कोरियाली प्रायद्विप विवाद, क्षेप्यास्त्र प्रहार प्रशान्त क्षेत्रमा गरिएको पहिलो कारबाही



 

सोल, (एजेन्सी)
उत्तर कोरियाले जापानमाथि क्षेप्यास्त्र प्रक्षेपण प्रशान्त क्षेत्रमा उसको सैन्य कारबाहीको पहिलो कदम भएको बताएको छ। उत्तर कोरियाको पछिल्लो कारबाहीलाई भविष्यमा उसले चाल्न सकिने कदमको संकेतका रूपमा हेरिएको छ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले पनि प्रशान्त महासागरमा अमेरिकी द्विप गुआममाथि हमला गर्ने लगातार धम्की दिइरहेको छ। यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानमाथि क्षेप्यास्त्र प्रहारको घटना अमेरिकाको उक्साहटजन्य क्रियाकलापको परिणाम भएको प्रतिक्रिया दिएको छ। पुटिनले उक्त घटनालाई लिएर प्योङयाङविरुद्ध कुनै पनि नाकाबन्दी वा कारबाही स्वीकार्य नहुने पनि बताएको छ।

मंगलबार उत्तर कोरियाली क्षेप्यास्त्र जापानी द्विपमाथिबाट उडेर समुद्रमा खसेको थियो। संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उत्तर कोरियाको कारबाहीलाई एकमतले आलोचना गरेको छ। न्युयोर्कमा सुरक्षा परिषद्ले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण भड्काउने खालको कारबाही भएको बताए। यद्यपि सुरक्षा परिषद्को विज्ञप्तिमा उत्तर कोरियामाथि कुनै नयाँ प्रतिबन्धको उल्लेख गरिएको छैन। उत्तर कोरियाले हालैको महिनामा संयुक्त राष्ट्रको प्रतिबन्धका बाबजुद क्षेप्यास्त्र परीक्षण गरिरहेको छ।
यसैबिच मंगलबार उत्तर कोरियाले प्योंगयांग नजिकैको स्थानमा थप क्षेप्यास्त्र परीक्षण गरको छ।

उत्तर कोरियाको जापानमाथि भएर गएको क्षेप्यास्त्रले २ हजार ७ सय किलोमिटर दूरी तय गरेको र पूर्व तटबाट करिब १ हजार १ सय ८० किलोमिटरको दूरीमा खसेको थियो। उक्त क्षेप्यास्त्र असामान्यरूपमा कम उचाइबाट उडान भरेको जनाइएको छ।

उक्त घटनापछि जापानले आफ्नो द्विपमा सुरक्षा सतर्कता जारी गरेको थियो। प्रधानमन्त्री सिन्जो आबेले यसलाई अप्रत्यासित, महत्त्वपूर्ण र गम्भीर चेतावनी भएको बताएका थिए। उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जापानको आकाश भएर गएको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको पहिलोपटक स्वीकारेको छ। केसीएनले उत्तर कोरियाले उक्त कारबाही अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको जवाफमा गरेको जनाएको छ।

विगत दुई दशकमा यस प्रकारको कारबाही ३ पटक भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्