अपरेसन थियटरमा डाक्टरको झगडा



 

नयाँदिल्ली, (एजेन्सी)
अपरेसन गर्ने टेबलमा एक गर्भवती बिरामी राखिएको अवस्थामा भनाभन गरिरहेको एउटा भिडियोमा भेटिएका दुई डाक्टरलाई केही समयका लागि सेवामुक्त गरिएको तिनीहरू कार्यरत भारतको एक अस्पतालले जनाएको छ। उत्तरी राजस्थानको उमेद अस्पतालमा भएको उक्त घटनाको फुटेज भाइरल भएपछि जन आक्रोश बढेको थियो।

सो अस्पतालका एक जना वरिष्ठ अधिकारीले आमा र उनका शिशुको स्वास्थ राम्रो रहेको जानकारी बीबीसीलाई दिएका छन्। सो भिडियो कसरी बाहिररियो भन्ने स्पष्ट हुन सकेको छैन। तर, सरकारी अधिकारीहरूले अस्पतालबाटै भिडियो चुहावट भएको हुनुपर्ने दाबी गरेका छन्।

तर, सो भिडियो अनलाइनमार्फत् बाहिरिएपछि सञ्चारमाध्यमले भिडियोमा देखिने महिलाले जन्माएको बच्चा जीवित नरहेको दाबी गरेको छ। तर, जोधपुरस्थित उमेद अस्पतालका सुपरिटेनडेन्ट डा. रञ्जना देसाइले भनेकी छिन्– ‘मैले भिडियो हेरेर यस घटनाबारे आन्तरिक छानविन थाल्दा सञ्चारमाध्यमले बच्चा मरेको खबर फुकिसकेको थियो।

बच्चा मरेको खबर सही हो तर ती डाक्टरहरू झगडा गरिरहेको छेउको महिलाको बच्चा नभई त्यही कोठाको अर्को अपरेटिङ टेबलकी महिलाले मरेको बच्चा जन्माएकी हुन्।’ भाइरले भएको भिडियोमा दुई जना डाक्टरले एकले अर्कालाई हिन्दीमा गाली गरिरहेको देखिन्छ। तिनीहरूको शल्यक्रियाअघि ती बिरामी महिलाले खाना खाएको विषयमा विवाद भएको थियो। डा. देसाईले विवादमा मुछिने डा. अशोक नानीवाल र डा. मथुरालाल टाक भएको बताएकी छिन्।

कसले सो भिडियो खिचे भन्ने विषयमा पनि अस्पतालमा व्यापक छानविन भइरहेको छ। राजस्थानको उच्च अदालतले अस्पताललाई यस घटना सम्बन्धमा प्रतिवेदन बुझाउन आदेश दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्