अशक्त जोडी सरकारी सहयोगको प्रतीक्षामा



 

चिरञ्जीवी मास्के, दोलखा

दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ मा बस्दै आएका ४० वर्षीय दृष्टिविहीन मिठु मिजार र बोल्न नसक्ने ४५ वर्षीया श्रीमती माया खड्का मिजार सुकुम्बासी हुन्। एक छोरा र एक छोरी भएका मिठुको परिवार अहिले बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को सार्वजनिक जग्गामा टहरा हालेर बसेका छन्।

मिठु मिजार जग्गा जमिन र धन सम्पत्ति केही नभएकाले समस्यामा परेको बताउँछन्। ‘वर्षाको बेला पानी चुहिएर ओछइन भिज्छ, बालेको चुल्हो निभ्छ, हिउँदमा शीत चुहिएर चिसोले बिरामी परिन्छ तर गरिखाने केही उपाय छैन।’ –मिठुले गुनासो गर्दै भने। अन्तरजातीय विवाह गरेका मिठु दम्पतीले जेनतेन मजदुरी गरेर गुजारा गर्दै आएका थिए तर अहिले दुवै अशक्त बनेकोले समस्यामा परेका छन्।

‘हामीजस्ता अशक्त सुकुम्बासीका लागि सरकाले केही गरिदिए हुने थियो।’ –मिठुले भने। अहिले सिंहदरबारको अधिकार गाउँमै आएको छ भन्ने सुनेका मिठु गाउँपालिकाले जग्गा उपलब्ध गराइदिए पुर्ननिर्माण प्राधिकरणसँग स्थायी आवास निर्माणका लागि सहयोग माग्न जान सकिने अपेक्षा गर्छन्। ‘बुबा आमाले अधियाँ कमाएर गुजारा गरिरहनुभएको थियो। आमाबुबाको मृत्युपछि म पनि मागेर गुजारा चलाउँदै छु, मिठुले भने– ‘एउटा सानो घर बनाउन सके दुःखजिलो गरेर दुई छोरालाई पढाउन सकिने थियो कि⁄’ सरकारले दिने अशक्त भत्ता मासिक २ हजारले खान नै धौधौ पर्ने मिठु बताउँछन्।

बैतेश्वर गाउँपालिकाका उपप्रमुख रविचन्द्र आचार्यका अनुसार बैतेश्वर वडा नम्बर ६ मा मात्र ३ परिवार सुकुम्बासी छन्। गाविसको सबै वडामा गरेर सुकुम्बासीको संख्या १५⁄२० परिवार हुनसक्ने उपप्रमुख आचार्य बताउँछन्। ‘गाउँपालिकाभर कति सुकुम्बासी छन् भन्नेबारे हामी अध्ययन गरिरहेका छा ैं’, उपप्रमुख आचार्यले भने– ‘उनीहरूको तथ्याङ्क संकलनपछि कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा निर्णय गर्नुपर्छ।’

गाउँपालिका उपप्रमुख आचार्य गाउँपालिकाभित्र भएका सुकुम्बासीलाई स्थायी आवास बनाएर बस्ने वातावरण निर्माण गर्न कानुनले मिल्नेसम्म कतैको जग्गा उपलब्ध गराउने र पुनर्निर्माण प्राधिकरणलाई भनेर स्थायी आवास निर्माणका लागि रकम उपलब्ध गराउन पहल गर्ने बताउँछन्।

प्रतिक्रिया दिनुहोस्