डोटीमा गौरा पर्वको रौनक



विमल विष्ट,डोटी ।
सुदूरपश्चिमेली हरुको महान पर्व गौराको रौनकता डोटीमा दिनानु दिन बढ्दै गएको छ ।

गौरा पर्वको अवसरमा यहाँका मुख्य बजार तथा ग्रामिण क्षेत्रहरुमा स्थानियबासीको चहल पहल बढेको छ । यहाँका गाउ घरमा गौरा भित्रयाए संगै गौरा सम्बन्धि खेल तथा देउडा प्रतियोगिता भईरहेका छन् ।

यहाँका गाउँ घरमा गौराकोे रौनकता बढ्नुका साथै स्थानियहरु गौरा सम्बन्धि देउडा खेल खेल्नमा ब्यस्त हुने गरेका छन् । गौरा पर्वकै लागि परदेश रहेका डोटेलीहरुपनि आ–आफनो घर फर्किएकाले गाउको रमझभम झन बढेको स्थानिय दिपक मल्लले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘काम बिषेशले घर बाहिर रहेका तथा धन कमाउन परदेश गएकाहरु पनि अहिले घर फर्किएका छन्,गाउँमा चहल पहल दशै भन्दा कम छैन् ।’

घर धन्दामा मात्र व्यस्त देखिने डोटीका अधिकांस महिलाहरुलाई पनि गौरा पर्वले फुर्सदिलो बनाएको छ । गौरा खेल तथा डेउडा खेल्नमा प्राय गरी महिला सहभागिता बढी रहने गरेको दिपायल सिलगढी नगरपालिका ९ का स्थानिय घनस्याम पाठकले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘करिब करिब बर्षभरी काममा बेस्त हुने महिलाले समेत अहिले फुर्सद पाएका छन्,फुर्सदिला भएपछि उनिहरु भरपुर डेउडा खेल्नमा बेस्त हुने गरेका छन् ।’

यहाँका स्थानिय महिला तथा पुरुषहरुले गौरा सम्बन्धि देउडा,चैत,धमारी खेल खेलिरहेका छन् । गौरा पर्वका वेला पुराना धार्मिक क्रियाकलाप,देविदेवताका लिला तथा राजा रजौटाका घटनामा आधारीत कथाहरुलाई गितका माध्यम बाट खेलिने गरिएको जोरायल गाउपालिका ५ का वडा अध्यक्ष तथा गितारु (गौरा सम्बन्धि गित हाल्ने) ध्वजबहादुर देउवाले बताउनु भयो ।

बजारमा हुने आधुनिक किसिमका डेउडा खेल तथा नाचले सुदूरपश्चिमको गौरा पर्वको मौलिकता बिस्तारै हराउँदै गएको बुढापाकाहरु बताउँछन् । गौरा पर्वमा महिला पुरुष छुट्टा–छुट्टै गोल बन्द भई खेल खेल्दा सहभागीहरु बीच दोहरो प्रतिशप्रर्धा हुने गर्दछ ।

यतिमात्र नभई विवहित महिलाले निराहर वर्त बस्दै गौरा पर्वमा भगवान् शिव र पार्वतीको गौरा घरमा पुजाँ आजा समेत गर्ने गर्दछन् । यो पर्वका वेला गरिने शिव र पार्वतिको पुजामा अक्षताका रुपमा प्रयोग हुने विरुडा अर्थात भिजाएर राखिएको पाँच थरिका गेडा गुडीको ठूलो महत्व रहने गरेको छ ।

पुजाँमा अक्षताका रुपमा प्रयोग हुने र पुजाको काम सकिए पछी सवैले प्रसादका रुपमा ग्रहण गर्ने हुदा विरुडाको महत्व बढ्ेको स्थानियबासी बताउछन् । गौरा देबीलाई डोटीमा आ–आफनो ठाउँ अनुसार तिन देखी पाँच दिन सम्म गौरा घरमा राखेर खेल खेल्ने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्