प्रधानमन्त्री मोदी ब्रिक्स सम्मेलनमा भाग लिन चीन जाने



 

नयाँदिल्ली, (एजेन्सी)
चीन–भुटानको विवादास्पद सिमामा भारत र चीनबीचको सैन्य तनाव अन्त्यसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सम्मेलनमा भाग लिने भएका छन्। प्रधानमन्त्री मोदी सेप्टेम्बर ३ देखि ५ सम्म हुने ब्रिक्स सम्मेलनका लागि चीनको सियामेनको भ्रमणमा जाने विदेश मन्त्रालयले जनाएको छ।
डोकलाममा चीन र भारतबीच ७३ दिनदेखि जारी गतिरोध अन्त्य भएको एक दिनपछि नै मोदीको सहभागिता हुने घोषणा भएको हो। उक्त क्षेत्रबाट दुबै पक्षले सैनिक हटाएको नयाँदिल्लीले दाबी गरेको छ भने बेइजिङले भारतले आफ्ना सैनिक फिर्ता गरेको जनाएको छ।

विदेश मन्त्रालयका अनुसार चीनका राष्ट्रपतिको निमन्त्रणमा प्रधानमन्त्री मोदी नवौं ब्रिक्स शिखर सम्मेलनमा भाग लिन फुजियान प्रान्तको सियामेन क्षेत्रको भ्रमणमा जानेछन्। चीनको यात्रापछि मोदी सेप्टेम्बर ५ देखि ७ सम्म म्यान्मारको राजकीय भ्रमणमा जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। म्यान्मारका राष्ट्रपति यु थिन क्वाको निमन्त्रणमा मोदीको उक्त भ्रमण हुन लागेको जनाइएको छ। यसअघि सन् २०१४ मा आसियान शिखर सम्मेलनमा भाग लिन उनी म्यान्मारको राजधानी पुगेका थिए।

म्यान्मार भ्रमणका क्रममा प्रधानमन्त्रीले म्यान्मारका स्टेट काउन्सलर आङ सान सुकी र राष्ट्रपति यु थिनसँग वार्ता गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्