नेपालमा मात्रै भेटिए, गोर्खाली मुसा र मुसाकाने चमेरो



 

टीका बन्धन, काठमाडौं
सरकारले बाघ, गैंडा, हात्ती, हिउँ चितुवाजस्ता ठूला वन्यजन्तुको संरक्षण र अनुसन्धानलाई मात्रै प्राथमिकता दिँदा अन्य मझइैला र साना स्तनधारी वन्यजन्तुको अवस्था र संख्या यकिन हुन सकेको छैन।

ठूला वन्यजन्तुको संख्या समय–समयमा अद्यावधिक हुने गरे पनि साना र मझइैला वन्यजन्तु प्राथमिकतामा पर्न सकेका छैनन्। नेपालमा साना वन्यजन्तुको उपस्थिति कुन स्थानमा के–कस्तो अवस्थामा छ भन्ने पर्याप्त अध्ययन⁄अनुसन्धान पनि भएको छैन।

एसियाली मुलुकमा ५ सय ३२ प्रजातिका स्तनधारीजन्तु रहेको विज्ञहरूको ठहर छ। त्यसमध्ये करिब ६० प्रतिशत वन्यजन्तुको उपस्थिति दक्षिण एसियाली मुलुकमा रहेको अनुमान गरिएको छ।

सरकारी तथ्यांकअनुसार नेपालमा विभिन्न २ सय ८ प्रजातिका वन्यजन्तु फेला परेका छन्। गोर्खाली मुसा र सोर्वाको मुसाकाने चमेरो नेपालमा मात्रै फेला परेको विज्ञहरूले दाबी गर्दै आएका छन्।

सोही कारणले केही विदेशी अनुसन्धाताले ती प्रजातिबारे चासो दिएर अध्ययन अनुसन्धानसमेत गर्दै आएका छन्। गोर्खाली मुसा २ हजार ५ सय र मुसाकाने चमेरो १ हजार २ सय मिटरभन्दा माथिको प्राकृतिक बासस्थानमा रम्ने जन्तु हुन्।

जापानी प्राणीशास्त्री हिसासी आवेले सन् १९७०पछि नेपाल आएर गोर्खाली मुसासहित अन्य स–साना स्तनधारी प्रजातिबारे अध्ययन गरेको स्मरण गरिन्छ।

गोर्खाली मुसा अन्नपूर्ण संरक्षण क्षेत्र र आसपासमा पाइएको छ भने मुसाकाने चमेरो काठमाडौं उपत्यकाको गोदावरी, सुन्दरीजल, स्याङ्जाको कैलाश गुफा, अन्नपूर्ण संरक्षण क्षेत्र आसपासमा फेला परेको साना स्तनधारी प्राणीको अध्ययनमा जुट्नुभएका संजन थापाले बताउनुभयो।

फरक भौगोलिक विविधताका कारण नेपाल वन्यजन्तुको प्राकृतिक वासस्थान सम्पन्न मानिए पनि विस्तृत अध्ययन अनुसन्धान हुन नसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का स्विकार्नुहुन्छ। ‘पक्कै पनि साना वन्यजन्तुबारे पर्याप्त अध्ययन हुन सकेको छैन, कति वन्यजन्तु त लोप हुने अवस्थामा पनि पुगेका हुन सक्छन्’, उहाँले भन्नुभयो– ‘अब ठूला वन्यजन्तुसँगसँगै साना प्रजातिबारेको अनुसन्धान प्राथमिकतामा राखिनुपर्छ।’

यद्यपि सालक, रेडपाण्डा (हाब्रे), मलाहा बिरालोजस्ता प्रजातिबारे अध्ययन अनुसन्धान भइरहेको खड्काले बताउनुभयो। जलवायु परिवर्तनले साना जन्तुको संख्या र बासस्थान प्रभावमा पारिरहेकाले त्यसबारेको अध्ययन अपरिहार्य रहेको उहाँको भनाइ छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ले संरक्षित सूचीमा सूचीकृत गरेका लोपोन्मुख जनावरको संख्या २७ छ। साना स्तनधारी जन्तुहरूमध्ये सालक तुलनात्मकरूपमा अझ बढी जोखिममा रहेको जन्तु हो।

विगत १० वर्षमा १० लाखभन्दा बढी सालकको अवैध व्यापार र चोरी शिकारी भएको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)को ठहर छ। नेपालमा पनि अवैध व्यापारमा अन्य जन्तुको तुलनामा सालकको संख्या बढी रहेको सरोकारवालाहरूको ठहर छ।

विश्वमा अहिलेसम्म विभिन्न ८ प्रजातिका सालक पहिचान भएका छन्। नेपालमा चाइनिज (कालो) र इन्डियन (तामे) २ प्रजातिका सालकको उपस्थिति मात्रै पाइएको छ।

मुलुकका विभिन्न ४५ जिल्लामा सालकको उपस्थिति पाइएको छ। तामेको तुलनामा कालो सालकको उपस्थिति केही बढी पाइएको वन्यजन्तुविद्हरू बताउँछन्।मुलुकको पूर्वी भेगदेखि मध्य र पश्चिमतर्फका रोल्पा, रुकुम आसपासका क्षेत्रमा कालो तथा शुक्लाफाँटा, बाँके, बर्दिया, सुर्खेत आसपासका स्थानमा तामे सालकको चहल–पहल पाइएको छ।

नियोजितरूपमा गरिने शिकार र कृषि उपजमा बढ्दो विषादिको प्रयोगका कारणले सालकको संख्या घट्दो अवस्थामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत अम्बिकाप्रसाद खतिवडा बताउनुहुन्छ। ‘प्रारम्भिक अध्ययन अनुसन्धानले यस्तो बताउँछ, यसबारेमा विस्तृत अध्ययन अनुसन्धान जरुरी छ।’ –उहाँले भन्नुभयो। यस्तै कुराको आवश्यकता औंल्याउँदै काठमाडौंमा साना स्तनधारी प्राणी संरक्षणसम्बन्धी पहिलो दक्षिण एसियाली सम्मेलन मंगलबार सम्पन्न भएको छ।

नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, ताइवान, अमेरिका, बेलायत, मलेसियासहित करिब १ दर्जन मुलुकका १ सयभन्दा बढी प्राणीशास्त्री र अनुसन्धाता सम्मेलनमा सहभागी थिए। सम्मेलनले साना स्तनधारी वन्यजन्तुबारेको अध्ययन सञ्जाल फराकिलो बनाउने, अनुसन्धानलाई निरन्तरता दिने, यस्ता जन्तुबारेको खोज अनुसन्धानको अनुभव एक आपसमा बाँड्नेलगायतका प्रतिबद्धता जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्