चिकित्साजन्य फोहोर ६ दिनदेखि उठेन, वातावरण दुर्गन्धित



कुमार श्रेष्ठ, नेपालगञ्ज ।

नर्सिङहोम, नेपालगञ्जबाट निस्किने चिकित्साजन्य फोहोर ६ दिनदेखि नउठ्दा आसपासमा दुर्गन्ध फैलिएको छ ।

चिकित्साजन्य फोहोरलाई अस्पतालले विशेष रुपमा व्यवस्थापन गर्नुपर्ने बताएर स्थानीय केहीले विरोध गरेपछि फोहोर उठ्न नसकेको हो । अस्पतालले फोहोरलाई आफ्नै परिसर भित्र पोको पारेर थुपार्ने र त्यसलाई निजी संस्थाले लगेर फाल्ने गरिएको थियो ।

अस्पतालले अरु फोहोर सरह निजी संस्थामार्फत नभई छुट्टै विशेष तरिकाले चिकित्साजन्य फोहोरको व्यवस्थापन गर्नुपर्ने भन्दै स्थानीयले विरोध गरेका छन् ।

अस्पताल प्रशासन र स्थानीयको आरोप–प्रत्यारोपले गर्दा ६ दिनदेखि चिकित्साजन्य फोहोर उठ्न सकेको छैन । अस्पतालबाट दिनमा ३० पोका अर्थात डेढ क्वीन्टलजति फोहोर संकलन हुने गर्दछ । ६ दिनमा दश क्वीन्टलजति फोहोर थुप्रिसकेको छ ।

अस्पतालको फोहोर दैनिक उठाउने निजी संस्थालाई स्थानीयले फोहोर नउठाउन दबाब दिएको स्रोतले बताएको छ । मासिक पन्ध्र हजार रुपैया लिएर फोहोर उठाउने निजी संस्था अस्पताल र स्थानीयको चेपुवामा परेको छ ।

चिकित्साजन्य फोहोरले नजिकको होटल र स्थानीयलाई प्रत्यक्ष असर पारेको छ । ६ दिनदेखि फोहोर नउठ्दा बाटो हिड्दा नै गन्ध आएको छ । लामो समयसम्म नर्सिङहोमको चिकित्साजन्य फोहोरलाई नगरपालिकाले अन्य फोहोरसँगै लगेर फाल्ने गरेका थिए । त्यसबेला नगरपालिकालाई नर्सिङहोमले हप्ताको पाँच हजार दिन्थ्यो ।

नियमतः अस्पतालबाट निस्किने चिकित्साजन्य फोहोरलाई अस्पतालले नै व्यवस्थापन गर्नुपर्छ । निडिललगायतका अप्रेशनमा प्रयोग भएका हानिकारक पदार्थ फोहोरसँगै फालिन्छ । अस्पतालको आफ्नै फोहोर फाल्ने ठाउँ नहुँदा विगतदेखि नै अरु फोहोरसँगै लगेर फाल्ने गरिएको छ ।

अस्पतालबाट निस्किने चिकित्साजन्य फोहोरलाई उचित व्यवस्थापनका लागि स्थानीय केहीले जिल्ला प्रशासन, उपमहानगरपालिका, जनस्वास्थ्य कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । त्यसपछि सरकारी अधिकारीले फोहोरको स्थलगत अध्ययन गरिसकेका छन् ।

फोहोरको विरोध गरिरहेका केही व्यक्ति र अस्पतालका प्रवन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाका बीचमा ‘तल्लो स्तरका गालीगलौच’ सम्म हुँदा समझदारी हुन सकेको छैन ।

अस्पतालको चिकित्साजन्य फोहोर उठाउने सम्बन्धमा सहमतिको प्रयास भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले बुधबार फोहोरको अवलोकन गरेर आन्दोलन गर्ने र अस्पताल सम्बद्ध अधिकारीलाई समझदारीमा अघि बढ्न आग्रह गरेका छन् ।

डा. राणाले फोहोर उठाउने संस्थालाई पनि एकै दिन हटाइदिन भनेका छन् । वातावरण सम्बन्धी संस्थामा काम गर्ने तेजविक्रम शाह र अस्पतालका डा. वैभव टण्डनलाई भेटेर मेयर डा. राणाले फोहोर थुपारेर वातावरण दुषित बनाउनेतिर नलाग्न आग्रह गरेको बुझिएको छ ।

अस्पतालले फालेको चिकित्साजन्य फोहोर आसपासमा अहिले जान सक्ने अवस्था छैन । अस्पताल र स्थानीयको असमझदारी बढ्दै जादा स्थिति अझ भयावह हुने देखिएको छ । फोहोर फाल्नेबारेमा सहमति हुने बित्तिकै एकै दिन सबै फोहोर फालिदिने निजी संस्थाका अधिकारीले बताएका छन् ।

फोहोर व्यवस्थापनमा समस्या झेलिरहेको नेपालगञ्ज उपमहानगरपालिकालाई नर्सिङहोमको विवादले अझ तनाव बढाएको छ । नगरपालिका आफैले बजारमा उठ्ने फोहोर कहाँ फाल्ने भन्ने समस्यामा रहेको छ । अहिले केही दिनदेखि फूलबारी मस्जिदको पछाडीको खाल्टोमा फोहोर फालिरहेको छ ।

त्यहाँ पनि नगरपालिकाले ढिलोचाडो जंगलतिर ठाउँ बनाएर फोहोर फाल्ने तयारी गरेको बुझिएको छ । नगरपालिकाले अहिले निजी संस्थालाई फोहोर फाल्नमा मिसाएको छैन । नगरपालिकाका जनप्रतिनिधिलाई आएदेखि नै फोहोर व्यवस्थापनले चुनौती थपेको छ ।

प्रतिक्रिया दिनुहोस्