपाधि जित्ने धुनमा रहेकी डेनमार्ककी कारोलिन वजनियाकीको यो इच्छा अझै पूरा हुनसकेको छैन। पाँचौं स्थानमा रहेकी वजनियाकी दोस्रो चरणबाटै बाहिएकी थिइन्। पूर्वविश्व नम्बर वजनियाकी रसियन खेलाडी एकाटेरिना माकारोभासँग ६–२, ६–७, ६–१ ले हारेकी थिइन्। स्पेनकी गार्बिन मुगुरुजाले चीनकी डुआन यिङयिङलाई ६–४, ६–० ले हराएर अर्को चरणमा स्थान बनाइन्। अन्यमा भेनस विलियम्स, कोको भान्डेवेगे, अग्निस्जका राडवानस्का र डारियो गार्भीलोभाले पनि प्रगति गरेका थिए।

यसै गरी प्रतियोगिताको पुरुष सिंगल्सतर्फ फ्रान्सका जो विल्फ्रेड सोङ पनि दोस्रो चरणबाटै न्युयोर्कबाट बिदा भए। उनलाई क्यानाडाका युवा खेलाडी डेनिस सापोभालोभले ६–४, ६–४, ७–६ को सोझो सेटमा हराएका थिए। चौथो वरियताका एलेक्सान्डर जभेरेभ पनि क्रोएसियाका बोर्ना कोरिचसँग हारेर प्रतियोगिताबाट बाहिरिए। २० वर्षीय जर्मनले पहिलो सेट ६–३ ले जिते पनि बाँकी तीन सेट कोरिचले ७–५, ७–६, ७–६ ले जितेका थिए।

प्रतिक्रिया दिनुहोस्