नम्रता नाटकमा



 

नायिका नम्रता श्रेष्ठलाई नाटकमा देखिने भएको छ। वन वल्र्ड थिएटर र नम्रताकै हाइली हाई इन्टरटेनमेन्टले संयुक्तरूपमा निर्माण गरेको अमेरिकी नाटक गोल्डेन ब्वाइमा नम्रतालाई देखिने भएको हो। उनले अभिनय गर्ने यो नाटक त्रिपुरेस्थित कर्मा बार एन्ड लाउन्जमा आगामी १६ गतेदेखि २५ गतेसम्म मञ्चन हुने भएको छ।

उक्त नाटकले सन् १९३७ को अमेरिकी शहर न्युयोर्कको कथा बोकेको छ। अमेरिकी निर्मात्री तथा अभिनेतृ इ. मेरोलाले निर्माण गरेको नाटकले आफ्नो सपना प्राप्त गर्नका लागि एक युवकले गरेको संघर्षलाई देखाउनेछ। नाटकमा नायिका नम्रता प्रेमिका र नवकलाकार अमृत दाहाल प्रेमीका रूपमा देखिनेछन्।

नायिका श्रेष्ठले लोर्ना मुन र अमृत दाहालले जोए बोनापार्टेको भूमिका निर्वाह गर्नेछन्। नाटकमा मुख्य पात्र बोनापार्टेलाई संगीतप्रेमी र बक्सर खेलाडीका रूपमा देख्न सकिन्छ। नाटक गोल्डेन ब्वाइ जोय बोनापार्टेको वरिपरि घुमेको निर्मात्री मेरोलाले यसबारे जानकारी दिन मंगलबार राधानीमा आयोजित पत्रकार सम्मेलनमा बताइन्।

नाटकका अन्य पात्रहरुमा राजकुमार पुडासैनीले मिस्टर बोनापार्टे र सरोज अर्यालले टोकियाको भूमिका निर्वाह गर्नेछन्। त्यसै गरी दिव्य देव र न्युयोर्ककी नायिका एलेजान्द्रो मेरोलालाई पनि यस नाटकमा देख्न सकिन्छ।
कार्यक्रममा नायिका श्रेष्ठले उक्त नाटकमा काम गर्ने सबैलाई धन्यवाद दिँदै नाटकले सबैको मन जित्ने विश्वास दिलाइन्। त्यस्तै नवकलाकार दाहालले पनि नाटकबाट आफू निकै आशावादी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्