सारापोभाको सानदार पुनरागमन



 

न्युयोर्क, (एजेन्सी)
विश्व नम्बर दुई सिमोना हालेपलाई हराएर मारिया सारापोभाले ग्रान्डस्लाममा सानदार पुनरागमन गरेकी छन्।

अस्ट्रेलियन ओपन २०१६ जनवरीमा पछिल्लोपटक खेलेकी सारापोभाले ग्रान्डस्लाम प्रतियोगितामा पहिलोपटक सहभागी जनाएकी हुन्। सोमबारदेखि शुरू भएको यूएस ओपनमा रसियन खेलाडीले उपाधि दाबेदारको यात्रा पहिलो चरणमै समाप्त पारिन्। उनले रोमानियाकी हालेपलाई ६–४, ४–६, ६–३ ले हराएकी थिइन्।

न्युयोर्कको फ्लसिङ मिडोमा भएको रातिको खेलमा पनि करिब २४ हजार दर्शकले सो खेल हेरेको न्युयोर्क टाइम्सले जनायो। २ घण्टा ४४ मिनेटको संघर्षपछि दोस्रो चरणमा पुगेकी सारापोभाले योसमेत गरी हालेपविरुद्ध नहार्ने क्रमलाई निरन्तरता पनि दिइन्। उनले हालेपविरुद्ध करिअरमा सात भेटमा सबै खेल जितेकी छिन्। उनले दोस्रो चरणमा विश्व नम्बर ५९ की हंगेरीयन खेलाडी टिमिया बाबोससँग खेल्नेछिन्।

वाइल्ड कार्डमार्फत् प्रतियोगितामा सहभागी भएकी सारापोभा २००६ की यूएस च्याम्पियनसमेत हुन्। १५ महिनाको डोपिङ प्रतिबन्धमा लागेकी उनी गएको अप्रिलमा जर्मनीमा आयोजित पोर्से टेनिसमा फर्केकी थिइन्। त्यहाँ उनी सेमिफाइनलसम्म पुगेकी थिइन्। यसपछि मेड्रिड ओपनमा सहभागी जनाए पनि चोटको कारण बीचैमा छोड्नुपर्यो। तर, उनले दुई ग्रान्डस्लाम फ्रेन्च ओपन र विम्बल्डनमा खेल्न पाएनन्। हाल उनी विश्व वरियतामा १ सय ४६औं स्थानमा रहेकी छिन्।

यसै गरी महिला सिंगल्समा अर्की उपाधि दाबेदारी योहाना कोन्टा पनि पहिलो चरणबाटै बाहिरिइन्। सर्बियाकी वरियताविहीन खेलाडीसँग कोन्टा स्तब्ध भएकी थिइन्। एलेक्सान्ड्रा क्रुनिचले ब्रिटिस खेलाडीलाई ४–६, ६–३, ६–४ ले पाखा लगाएकी थिइन्। कोन्टा यसअघि विम्बल्डन र अस्ट्रेलियन ओपनमा सेमिफाइनलमा पुगेकी थिइन्।

यस्तै पाको उमेरमा समेत सानदार प्रदर्शन गरिरहेकी भेनस विलियम्स पनि दोस्रो चरणमा पुगिन्। दुई पटककी च्याम्पियन विलियम्सले विश्व वरियतामा १ सय ३५औैं स्थानमा रहेकी भिक्टोरिया कुजमोभालाई ६–३, ३–६, ६–२ ले हराएकी थिइन्। डेनमार्ककी कारोलिन वजनियाकी पनि मिहाइला बुजार्नेस्कुलाई ६–१, ७–५ ले पन्छाएर दोस्रो चरणमा प्रवेश गरिन्। उनको अर्को चरणमा रसियाकी एकाटेरिना माकारोभासँग सामना हुनेछ।

प्रतिक्रिया दिनुहोस्