जर्मन डाक्टरले लेखिदिएको औषधि खाने बारे नेपाली भाषामा बुझाउँदै डा. हेमन्त राणा

पुष्करलाल श्रेष्ठ ।

२०७४ वैशाख १३ गते बुधबारका दिन। अष्ट्रियाको राजधानी भियनास्थित राजकुमार आयोगन योसर्फको दरबार घुम्दै थिएँ, अचानक पेट दुख्न थाल्यो। ठीक होला कि भन्दै दुई बोतल पानी पिएँ। सहनै नसकेपछि मेट्रो ट्रेनमा घर फर्किएँ। नेपालबाट लिएर गएका पेट नदुख्ने सबै औषधि खाँदा पनि साँझसम्म पेट दुखिनै रह्यो। हामीलाई युरोपमा आतिथ्यता प्रदान गर्ने भाइ प्रभु श्रेष्ठ र बुहारी मीनु श्रेष्ठ पनि आँतिन थाले। तीन महिनाको युरोप भ्रमणमा गएका हामी युरोप पुगेको पहिलो हप्तामै यसरी बिरामी भएपछि आँतिनु स्वाभाविकै थियो।

बिमा नगरिएका व्यक्तिको युरोपमा उपचार गर्नु निकै महँगो हुन्छ। युरोप जानुअघि नेपालबाट बिमा गरेर गए पनि युरोपका डाक्टर यहाँको बिमालाई मान्यता दिन मान्छन् कि मान्दैनन् भन्ने अन्योलताले गर्दा हामी सबै अलमलिरहेका थियौं। करिव १० वर्षअघि तेस्रो पटक भियना पुग्दा एकदिन भाइ प्रभुले आफ्नै ठूली दिदी शुभ श्रेष्ठकाश्रीमान् डा. हेमन्त राणासँग परिचय गराउनुभएको कुरा झस्स सम्झिएँ। त्यो कुरा बताएपछि प्रभु भाइले आफ्ना भिनाजु डा. राणालाई फोन गर्नुभएछ। संयोगले त्यस बेला डा. राणा घरमै हुनुभएकाले उहाँ आफ्नो मेडिकल बक्ससहित म बसेको घरमै कुदेर आइपुग्नुभयो।

डा. राणा घरमा पुगेको बेलामा पनि मेरो पेट दुखिरहेकै थियो। मेरो दुखाइको अवस्था बुभ्mनेबित्तिकै उहाँले मलाई एउटा गिलासमा पिसाब फेर्न लगाउनुभयो। पिसाबमा एउटा स्ट्रिप राखेर हेर्नेबित्तिकै उहाँले मलाई पत्थरका कारण पेट दुखेको बताउनुभयो र तत्कालै एउटा सुई दिनुभयो। पछि केही पेनकिलर तथा अन्य औषधि दिएर उहाँ फर्कनुभयो। त्यस दिन रातिको२ बजेसम्म पेट दुखेपनि बिहान ३ बजेतिर अलि बढी पिसाब भएपछि दुखाइ कम हुँदै गयो। बिहान सबेरै डा. राणाले आफ्नो सालो प्रभुलाई फोन गरेर मलाई अस्पतालमा लिएर आउन भन्नुभएको रहेछ। त्यसैले बिहान ८ बजे नै मलाई भाइ प्रभुले अस्पताल लिएर जानुभयो।
डा. राणाको घर ट्रेन स्टेसनबाट नजिकै रहेछ। ट्रेनबाट हामी ओर्लेर उहाँको घर पुग्नेबित्तिकै उहाँले आफ्नै गाडीमा राखेर हामीलाई भियनाको क्रनकेनहस बर्महेर्जिन ब्रुडर अस्पताल लिएर जानुभयो।

अस्पतालमा गर्नुपर्ने सबै प्रक्रियाहरू पनि डा. राणाले नै पूरा गरिदिनुभएकोले धेरै सजिलो भयो। अन्यथासबै जर्मनी भाषामा बोलिने अस्पतालमा म आपैंmले ती सबै काम गर्नुपरेको भए धेरै गाह्रो हुने रहेछ। अस्पतालका सम्बन्धित डाक्टरले जाँचिसकेपछि मलाई एक्सरे गर्ने कोठामा लिएर गए। एक्सरेको रिपोर्ट आएपछि तत्कालै शल्यक्रियागरेर पत्थर निकाल्नुपर्ने बताइयो। एकछिन् त रनभुल्लै भइयो। घुम्न भनेर सात समुद्र पार गरी आइएको छ। कसरी अस्पताल भर्ना हुने? नगरौं भने कुन बेला फेरि पत्थरले दुःख दिने हो?

यसभन्दा अघि पित्तथैलीको शल्यक्रिया पनि गरिसकेको थिएँ। अहिले किड्नीबाट पत्थर सरेर मूत्रनलीमा अड्किरहेको रहेछ। तत्कालशल्यक्रिया गरी पत्थर ननिकाले झन् अप्ठेरो पर्ने कुरा भएपछि अस्पताल भर्ना हुन बाध्य भएँ। बिमाको अन्योलताले उपचारमा कति पैसा पर्ने हो, नेपालबाट बोकेर आएको पैसाले पुग्ने हो वा होइन ? तनाव भएपछि पहिले पैसाकै कुरा गर्न लगाएँ। डा. राणाको सहयोगले दिनको २ सय युरो तिरे पुग्ने गरी कुरा छिनियो। झन्डै दिनको १२ सय युरो तिर्नुपर्ने उक्त अस्पतालले विदेशी पर्यटक भएको र अति विकासोन्मुख मुलकका नागरिक भएकोले अस्पतालले विशेष छुट गरिदिएको कुरा पछि थाहा पाएँ।अस्पतालका डाक्टरहरू भन्दै थिए रे– ‘पहिले त बिरामीकै उपचार हुनुपर्यो।’

बिहान ८ बजे अस्पताल पुगेका हामी सबै जाँच–पडताल गरेर भर्ना हुँदा बिहान ११ बजिसकेको थियो। दिउँसो १ बजे शल्यक्रिया गर्ने भनी मेरो बेडमा कागज टाँसिएको थियो। बिरामी कुरुवा कोही राख्ने चलन नभएकोले मसँगै अस्पताल आएकी मेरी श्रीमती राजेश्वरी र भाइ प्रभु पनि डा. राणासँगै अस्पतालबाट फर्के। एक्लै छोडिएपछि कसो–कसो लाग्नु स्वभाविकै थियो।म बसेको वार्डमा मसमेत जम्मा तीनजना बिरामी थिए। तिनीहरू सबै अष्ट्रियाकै नागरिक रहेछन्। आँखा जुध्यो कि मुसुक्क हाँस्थे।नर्सहरू पनि एकदमै हँसिला, छिन्–छिन्मा कुरा गर्न आइरहन्थे। ‘शल्यक्रिया गर्नुपर्ने बिरामी, त्यसमा पनि धेरै टाढा बाहिरी मुलुकको मान्छे, एक्लै हुँदा मलाई समस्या पर्दैन?’ भनी नर्सहरूलाई प्रश्न गर्दा ‘हामी सबै तपाईंकै मान्छे हौं नि, किन आँत्तिएको ?’ भनेपछि मन अलि हलुका भयो।

शल्यक्रिया गर्नुपर्ने बिरामी भएकोले डाक्टरहरूले पानीसमेत नपिउन भनेका थिए। शल्यक्रिया गर्नुअघि गर्नुपर्ने सबै प्रकारका जाँचहरू १२ बजेअघि नै सकिसकेका थिए। साथै साढे १२ बजेतिर दुईजना डाक्टरले जाँचेर पनि गइसकेका थिए। तर, कस्तो अचम्म ⁄ ४ बजिसक्दा पनि मलाई अप्रेसन थिएटरमा लाने सुरसार नै छैन। कोही आएको पनि होइन। भोक लागिसकेको हुनाले पटक–पटक नर्सहरूलाई फोनबाट सोधिरहन्थेँ। उनीहरू सलाइन चढाइरहेको हुनाले केही फरक नपर्ने कुरा मात्र गरिरहेका हुन्थे। मधुमेहको बिरामी भएकाले धेरै बेर भोकै बस्दा सुगर कम भएर केही हुने हो कि भन्ने पिर परिरहेको थियो।


करिब सवा ४ बजेतिर एकैचोटि६–७ जना चिकित्सक र नर्सहरू हुल बाँधेर आए। मत शल्यक्रियाका लागि लिन आएको भन्ठानेको थिएँ तर होइन रहेछ। मेरो अगाडि आएर मुख्य चिकित्सकले बिहान लिएको अल्ट्रासाउन्ड र अरु एक्सरेहरू देखाउँदै भने– ‘पत्थर मूत्रनलीको अप्ठ्यारो ठाउँमा अड्किरहेको भएपनि सानो भएकोले पिसाबबाटै निकाल्ने हो कि भन्ने निष्कर्षमा हामी पुग्यौं। तपाईंको विषयलाई लिएर हामीले १ बजेदेखि ४ बजेभित्र तीनचोटि गम्भीर बैठक बसिसक्यौं। हामीतपाईंको विचार बुभ्mनका लागि मात्र यहाँ आइरहेका छौं। तपाईं भन्नुहुन्छ भने हामी तत्कालै शल्यक्रिया गरेर पत्थर निकाल्न पनि तयार छौं। तपाईं जे भन्नुहुन्छ, हामी त्यही गर्छौं।’

सल्लाह लिन मेरो नजिक कोही आफन्त थिएन। आपूmलाई दुख्न छोडेकोले एकपटक पिसाबबाटै प्रयास गर्ने हो कि भन्ने लागेकोले डाक्टरहरूसँग त्यही कुरा गरें। उनीहरूले पनि मलाई नदुख्ने औषधि दिएको र तत्कालै दुख्ने सम्भावना पनि नरहेकोले नआँत्तिन भनेपछि मैले पिसाबबाटै निकाल्न प्रयास गर्ने बताएँ। त्यसपछि डाक्टरहरूले फेरि प्रश्न गरे– ‘अस्पतालमै बसेर प्रयास गर्ने कि घरमा जाने ?’ अस्पतालमा धेरै दिन बस्नुपरे पैसाले समस्या पार्ने चिन्ता लागेपछि मैले घरमै गएर प्रयास गर्छु भनें। केही आवश्यक औषधिसहित भोलि अस्पतालबाट डिस्चार्ज गर्ने कुरा गरेर उनीहरू त्यहाँबाट फर्के।

डाक्टरहरूको टिमले मसँग गरेका व्यवहारबाटै मेरो आधा रोग निको भइसकेको अनुभूति भयो। ती डाक्टरहरू नमैले चिनेका हुन्, न कसैले मेरो बारेमा भनिदिएका हुन्। त्यसमा पनि एकजना विदेशी बिरामी, न आमाको नाता न बुबाको ? कति राम्रो व्यवहार, जति कुरा सोधे पनि बताइरहने। जाँदा पनि केही चिन्ता लिनुपर्दैन, केही परे तत्कालै नर्समार्पmत हामीलाई खबर आउँछ भन्ने कुरा गरी थप आश्वासन दिएर गए। यस्तो व्यवहार हामी नेपालका डाक्टरहरूबाट विरलै पाउने गर्छौं।

शायद यही व्यवहारको कारणले होला, साँझ निकै तनावमा मलाई भेट्न आएका मेरी श्रीमती र भाइ प्रभु मलाई देखेर चकित भए। उनीहरू अप्रेसनपछि मेरो के हालत भइरहेको होला भनी चिन्ता लिँदै आएका रहेछन्। तर म आफ्नो बेडबाट तल ओर्लेर मेचमा बसी मजाले किताब पढिरहेको देखेपछि दंगै परे। मसँग सबै कुरा बुझेपछि उनीहरूले पनि सन्तोषको सास फेरे। भोलि डिस्र्चाज हुने भएपछि धेरै बेर कुरुवा बस्न नमिल्ने नियमको पालना गर्दै दुवैजना घर फर्के। मलाई हेर्न भनी आउनुभएकी डा. राणाकी श्रीमती शुभ दिदी पनि एकछिन् बसेर फर्किनुभयो।

बेलुका ११ बजिसकेको थियो। मेरो अगाडिको बेडका करिब ९० वर्षीय बिरामी कराएको करायै गरिरहेका थिए। ९० वर्षको भए पनि उनको पनि बिरामी कुरुवा थिएन। बिरामीको अवस्था हेरेर होला, छिन्–छिन्मा नर्सहरू उनलाई हेर्न आइरहेका हुन्थे, तर उनी एकनासले कराइरहेका कारण मलाई निद्रा नै लागेन। जति पटक नर्सहरू कोठाभित्र आएपनि म उठिरहेको देखेपछि उनीहरूले मलाई बाहिर उनीहरूसँगै एकछिन् गफ गर्न लिएर गए। छुट्टै कोठामा गएर टीभी हेर्ने कि भने। तर, टीभीमा आइरहेको भाषा केही नबुझेकोले टीभी नहेरी फेरि उनीहरू भएकै ठाउँमा फर्कें। नेपालबारे धेरै कुराहरू सोधे उनीहरूले। कतिपयले त नेपालको नाम नै सुनेका रहेनछन्। जे भएपनि ती नर्सहरूले केही घण्टा मेरो मन बहलाउने काम गरे। करिब १ बजेतिर निद्रा लाग्लाजस्तो भएपछि धन्यवाद भन्दै आफ्नै बेडमा आएर सुत्ने प्रयास गरें।

भोलिपल्ट बिहान ६ बजे नै मलाई फेरि एक्सरे कोठामा लिएर गए। धेरै ठूलो मेसिनभित्र करिब २० मिनेट हालेपछि पुनः वार्डमा ल्याएर छोडे। ८ बजेतिर डाक्टरहरू आए। मेरो एक्सरे रिपोर्ट उनीहरूसँगै रहेछ। त्यसबेलासम्म स्टोन खसेको रहेनछ। तर अघिल्लो दिनमा जस्तो मूत्रनलीको अप्ठ्यारो ठाउँमा रहेनछ। अलि तल झरिसकेको रहेछ।त्यसैले पनि होला, केही औषधिहरू थपेर ३ दिनपछि बुधबार बिहान पुनः अस्पताल आउने भन्दै सहजै मलाई अस्पतालबाट डिस्चार्ज गरिदिए।

के औषधि दिएका हुन् कुन्नि, अस्पतालबाट फर्केदेखि छिन्–छिन्मा पिसाब लागिरहने र पिसाब पनि निकै फोर्सले आउने। डाक्टरले अस्पतालबाट डिस्चार्ज हुनुअघि जहिले पिसाब आएपनि जालीमा थाप्नु भनेको थियो। तर, पिसाब यसरी च्याप्थ्यो कि जाली खोजिरहनै नभ्याउने। जेहोस्, अस्पतालबाट आएदेखि पेट भने कहिल्यै पनि दुखेन। जीउ असाध्यै हलुका भएको अनुभूति भइरहन्थ्यो। अस्पतालबाट डिस्चार्ज भएको पर्सिपल्टै भियनाका मित्र रुद्र चुडालकोमा दिवाभोज खान जान सक्ने भइसकेको थिएँ। तर, भियनाबाटै युरोपका अन्य मुलुकहरूमा जाने कुरामा भने पूर्णरूपमा ब्रेक लागिसकेको थियो।

बुधबार बिहान डा. राणा र प्रभु भाइसँगै पुनः अस्पताल पुग्यौं। पुगेको केही समयपछि डा. वायण्ड क्लाउडियाले पूरै जाँच गरेपछि फेरि एक्सरे गर्न लगाइन्।एक्सरे रिपोर्ट आएपछि फेरि डा. क्लाउडियाले उनको कोठामा बोलाइन्। अरु केही नभनीकन उनले बधाई भन्दै मसँग हात मिलाइन्। हात मिलाउँदा–मिलाउँदै उनले भनिसकेकी थिइन्– ‘तपाईंको पत्थर झरिसकेको छ, अब केही चिन्ता लिनुपर्दैन। तर, अझै तपाईंको किड्नीमा ६ एमएमको एउटा सानो पत्थर त बाँकी छ, तर त्यसले तुरुन्तै तपाईंलाई कुनै असर भने गर्नेछैन।’

यति भन्दै उनले अर्को एउटा थप कुरा पनि भनिन्–‘तपाईंलाई हर्निया पनि रहेछ। त्यसको पनि उपचार गर्ने भए म तयार छु। आधा घण्टा समय लाग्छ। तत्कालै गर्नु जरुरी त देख्दिनँ, तैपनि तपाईंको विचार।’ जीवनमा मलाई हर्नियाको पनि समस्या छ भन्ने कुरा पहिलोचोटि थाहा पाएँ। नेपालमा हरेक वर्ष अस्पताल गएर म पूरै शरीर जँचाउने गर्छु। यसो गरेको पनि १५ वर्ष भयो होला। तर कुनै डाक्टरले मलाई यसबारे जानकारी गराएका थिएनन्।हामीकहाँको समस्या भनेकै यही हो। इमर्जेन्सी परेपछि मात्र औषधोपचार हुने, त्यो पनि महँगोमा।

युरोलोजिस्ट क्लाउडियाको काउन्सिलिङबाट निकै प्रभावित भएपछि बल्ल मैले पनि आफ्नो परिचय दिएँ। म पत्रकार भएको थाहा पाएपछि उनी पनि खुशी भइन्। तिमी त ठूलै जिम्मेवारी भएको मान्छे रहेछौ। हामीले धेरै कुरा मिडियाबाटै थाहा पाउने हो भन्दै उनले पुनः मसँग हात मिलाइन्। मैले पनि यहाँ तपाईंहरूको उपचार गर्ने शैलीबाट निकै प्रभावित भएकाले नेपाल फर्केपछि यहाँको उपचार बिधिबारे लेख्ने विचार गरेको छु,त्यसैले मेरो लेखका लागि तपाईंको एउटा तस्वीर खिचौं भन्दा उनी मानिनन्। धेरै अनुरोध गर्दा पनि अस्पतालको नियमले गर्दा हामीलाई अस्पतालको अनुमतिबेगर तस्वीर खिचाउन मिल्दैन भनेपछि कर पनि गरिनँ। मलाई राम्ररी थाहा थियो, अष्ट्रियनहरू नियम–कानुन भनेपछि दायाँ–बायाँ केही गर्दैनन्। बरु उनले आफ्नो तस्वीर अस्पतालको वेबसाइटबाट लिन सक्ने बताउँदै नम्रतापूर्वक माफी मागिन्।

करिब डेढ महिना युरोपका विभिन्न देशमा घुमिसकेपछि फेरि मेरो घुँडामा समस्या आयो। पहिले फुटबल खेल्ने क्रममा दशरथ रंगशालामा भएको ठूलै दुर्घटनापछि जीवनभर खेलकुदमा सहभागी हुन नसक्ने गरी मेरो घुँडा बिग्रेको थियो। करिब २५ वर्ष खेलजीवन परित्याग गरेपछि विगत ६ वर्षदेखि फेरि ब्याडमिन्टन खेल्न थालेको थिएँ। ब्याडमिन्टन खेल्ने क्रममा बेला–बेलामा घुँडाको समस्या आएपनि सुई लिँदै खेल्न नछोडेकाले होला, युरोपमा त टेक्नै नसक्ने भइयो। फेरि डा. हेमन्त राणालाई नै दुःख दिन पुगें। निकै सहयोगी उहाँले भियनाका एकजना नाम चलेकै अर्थोपेडिक डाक्टर कार्ल हेन्ज क्रिस्टेनकोमा लिएर जानुभयो। निकै भीड रहेछ। नेपालबाट मैले मेरो घुँडाका एक्सरेहरू लिएर गएको थिएँ। त्यो हेरेपछि उनले घुँडाको शल्यक्रिया नै गर्नुपर्ने सुझाव दिए।

युरोपको बिमानभएकाले आफ्नै पैसा खर्च गरेर त्यहाँ उपचार गराउँदा १ करोड रुपियाँभन्दा बढी पैसा पर्ने देखिएपछि केही महिना काम चल्ने हिसाबले एउटा सुई मात्र लिएर फर्कें। यहाँ यो कुरा उल्लेख गर्नुको कारण डाक्टरको व्यवहार नै थियो। निजी क्लिनिकमा जँचाउँदा पनि डाक्टरले यति धेरै समय दिएर मलाई काउन्सिलिङ गरे कि मुस्किलले हिँडेर पुगेको मान्छे, मनोवैज्ञानिक उपचार पाएपछि फर्कंदा चंगाजस्तो भइसकेको थिएँ। पहिले पुगेको अस्पतालजस्तै अत्यन्त सफासुग्घर थियो निजी क्लिनिक पनि। अत्यन्त आरामदायी कुर्सीहरू राखिएका थिए। पानी खाने छुट्टै व्यवस्था गरिएको थियो, शौचालय पनि पाँचतारे होटलको जस्तो। डाक्टरका सहयोगीहरू पनि उत्तिकै हँसिला र सहयोगी भएकाले पालो कुरुन्जेल कुनै पट्यारे नै नलाग्ने।

अष्ट्रियाका राजकुमार आयोगन योसर्फको दरबार

युरोपका अस्पताल र निजी क्लिनिकमा मलाई गरिएको उपचार पद्धति हेर्दा त्यहाँ डाक्टरको हातमा बिरामी परेपछि उनीहरू पैसालाई भन्दा मानवीयता र डाक्टरको धर्मलाई पहिलो प्राथमिकता दिँदा रहेछन् भन्ने अनुभूति गरायो। अर्को कुनै अस्पतालले बिरामी भर्ना लिइसकेपछि बिरामी निको नभएसम्म पूरै जिम्मा अस्पतालले लिने गर्दा रहेछन्। फेरि जुनसुकै रोग लागेर बिरामी अस्पताल पुगेपनि सो बिरामी अरु कुनै रोगले पनि ग्रसित छ कि भनेर जाँच गरिदिँदो रहेछ।

पित्तथैलीमा पत्थर जमेर १० वर्षसम्म दुःख पाइरहँदा पनि मलाई नेपालका एकजना वरिष्ठ डाक्टरले ग्यास्ट्रिक भन्दै औषधि ख्वाइरहे। फुटबल खेल्दा खुट्टानै बाँङ्गो हुनेगरी घुँडामा समस्या हुँदासमेत मलाई आजभन्दा ३५ वर्षअघि खुट्टा मर्केको भन्दै ब्यान्डेज मात्र लगाइदिएर वीर अस्पतालबाट डिस्चार्ज गरिदिएको थियो। यसले गर्दा जीवनभर खेलजीवनबाट संन्यास लिन बाध्य हुनुपर्यो। अहिलेका अर्थोपेडिक डाक्टरहरूले मेरो घुँडाको जाँच गर्दा बेलैमा यसको शल्यक्रिया गरिदिएको भए मैले यस्तो नियति भोग्नुपर्ने थिएन भन्ने गर्छन्। तर, अहिले पनि हामीकहाँको चिकित्सा प्रणाली हेर्दा सन्तोष गर्ने ठाउँ पाउँदैनौं। त्यही भएर हुनेखाने अनि सरकारी ढुकुटीको सुविधा पाउने नेताहरू सानातिना रोगका लागि पनि नेपालका चिकित्सकहरूप्रति विश्वास नभएर उपचारका लागि विदेशतिर जाने गरेको पाउँछौं। आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण भने बाध्य भएर यहीँ उपचारगराउँछन्। चिकित्सा क्षेत्रमा देखिने गरेका शायद यस्तै विकृति हटाउन डा. गोविन्द के.सी. ले ११ औं पटक अनशन गरिसक्नु भएको छ। सरकारले फेरि छलकपट गर्न लागेको भन्दै डा. के.सी. पुनः १२ औं पटक अनशनका लागि तयार हुनुभएको समाचार आएपनि स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सुधार गर्न सरकार जुर्मुराएको देखिंदैन। कस्तो विडम्बना?

1 COMMENT

  1. Ramro britanta ho pushkarji ko. Hami Australiama yestai herchah paunchhaun jo Nepalka hospital le thulo rakam kharcha garayera pani dina sakdainan. Gokul pokhrel

Leave a Reply to Gokulnpokhrel Cancel reply