उत्तर कोरियाद्वारा जापानी भूभागमाथि क्षेप्यास्त्र प्रहार



 

टोकियो, (एजेन्सी)
उत्तर कोरियाले मंगलबार जापानको उत्तरी भागको आकाशतर्फ एउटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। जापानी प्रधानमन्त्री सिन्जो आवेले यस कदमलाई आफ्नो राष्ट्रमाथिको अप्रत्यासित खतराको संज्ञा दिएका छन्। कोरियाको स्थानीय समयअनुसार हिजो बिहान सबेरै प्रक्षेपण गरिएको उक्त क्षेप्यास्त्र होकोइडा ेटापुमाथिबाट उड्दै सागरमा खसेको थियो।
यस विषयलाई लिएर संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने अनुमान गरिएको छ। केही समय यता धमाधम क्षेप्यास्त्र प्रक्षेपण गर्दै आएको उत्तर कोरियाले पहिलोपटक जापानको आकास मार्ग हुँदै यो परीक्षण गरेको हो।

यसअघि सन् १९९८ र २००९ मा पनि उत्तर कोरियाले भू–उपग्रह बोक्ने रकेटहरू जापानको भूभागमाथिबाट उडेका थिए।बीबीसीका पत्रकार रूपर्ट विंफिल्ड हाएसले टोकियोमा यस पछिल्लो क्षेप्यास्त्र पहिलो शक्तिशाली र आणविक हतियार बोक्न सफल भएको दाबी गरेका छन्।

राजधानी प्योङयाङ नजिकबाट पूर्वतिर फर्काएर सो क्षेप्यास्त्र प्रहार गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ। हालै विकास गरिएको अनुमान गरिएको मध्यम दूरी क्षमताको ह्वासोंग– १२ क्षेप्यास्त्र करिब ५ सय ५० किमि उचाइ सम्म पुगेर २ हजार ७ सय किमिभन्दा बढी दूरी तय गरेको बताइएको छ। सो क्षेप्यास्त्र तीन टुक्रामा विभाजित भएर जापानको समुद्री तटदेखि १ हजार १ सय ८० किमि टाढा उत्तरी प्रशान्त महासागरमा खसेको थियो। जापान सरकारले सो क्षेप्यास्त्र खसाल्ने प्रयास नगरे पनि सुरक्षाको चेतावनी दिँदै होकाइडोका वासिन्दालाई शक्तिशाली घरभित्र वा भूमिगत कोठामा बस्न आग्रह गरेको थियो। अमेरिकाले होकाइडोमा हालै जापानसंगको संयुक्त सैनिक अभ्यास सम्पन्न गरेको छ। यसै गरी दक्षिण कोरियामा हाल चलिरहेको अर्को संयुक्त सैनिक अभ्यासमा दक्षिण कोरिया र अमेरिकाका दशौं हजार सेनाले भाग लिइरहेका छन्। उत्तरले यो सैनिक अभ्यासलाई आफूमाथिको आक्रमणको तयारीका रूपमा रहेको छ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले यस कदमको जवाफस्वरूप अभ्यासलाई निकै तिव्रता दिन सेनालाई आदेश दिएका छन्। हिजो चारवटा दक्षिण कोरियाली लडाकू जेट विमानले प्रत्यक्ष बमबारी अभ्यास गरेका छन्। जापानी प्रधानमन्त्री आबेले आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग कुरा गरी उत्तर कोरियामाथि थप दबाब दिने विषयमा आपसी सहमति जनाइसकेको बताएका छन्। यसैबीच अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यस प्रक्षेपणबाट अमेरिकाका लागि खतरा सावित नभएको तर सैनिक स्तरमा यसबारे थप गोप्य तथ्यहरू संकलन गर्ने कार्य भइरहेको बताएको छ। रुसी उपविदेशमन्त्री सर्गेइ र्यावकोभले यस घटनाको कारण रसिया पनि निकै चिन्तित रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्