ऐश्वर्यमा खुलिन् दीपीका



 

लामो समयपछि फिल्म निर्माण गर्दै रजतपटमा फर्केका नायक तथा निर्मँता रमेश उप्रेतीले आफ्नो प्रदर्शोन्मुख फिल्म ऐश्वर्यको टिजर सार्वजनिक गरेका छन्। सार्वजनिक टिजरमा फिल्मभित्रको गीतको आकर्षण र कौतुहलताका साथमा नायिका दीपीका प्रसाईंको ग्ल्यामर रुपमा छचल्किएको छ।

बुधबार सार्वजनिक गरिएको फिल्मको टिजरमा यसको गुणस्तरीयतासँगै र केही द्वन्द्वसमेत हेर्न पाइन्छ। नायक उप्रेती र दीपीकाको रोमाञ्चक रोमान्स, मोडल प्रशान्त ताम्राकारको कौतुहलताले भरिएको भूमिका र संवाद टिजरको आकर्षण बनेको छ। फिल्म नायक उप्रेतीको पुनरागमन र केहीअगाडि सार्वजनिक भएको गीत तिमी रोएको पलका कारण चर्चामा छ। अर्जुन पोखरेलको शब्द र संगीत रहेको सो गीत सुगम पोखरेल र अन्जु पन्तले गाएका थिए।

फिल्ममा रमेश, दीपीका र प्रशान्तका साथमा केकी अधिकारी, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेञ्जु योन्जनलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। नायक उप्रेती प्रस्तुतकर्ता रहेको फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता तथा निर्मल शर्मा कार्यकारी निर्माता रहेका छन्। लेखन र निर्देशन दिवाकर भट्टराईको रहेको फिल्ममा सुदीप बरालको छायांकन रहेको छ।

आगामी कात्तिक ९ गते अल नेपाल रिलिज हुने फिल्मलाई लिएर नायक उप्रेती उत्साहित छन्। उनले कलाकार नै बनाएको फिल्म रिलिजमा रहेकाले आफ्नो फिल्मको रिलिज डेट ९ गतेलाई तोकिएको खुलाए। ‘कलाकार नै निर्माता भएको फिल्म सँगसँगै रिलिजमा आउँदा घाटा जसलाई लागे नि कलाकारलाई नै लाग्छ’ –रमेश भन्छन् ‘त्यसैले हामी कात्तिक ९ मा आउन लागेका हौँ। यो फिल्मलाई स्टाइलिस बनाउन खोजेका छौँ। नेपालको सुन्दरतासंगै नेपाली प्राविधिकले पनि यो लेभलको फिल्म दिन सक्छन् र हामी पनि कथाअनुसार सम्झौता गर्दैनौ भन्ने उदाहरण ऐश्वर्यबाट दिँदै छु।’

त्यसै गरी निर्देशक तथा लेखक दीवाकर भट्टराईले फिल्ममा स्टारडम देखाउन खोजेको बताए। ‘ड्रिम्समा एसोसियट डाइरेक्टर भएर काम गरिसकेपछि मेरो निर्देशनमा आउने नेक्स्ट फिल्मले दर्शकलाई निराश बनाउनुहुँदैन भन्ने सोचाइलाई पूरा गरेको छु। फिल्ममा मैले स्टारडम देखाउने प्रयास मात्र गरेको छैन, एउटा क्वालिटीको फिल्म दर्शकसामू ल्याउने प्रयास पनि गरेको छु दीवाकरले भने ‘फिल्मले सुपर मोडलको कथासंगै बिजनेसम्यानको जीवन शैलीलाई पनि प्रस्ट्याउनेछ।’ त्यस्तै नवनायिका दीपीका प्रसाईंले पहिले फिल्म खेल्ने सोचाइ नभए पनि ऐश्वर्यको पहिलो गीतबाट पाएको प्रतिक्रियाले उत्साहित बनाएको बताइन्। ‘काम गर्दै गएपछि नेपाली फिल्मलाई अझै नजिकबाट चिन्ने मौका मात्र पाइनँ। बदलिएको मेकिङ शैलीले खुसी पनि लाग्यो’ –दीपीका भन्छिन्। मोडल तथा कलाकार प्रशान्त ताम्राकारले फिल्ममा आफू सुहाउँदो क्यारेक्टर गरेको बताए।

प्रतिक्रिया दिनुहोस्