पीडितमाथि भयानक ठट्टा, कहिलेसम्म दिने मान्छे मार्ने लाइसेन्स ?



शोक मग्न अवस्थामा मृतकका परिवार तथा माथि

 

प्रशान्त वली, काठमाडौं
राजधानीको असन कमलाक्षीका गौतम ताम्राकार यही भदौ ७ गते आफ्नी पत्नीसहित बाइक चढेर पाटन अस्पतालतर्फ जाँदै थिए। पाटन अस्पतालमा आफन्तको उपचार भइरहेका कारण उनीहरू भेट्न अपराह्न ५ बजे निस्केका थिए। रत्नपार्कको विद्युत् प्राधिकरणको कार्यालयनजिकै पुग्दानपुग्दै उनलाई गोठाटार बस व्यवसायी संघको गाडीले ठक्कर दिएकाले बाइकसँगै दुवै दम्पती ढले।

पत्नी अनिता ताम्राकारलाई मोटरसाइकलले थोरै मात्रै च्यापेकाले उनी उठिन्। गौतमलाई भने निकै चोट लागेकाले उठ्न सकेनन्। मान्छेको भीड लागेको थियो, जाम पनि उस्तै चर्को। गौतमलाई उठाउने प्रयत्न हुँदाहुँदै अघि ठक्कर दिने गाडी घुमेर आयो र घाइते अवस्थामा रहेका गौतमको ढाड हुँदै कुदाएर भगाइयो।

त्यसपछि उनी इन्तु न चिन्तु हुन पुगे। करिब १५ मिनेटको अन्तरमा उनलाई नजिकै रहेको वीर अस्पताल पुर्याउँदा उनी बितिसकेका थिए। त्यसपछि उनको शव शिक्षण अस्पताल महाराजगन्ज लगियो।

पुनः ठक्कर दिएको गाडी भाग्न लागेको बेलामा भद्रकालीनजिक पुगेपछि होहल्ला भएका कारण सबै मिलेर समाते। ड्राइभर रामप्रसाद पौडेललाई प्रहरीले हिरासतमा लिएको छ। उनलाई थप कारबाहीका लागि प्रहरीले अदालतमा पेस गर्ने तयारी गरेको छ। अदालतको फैसला आउन केही वर्ष पनि लाग्न सक्छ।

यो अवस्थामा पीडित परिवारलाई राज्यले के दिने वा सम्बन्धित यातायात व्यवसायी समितिले केही गर्नुपर्ने कि नपर्ने? अहिले पीडितका आफन्तहरूमा आक्रोस व्याप्त रहेको छ। पीडितका आफन्त भन्छन्– ‘यो अहिले हामीलाई परेको छ। तर, सडकमा निस्कने जो कसैलाई पनि भोलि यस्तो भयो भने त्यसको निदान कसरी गर्ने?’

मृतक तामाकार नर्सिङ्गा बनाउने पेसा गर्दै आइरहेका थिए। नेपालमा नर्सिङ्गा बनाउने थोरै केहीमा उनी पनि पर्दथे। उनको मृत्युले परिवारको रोजीरोटी नै खोसिएको छ।

असनमा दुईटा कोठा भएको घरको तल्लो छिंडीमा ४ जनाको परिवार बस्दै आएको थियो। गौतम, उनकी बृद्धा आमा, प्सल टु पढ्दै गरेको एक छोरा र पत्नि। अहिले आँसु चुहाउँदै परिवारका बाँकी आफन्त त्यही छिंडीमा बसिरहेका छन्। मृतककी विवाहित बहिनी युरिका ताम्राकारले भनिन्– ‘हामी ड्राइभरलाई पनि हिरासतमा भेट्न गयौं।’

उसलाई के गरेको त्यस्तोभन्दा जे गर्छ अब समितिले गर्छ मलाई भेट्नुपर्दैन भनेर ठाडो ठाडो जवाफ दियो। अलिकतिप नि पश्चाताप नै छैन। अलिकति पनि शिर निहुरिएको छैन। कस्तो भएको हाम्रो देशमा ? दिनदहाडै फर्किफर्कि मान्छे किचेर मार्दासमेत दोषीले यस्तो जवाफ दिन्छ।

परिवारका सदस्यले हत्या गर्नेलाई कारवाही गर्नुपर्ने र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने भनेर गएको शुक्रबार राजधानीमा प्रदर्शनसमेत गरेका थिए। तर प्रहरी आएर अब समितिसँग कुरा गरेर मिलाउनुपर्दछ भन्दै प्रदर्शनस्थलबाट लिएर गएको थियो। पीडितका आफन्तले भने– ‘तर, प्रहरीकोमा गएर घण्टौं कुर्नुपर्यो।

समितिका मान्छे घण्टौंसम्म आएनन्। हामीले नै मान्छे गुमाउनुपर्ने ? अनि हामीले नै घण्टौं सम्म उनीहरूलाई कुरेर बस्नुपर्ने कस्तो बिडम्बना। प्रहरीले समेत उसलाई तत्कालै जहाँबाट भएपनि उठाएर ल्याउन सक्ने भएपनि वास्ता नै नगरेको पीडितका आफन्तको आक्रोश रहेको छ।

अर्को दिन वार्ताका लागि भनेर पीडित प्रहरीलाई अनामनगरस्थित प्रहरी कार्यालयले बोलायो। जाँदा डीएसपी मनोहर भट्ट फेरिएर अपीलराज बोहरा आउनुभएको रहेछ। ‘नयाँ डिएस्पी आउनुभएको छ। उहाँलाई स्वागत गर्दैछौं। केही घण्टा कुर्नुपर्छ ’भनेर हामीलाई घण्टौं कुराइयो। आँसुमा डुबेका हामीलाई राज्य संयन्त्रले यो कस्तो व्यवहार गरेको होला ?

परिवारमा कमाउने सदस्यको मृत्यु भएपछि कसरी आगामी दिन गुजारा गर्ने भनेर अहिले चोट माथि चिन्ता परिवारका सदस्यलाई परेको छ। समितिका मान्छेले एक दिन आएर ५० हजार रुपियाँसम्म दिउँला भनेर आश्वासन दिएको बताउँदै परिवारका सदस्य भन्छन्—५० हजारले के गर्नु ? ५० हजार त अहिले एउटा कुकुरको पनि पर्छ। के कुकुरभन्दा पनि सस्तो भयो मान्छे ?

अहिले ट्रेड युनियनका मान्छे समेत ल्याएर आफूहरूलाई थर्काउने काम गरिरहेको भन्दै पीडितका आफन्तले भने—आफन्त हामीले नै गुमाउनुपर्ने, अनि उल्टै हामीलाई नै हप्काउन खोज्ने ? योभन्दा ठूलो अन्याय हाम्रो देशमा के हुन सक्छ ? बस व्यवसायी समितिलाई जे गरेपनि छूट हुने हो ? मान्छे मार्दै हिंड्दापनि हुन्छ। हद भएन यो ?
मृतकका मामा जितेन्द्र राजकर्णिकारले भने—कानुन नै कमजोर छ भने पनि सच्याउनुपर्यो। यति कमजोर कानुन छ भने त भोलि जोसुकैले मारिनुपर्ने हुन सक्छ।

कानुनमा नै किटेर १ करोड रुपियाँसम्म क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गर्नुपर्ने परिवारका सदस्यहरूको माग रहेको छ। ड्राइभरको लाइसेन्स खोसेर सदाका लागि सवारी साधन चलाउन रोक्नुपर्नेमा ताम्राकारको हत्यामा संलग्न पौडेलले यसअघि पनि दूर्घटना गराएकोमा अहिले अर्कोपटक यस्तै दूर्घटना गराएको पीडित आफन्तहरूको भनाइ रहेको छ।

परिवारका सदस्यहरूका अनुसार रक्षामन्त्री भीमसेनदास प्रधानलेसमेत केही दिन अघि परिवारका सदस्यलाई भेटेर क्षतिपूर्तिका लागि आफूले पनि पहल गरिदिने बताउनुभए पनि अहिलेसम्म केही पनि हुन सकेको छैन। घटनास्थलको आसपासमा सीसीटिभी राखिएको भएपनि सो स्थलको दृश्य रुखले छेकेका कारण नदेखिएको भन्दै उल्टै पीडकलाई जोगाउन सम्बद्ध पक्षहरू लागेको परिवारका सदस्यहरूको आरोप रहेको छ।

उता गोठाटार यातायात व्यवसायी समितिका अध्यक्ष गजेन्द्र बस्नेतले आफूहरू ऐन बमोजिम कारबाही भोग्न तयार भएको जनाएका छन्। ‘कानुनबमोजिम जुन सुकै कारबाही भोग्न तयार छौं। तर, पीडित पक्षले मृतकको छोरोलाई ५ वर्ष सम्म पढाइदिन र मासिक ८ हजार रुपियाँसम्मको जागिर पत्नीलाई उपलब्ध गराइदिन माग गरेपछि सहमति जुट्न नसकेको बताए। पीडित परिवारले भने आफ्नो घरमा कमाई गर्ने मान्छेकै मृत्यु भएकाले व्यवसायीले जसैगरी सो माग पूरा गर्नुपर्ने जनाएको छ।

कानुनले जे भन्छ त्यो मान्न तयार छौं। अहिले चालक प्रहरी बृत्तमै हुनुहुन्छ , बस्नेतले भने। पौडेललाई सवारी ज्यान मुद्दा चलाइएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ। दोषी ठहरीए ऐनबमोजिम कारबाही हुने प्रहरीको भनाइ रहेको छ। ट्राफिक प्रहरीका प्रबक्ता एसएसपी उमेश रञ्जीतकारले सवारी साधनले किचेर मृत्यू भई चालक दोषी ठहरीएमा ऐनबमोजिम कारबाही हुने नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। ट्राफिक प्रहरी प्रवक्ता एसएसपि रञ्जीतकारले भन्नुभयो–‘घटनास्थल नजिकैको प्रहरी वृत्त घटनास्थल पुगि स्केच र फर्म तयार गर्ने र प्रहरी बृत्तले मुद्धा चलाउने छ। र, चालक दोषी ठहरीए चालकलाई हदै सम्मको कारबाही हुन्छ।’

सवारी ऐन २०४९ वमोजिम परिच्छेद १० को १ सय ६१ नम्वरको बुँदामा कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा मुलुकी ऐन ज्यान सम्बन्धीको महलमा मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिइ गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई सर्वस्व सहित जन्मकैद हुने कुरा उल्लेख छ। कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान गएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्राअनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुने ऐनमा उल्लेख छ। ज्यान मरेकोमा सो मर्ने व्यक्तिको हकवालालाई कृया खर्च बापत १०हजार रूपियाँ र क्षतिपूर्तिबापत उपलव्ध गराउनुपर्ने विषय उल्लेख छ।

यही कमजोर कानुनलाई समातेर सवारी दूर्घटनामा चालकहरू उम्कने र पीडितहरू भने सदाका लागि आफन्त गुमाएर शोक मनाउनुपर्ने दूर्भाग्यपूर्ण अवस्थाबाट मुक्ति कहिले हुने ? कहिले सम्म बस व्यवसायीका नाममा हुने समितिलाई मान्छे मार्ने लाइसेन्स दिइराख्ने ?पीडितका परिवारको गम्भीर आरोप रहेको छ। पीडित परिवारले यो रबैयाको विरुद्धमा भोलि शनिबार राजधानीमा बृहत् विरोध प्रदर्शनकोसमेत तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्