सप्तरीमा मतदान अधिकृत तथा सहायक अधिकृतहरुको प्रशिक्षण सुरु



शिवहरीप्रसाद भट्टराई,राजविराज ।

आगामी असोज २ गतेको स्थानीय तह निर्वाचनका लागि सप्तरीमा बिहिबारदेखि मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको प्रशिक्षण सुरु भएको छ ।

पब्लिक विन्देश्वरी उच्च मावि राजविराजमा आयोजित तालिममा ४ सय ६१ मतदान अधिकृत र सोहि संख्यामा सहायक मतदान अधिकृतहरुको सहभागिता रहेको छ । उनीहरुलाई प्रमुख निर्वाचन अधिकृत सारदा प्रसाद कोईराला, जिल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुर, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलगायतले प्रशिक्षण दिएका हुन् ।

मतपत्रको सुरक्षा र अभिलेखिकरण, मतदाता परिचय पत्र वितरण, मतपेटिकाको ब्यवस्थापन, विवाद आए वा मतदान रोकिए त्यसको निराकरण तथा स्वच्छ निर्वाचन सम्पन्न गर्नका लागि अवलम्वन गर्नु पर्ने प्रकृयाका विषयमा प्रशिक्षण दिईएको निर्वाचन कार्यालयका प्रमुख ठाकुरले जानकारी दिए ।

सप्तरीमा रहेका १८ वटा स्थानीय तहमा २ सय ९५ मतदान स्थल तथा ४ सय ६२ मतदान स्थल कायम गरिएको छ । जिल्लामा १ लाख ७० हजार ८ सय ८८ पुरुष, १ लाख ६० हजार ७ सय ७० महिला र २१ तेश्रो लिङ्गि गरी ३ लाख ३१ हजार ६ सय ७९ मतदाता छन् ।

निर्वाचनका लागि हरेक मतदात केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र ४ जना कर्मचारी सहित कुल २ हजार ७ सय ७२ कर्मचारी खटिने प्रमुख निर्वाचन अधिकृत कोईरालाले वताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्