नेपाल समाचारपत्र, काठमाडौ ।
सरकारले प्रदेश सभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १० र मंसिर २१ गरी दुई चरणमा गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता मोहन बस्नेतले जनाएका छन् ।

यसअघि सरकारले मंसिर १० मा एकैपटक दुई चुनाव गर्ने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले दुई चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गरिनुपर्ने भनि सरकारलाई दिएको सुझावको आधारमा दुर्इ चरणामा गर्ने निर्णय भएको बताइएको छ ।

दुई चरणमा चुनाव गरिने भएपनि कुन जिल्लामा कुन चरणमा गर्ने भन्नेबारे चाहि स्पष्ट पारिएको छैन । निर्वाचन आयोगसँग परामर्शको आधारमा यसबारे थप निर्णय लिइने बस्नेतले बताए ।

बस्नेतले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारे राजनीतिक सहमतिको आधारमा राजनीतिक समितिले निर्णय गर्ने बताए ।

यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा विपद आयोग गठन गर्ने पनि बैठकले निर्णय गरेको छ । जुन संवैधानिक परिषदबाट सिफारिस गर्ने निर्णय भएको छ ।

बैठकले एसियाली विकास बैंकबाट भन्सार सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अर्ब ४८ करोड ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

यस्तै केही प्रहरी बरिष्ठ उपरिक्षक पद खारेज गरी प्रहरी नायक महानिरिक्षक पदको दरबन्दी सृजना गर्ने बारे पनि छलफल भएको छ । तर, निर्णय भइनसकेको सरकारका प्रवक्ता बस्नेतले जानकारी दिएका छन् ।

LEAVE A REPLY