नेपालले बंगलादेशलाई हरायो



नेपाली खेलाडी (निलो) विपक्षीको सटलाई ब्लक गर्ने क्रममा। तस्वीरः नेस

 

नेपाल समाचारपत्र
काठमाडौं
पहिलो सेट जितको नजिक पुगेर गुमाए पनि त्यसपछि लगातार तीन सेट हात पार्दै नेपाली पुरुष भलिबल टोलीले बंगलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण खेल जितेको छ।
मंगलबार लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रको कभर्ड हलमा नेपाली भलिबल टोलीले जित दर्ता गरेको हो। दुई मैत्री खेलको पहिलो खेलमा नेपालले पाहुना टोलीलाई २५–२७, २५–१७, २५–१६, २५–२३ ले हरायो। यसअघि आइतबार सोही कभर्ड हलमा सम्पन्न डेनमार्कको क्लबीय टोलीविरुद्धको मैत्री खेलमा पहिलो सेटमा हारेर नेपालले जितेको थियो।

नेपालको जितमा कुलबहादुर थापाले सबैभन्दा बढी स्कोर गरे। उनले २१ स्कोर गर्दा हरि अधिकारीले १३ स्कोर, मानबहादुर श्रेष्ठले १२ स्कोरको योगदान दिएका थिए। त्यस्तै नेपाली कप्तान इम रानाले ९ स्कोर गर्न सफल भएका थिए। बुधबार दोस्रो मैत्रीपूर्ण खेल हुनेछ।

योसमेत गरी नेपालले दक्षिण एसिया प्रतिद्वन्द्वी बंगलादेशविरुद्ध तीन खेलमा जित हात पारेको छ। अहिलेसम्म यी दुई टोलीबीच चार खेल भएकोमा नेपाल एउटामा मात्रै हारेको छ। बंगलादेशमै यसअघि भएको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाल पराजित भएको थियो।

जितपछि नेपाली भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले नेपाली खेलाडीले आ–आफ्ना विधामा सुधार गरेको बताए। उनले भने– ‘नेपालले ब्लक र रिसिभमा सुधार गरेका कारण सफलता हासिल गरेको छ। नेपालले विगतका कमजोरी पक्षलाई सुधार गरेका कारण जित हासिल गरेको छ। यसमा हामी खुसी पनि छौं। खेलाडीले राम्रो खेले। पहिलो सेटमा हार्नु नेगेटिभ अंक धेरै दिएकाले हो। तर, सर्भिसमा अझै पनि सुधार हुनुपर्छ। तर, आज जितले भोलिका दिनमा जित हासिल गर्न हौसला बढाएको छ।’

उता बंगलादेशका प्रशिक्षक अली पोउरले नेपालको स्तर विगतभन्दा माथि भएको बताए। उनले भने– ‘हामीले मैत्रीपूर्ण खेललाई नयाँ खेलाडीलाई मौका दिने अवसरको रूपमा लिएको छौं। आज मैले धेरै खेलाडीलाई खेलाए। त्यसले उनीहरूको अनुभव बढाउनेछ। हामीले ब्लकमा नेपाललाई रोक्न सकेनौं। त्यसले हामीलाई खेल हार्नुपर्यो।

प्रतिक्रिया दिनुहोस्