जोखिम न्यूनीकरणका लागि सवारी बीमा



????????????????????????????????????

 

हेमन्त जोशी, काठमाडौं
वीमा गर्नु भनेको व्यक्तिले आफ्नो जीवन र निर्जीवन क्षेत्रको जोखिम दोस्रो पक्षलाई हस्तान्तरण गर्नु हो। जोखिम हस्तान्तरणको सिद्धान्तका आधारमा सञ्चालन हुने बीमा व्यवसाय नेपालमा अन्य देश जस्तो उत्साहप्रद छैन। जीवन बीमा कम्पनीभन्दा पनि निर्जीवन बीमा कम्पनीहरूका विषयमा हामी कम जानकार छौ भने यसको प्रभावकारिता पनि कम छ।

व्यक्तिले आर्जन गरेको सम्पत्तिको सुरक्षाका लागि निर्जीवन बीमा गरिन्छ। प्राकृतिक विपद्, दुर्घटना, विध्वंशात्मक गतिविधि तथा आतंकबाद र चोरीबाट हुनसक्ने जोखिममा आवश्यक क्षतिपूर्तिका लागि बीमा गर्नु उपयुक्त विकल्प हो। मोटर बीमालेखले पनि दैनिक भैपरी आउने आर्थिक हानी नोक्सानी या क्षतिलाई रक्षा गर्छ। आफ्नो सवारी साधन वा तेस्रो पक्षको सवारी साधनमा हानी नोक्सानी वा क्षति पुगेमा वा दुर्घटनाबाट यात्रु वा सर्वसाधारण घाइते वा मृत्यु भएको अवस्थामा परिआउने परिस्थितिलाई सवारी साधन बीमाले समेट्छ।

सवारी बीमा गर्दा के कुरामा ध्यान पुर्याउने ?

बीमा गरेपछि बाढी, पहिरो, आगलागी, चोरी, दुर्घटना, तोडफोडलगायत सवारी साधनमा हुने आंशिक वा पूर्ण क्षतिको जोखिमबाट सुरक्षित हुन सकिन्छ। बैंकबाट सवारी कर्जा लिएर खरिद गरिएका सवारी साधनमा बीमा अनिवार्यजस्तै भइसकेको छ। यद्यपि, बीमितले बीमा लेखमा भएको नाम, बीमा अवधि, बीमा वस्तु र दायित्व, जोखिम, बीमा शुल्क, नियम, वारेन्टी, हदबन्दी सबै कुरामा विचार पुर्याएर मात्र बीमा गर्नुपर्छ। बीमकले आफ्नो मूल्यांकनअनुसार बीमा रकम माग दाबी गर्ने र बीमा कम्पनीहरूले अवस्था हेरी क्षतिपूर्ति दिने गरेकाले यस्ता विषयमा बीमकहरू पनि सचेत हुनु आवश्यक छ। सवारी बीमा गर्दा मोटरसाइकलमा ५ वर्ष र कार वा अन्य गाडीमा १० वर्षसम्म गर्दा बीमकले फाइदा लिन सक्छन। तर, सवारी साधन अवस्था हेरेर अधिकतम् २० वर्षसम्म पनि सवारी बीमा नवीकरण गर्न सकिन्छ।

थर्ड पार्टी र कम्प्रिहेन्सिभ बीमा

मोटरसाइकल, निजी सवारी साधन र व्यावसायिक सवारी साधन बीमा गर्दा तेस्रो पक्ष बीमा (थर्ड पार्टी इन्स्योरेन्स) र व्यापक बीमा (कम्प्रिहेन्सिभ) गरी दुई किसिमको बीमा हुन्छ। तेस्रो पक्ष बीमाअन्तर्गत आफ्नो सवारी साधनको कारणले अर्को पक्षलाई पुगेको क्षतिको क्षतिपूर्ति गरिन्छ भने व्यापक बीमाअन्तर्गत तेस्रो पक्ष बीमासहित आफ्नो सवारी साधनको पनि हुनसक्ने क्षतिपूर्ति गर्ने गरी बीमा गरिएको हुन्छ।

मोटर बीमादर सम्बन्धी निर्देशिका, २०७३ ले तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ भने व्यापक बीमा स्वेच्छिक राखेको छ। तर, सानो बीमा रकमले ठूलो क्षतिपूर्तिको सुनिश्चितता गर्न सकिने हुनाले व्यापक बीमा गर्नु नै बुद्धिमानी हुन्छ। बीमाले भविष्यमा हुनसक्ने अनिश्चित आर्थिक क्षतिलाई बीमितको हितमा बीमकले (बीमक कम्पनीले) जोखिम बहन गर्ने हुनाले हजार अंशको बीमा शुल्कले लाखौं अंकको सुनिश्चितता गर्ने हुनाले बीमा शुल्कलाई खर्चको रुपमा नलिई अप्रत्यक्ष रुपमा लगानीको रुपमा हेर्न सकिन्छ।

सरकारी मापदण्ड के छ ?

‘मोटर बीमादर सम्बन्धी निर्देशिका, २०६६’ लागू गरी मोटर बीमाअन्तर्गत तेस्रो पक्ष र कर्मचारीको मृत्यु भएको ५ लाख रुपियाँ र घाइतेका हकमा अधिकतम् २ लाख रुपियाँसम्म औषधि उपचारवाफत क्षतिपूर्ति पाउने व्यवस्था छ। निर्देशिकाअनुसार बीमकले सवारी साधनको बीमा तथा सोको यात्री, चालक, परिचालक, चेकर, हेल्पर, सुरक्षाकर्मी तथा सो सवारी साधनमा काम गर्ने अन्य कर्मचारीको बीमा अलग–अलग गर्न नपाउने व्यवस्था निर्देशिकामा उल्लेख गरिएको छ।

त्यस्तै सवारी साधन बीमाअन्तर्गत तेस्रो पक्ष बीमा सरह सवारी साधनमा यात्रा गर्ने यात्रुको पनि बीमा गर्नुपर्ने व्यवस्था छ।

बीमा लागत कति पर्छ ?

अढाई लाख रुपियाँ बराबरको मोटरसाइकलको खरिदमा २ देखि २ दशमलव ५ प्रतिशतसम्म प्रिमियम तिर्नुपर्छ भने चारपांगे्र सवारीमा त्योभन्दा पनि कम छ। बीमापछि सवारी साधन पहिलो वर्षमै दुर्घटना वा चोरी भएमा सवारी साधनको पूरा मूल्य नै बीमामार्फत् पाइन्छ। पहिलो वर्ष कुनै पनि किसिमको दुर्घटना नभएर बीमितले बीमा रकम दाबी गरेन भने दोस्रो वर्ष प्रिमियम तिर्दा २० प्रतिशत कम तिर्नुपर्छ। प्रीमियममा प्र्रत्येक वर्ष ५ वर्षसम्मका लागि १० प्रतिशतसम्म छुट पाउन सकिन्छ।

सवारी दुर्घटना भएको अवस्थामा दुर्घटनाको प्रकृति हेरेर भुक्तानी हुन्छ। सिसा फुट्दा शतप्रतिशत, फाइवर ग्लासमा ७० प्रतिशत र टायर वा ब्याट्रीमा ५० प्रतिशत बीमा रकम बीमा कम्पनीले भुक्तानी गर्दै आएका छन्।

कसरी गर्ने सवारी बीमा ?

बीमा कप्पनीहरूले बीमा गर्दा सवारी धनीबाट बिलबुक, चालक अनुमतिपत्र र नागरिकताको प्रतिलिपि अनिवार्य रुपमा बुझाउनुपर्छ। त्यसँगै आवश्यक कागजातका रुपमा सक्कल बीमालेख, पुलिस रिपोर्ट, रुट परमिट पनि बीमा कम्पनीहरूलाई बुझाउनुपर्छ। आवश्यक कागजात संकलन गरिसकेपछि ग्रँहकले बीमा समितिमा सूचीकृत कुनै पनि निर्जीवन बीमा कम्पनीमा सम्पर्क गर्न सकिन्छ। सवारी धनी आफ ैं बीमा कम्पनीमा गएर बीमा गर्दा बीमा कम्पनीले निश्चित प्रतिशत छुट पनि दिने गरेका छन। तर, बीमा समितिमा आबद्ध सबै बीमा कम्पनीले लिने प्रिमियमदर भने समान नै हुन्छ।

‘नाडा अटो शो’ मा सवारी बीमा

सवारी साधनको कुम्भ मेला १२औं संस्करणको नाडा अटो शो काठमाडौंको भुकृटीमण्डपमा जारी छ। अटो शोमा सवारी साधन खरिद गर्दा बीमाका लागि ग्राहकलाई सेवा दिन एनबी इन्स्योरेन्स कम्पनी र नेको इन्स्योरेन्स लिमिटेडको स्टल राखेका छन्। नाडा अटो शोमा स्टल नराखेका अन्य निर्जीवन बीमा कम्पनीले पनि सवारी बीमा गर्दै गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्