मेयरको रवैयाले कुस्मा नगरपालिका चल्दैन



 

नेपाल समाचारपत्र
पर्वत
कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी र नेपाली कांग्रेस पार्टीको उदासिनताले लामो समयदेखि नीति तथा कार्यक्रम र बजेट पारित हुन नसकेको आरोप नेकपा एमालेले लगाएको छ।

नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले नगरपालिकामा समस्याको निकास दिन र विकास निर्माणका काम सुचारु गर्न मेयर जोशी उदासिन बनेको आरोप लगाएका हुन्।

नेकपा एमाले पर्वतले बिहीबार आयोजना गरेको प्रेस चौतारी नेपाल, पर्वतसँगको छलफल कार्यक्रममा कुस्मा नगरपालिकालाई बन्धक बनाएर जाने मनस्थितिमा कांग्रेस र मेयर जोशी रहँदा समस्या समस्याले निकास नपाउने स्पष्ट पारे। ‘मेयर जोशी र कांग्रेस पार्टीको यस्तो रवैयाले कस्मा नगरपालिका चन्दैन’, उनले भने– ‘अरूलाई आरोप लगाउने तर आफू कानमा तेल हालेर सुतेपछि कसरी निकास निस्कन्छ।’

कुस्मा नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेको स्पष्ट बहुमत छ। तर नेपाली कांग्रेसबाट निर्वाचित मेयर रामचन्द्र जोशीले कार्यपालिकाले गर्ने अन्तिम निर्णय आफूले गर्न पाउनुपर्ने अडान राखेपछि सहमति हुन नसकेको आरोप एमालेले लगाएको छ। एमालेले प्रमुखसहित बहुमतको निर्णय गरेर जान तयार भए पनि मेयर जोशीले ‘पावर सेयरिङ’ गर्न नचाहेको अध्यक्ष गिरीले बताए।

‘बहुमतको पनि सम्मान गर्न नसक्ने हो भने र बहुमतले निर्णयमा साझेदार बन्न नसक्ने हो भने कसरी निकास निस्कन्छ’, उनले सञ्चारकर्मीसँग भने– ‘पावर सेयरिङ गरी जान र संवादबाट निकास निकाल्न एमाले तयार छ।’ नगरप्रमुख जोशी र नेपाली कांग्रेसले संवाद गर्न कुनै इच्छा नदेखाएको कारण नगरसभा हुन नसकेको सबै अपजस लिनका लागि तयार हुन चेतावनी पनि दिए। ‘संवाद पनि नगर्ने र समस्या बल्झाउने हो भने अपजसको सबै भागिरदार मेयर जोशी र नेपाली कांग्रेस हुनुपर्छ’ –अध्यक्ष गिरीले भने।

कुस्मा नगरपालिकाको २३ जना कार्यपालिका सदस्यमध्ये एमालेका १६ जना सदस्य छन् भने मेयर, उपमेयरसहित नेपाली कांग्रेसका तर्फबाट ७ जना छन्। एमालेको १७ जना सदस्यमध्ये मनोहर विश्वकर्मा पौडेल जिल्ला समन्वय समिति पर्वतको प्रमुख निर्वाचित भइसकेका छन्। नेपालको संविधान २०७३ ले हरेक स्थानीय तह स्वायत्त हुने र आफ्ना लागि सबै ऐन कानुनहरू निर्माण गर्न सक्ने अधिकार दिएको छ। संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले पठाएको नगरपालिका सञ्चालनसम्बन्धी नमुना कार्यविधिमा दोस्रो विकल्पका रूपमा रहेको नगरप्रमुखसहित कार्यपालिकाको बहुमतले निर्णय गर्न सक्ने विषयमा जुनसुकै बेला पनि सहमतिका लागि तयार भएको बताएको छ। ‘हामीले बहुमतका आधारमा मात्रै निर्णय गर्न खोजेका छैनौं’, अध्यक्ष गिरीले भने– ‘निरंकुश बन्छु र बहुमतलाई एक्लै पेलेर जान्छु भन्ने सपना देखिरहने हो भने समस्या हल हुन सक्दैन।’

कुस्मा नगरपालिकामा नगरसभा बस्न नसक्दा गाउँमा बजेट जान सकेको छैन भने स्वास्थ्यकर्मी, कर्मचारी, शिक्षकले तलब पनि खान पाएका छैनन्। बजेट पास नहुँदा अस्पतालमा सुत्केरी हुने महिलाले सुत्केरी खर्च पाएका छैनन् भने खोपलगायतका सेवा प्रभावित हुने अवस्था आएको छ।

प्रतिक्रिया दिनुहोस्