यस नेपाल समाचारपत्र दैनिकमा स्वस्थ्य बिमाका समाचार आइरहन्छन्। मैले नियमित पढ्ने गरेको छु। स्वास्थ्य बिमा त्यति प्रभावकारी हुन नसकेको पनि समाचार आएको हुन्छ। यसलाई नियमितरुपमा व्यापक बनाएर सबै नेपालीसमक्ष पुर्याउन जरुरी छ। सोलुखुम्बुमा पनि स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको खबरले भने खुशी बनाएको छ। सधैँ सुस्ताएको सुनिने बिमा कार्यक्रम सोलुखुम्बु पुग्नु राम्रो हो।

गत आर्थिक वर्षदेखि नै सोलुखुम्बुमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गर्ने सरकारको घोषणा रहेको भए पनि विविध कारणले ढिलाइ भएको थियो। तर यस आवमा स्वास्थ्य बिमा शुरु गरिएकोमा जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुलाई धन्यवाद दिनुपर्छ। त्यहाँ मात्रै हैन, सबै विकट ठाउँमा यो सुविधा पुर्याउन सरकारले पहल गरेर नयाँ कार्यक्रमसहित लानु जरुरी छ।

– सुरज तामाङ, बूढानीलकण्ठ, काठमाडौं

बिरामीको उपचार छिटो गर

अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको समाचार आइरहेको छ। यहाँका स्वास्थ्य चौकीमा बिरामीको भीड देखिएको छ। यहाँको सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ। भाइरल ज्वरोका बिरामीको संख्यामा पछिल्लो एक हप्तामा तेब्बरले वृद्धि भएको समाचार आइरहँदा पनि थप स्वास्थ्य चौकी र औषधिको उचित व्यवस्था भएको छैन।

जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र गाउँ–गाउँमा रद्मेका निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी उपचार गराउन गएका छन्। यसमा हामी आफैं सचेत हुन जरुरी छ। भाइरल ज्वरोले नसताओस् भन्न पानी तताएर सेवन गर्ने, सरसफाइमा ध्यान दिने गर्नुपर्छ र सरकारले पनि उचित ध्यान दिनु जरुरी छ।

– विदान केसी, बामरुक, अर्घाखाँची

खन्जना गीत–नाच लोपोन्मुख अवस्थामा

गुल्मीमा खन्जना गीत तथा नाच उचित संरक्षणको अभावमा लोपोन्मुख अवस्थामा छ। मालिका गाउँपालिका–१, नेटामा प्रचलित खन्जना गीत तथा नाचको उचित संरक्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको हो। तीजका अवसरमा खन्जना मात्र गाउने र नाच्ने तर अघि–पछि खन्जनाको खासै वास्ता नहुने गरेको छ। युवापुस्तामा सिको नहुँदा र यसको व्यापक प्रचारप्रसार नहँुदा तथा उचित व्यवस्थापन गर्न नसक्दा खन्जना दिन–प्रतिदिन लोप भई ओझेलमा पर्न थालेको छ।

मगर समुदायमा केन्द्रित खन्जना पुराना पुर्खाले गाउँदै आएको हो। भगवान् तथा देवीदेवताका गीत महिला र पुरुषले सामूहिकरुपमा खन्जना गाउने र नाच्ने गरिन्छ। पछिल्लो समयमा युवापुस्ता पुरानो मौलिक संस्कृतिभन्दा पनि आधुनिकतातर्फ बढी आकर्षित हुन थालेपछि पुरानो मौलिक संस्कृति खन्जना ओझेलमा पर्न थालेको छ। यो दुःखको कुरा हो। यसलाई बचाउनु हामी सबैको कर्तव्य हो। जिल्लाकै एकमात्र ठाउँ नेटामा खन्जना रहेकाले जिल्लाको अन्यत्र कहीँ–कतै पनि खन्जना नभएकाले पनि यसलाई बचाउन जरुरी छ। सबै युवापुस्तालाई म के अनुरोध गर्न चाहन्छु भने, सबै मिलेर संस्कृति बचाऔं।

– सुब्बा राना, मालिका–१, नेटा, गुल्मी

म्याग्दीलाई धार्मिक स्थलको रुपमा चिनाऔं

हिन्दूहरूको पवित्र धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराणमा उल्लेख गरिएका विश्वका १५ वटा पवित्र तीर्थस्थलमध्येको एउटा तीर्थस्थल म्याग्दी जिल्लामा छ। म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पुलस्त्य पुलहाश्रमलाई विश्वकै पवित्र तीर्थस्थलको रुपमा श्रीमद्भागवत महापुराणमा उल्लेख गरिए पनि सो तीर्थस्थल प्रचारप्रसार, भौतिक पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको छ।

श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय चौधको दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ वटा तीर्थस्थलमध्ये एक मानिन्छ। श्रीमद्भागवत महापुराणमा कुरू क्षेत्र, गया, प्रयाग, पुलस्त्य पुलहाश्रम, नैमिषारण्य, फाल्गुतीर्थ, रामेश्वरम्, प्रभास, कुशस्थली, वाराणसी, मधुपुरी, पम्पासरोवर, नारायणाश्रम, विन्दु सरोवर र सीताराम आश्रमलाई विश्वकै १५ अति पवित्र तीर्थस्थलको रुपमा उल्लेख गरिएको छ। पुराणप्रसिद्ध तीन ऋषि पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ। पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको थियो। रावण जन्मेर हुर्के–बढेको ठाउँ पनि पुलस्त्य आश्रम नै भएको पुराणमा उल्लेख गरिएको छ। पछि रावणले मुस्ताङ थाकखोलाकी थकालीकी छोरी ‘मन्दोदरी’लाई विवाह गरी कालान्तरमा लंकाको राजा भएको पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।

 

श्रीमद्भागवतजस्तो विश्वप्रशिद्ध पुराणमा उल्लेख गरिएको यस्तो विश्वकै अति पवित्र तीर्थस्थलमध्येको एक तीर्थस्थल म्याग्दीमा रहनु म्याग्दीका लागि मात्रै नभएर नेपालकै सौभाग्य हो। यसको समुचितरुपमा विकास गर्ने हो भने प्रशस्तै आर्थिक लाभ लिन सक्ने सम्भावना छ। पुलहाश्रमलाई ऋषिआश्रमका रूपमा विकास गर्ने, रावणको नाभी गाडेको भनिएको ठाउँमा ‘रावण कुटी’ बनाउने, रावण खेलेको भनिएको ‘राउन्नेको पाटो’लाई रावण पार्कमा रूपान्तरण गर्ने, बेनी–पछै केबुलकार बनाउने, पुलस्त्य पुलहाश्रम क्षेत्र (साबिकका पुला, घतान, अर्थुङे, पात्लेखेत, झीं, पाखापानी, सिंगा, कुहुं, ज्यामरूककोट, भकिम्ली, मल्लाज आदि) लाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी भारत, नेपाल र श्रीलंकामा प्रचारप्रसार गर्ने हो भने पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना यहाँ छ। त्यसै गरी, जिगन्नाथ, टोड्के, कपिलाश्रम, मालिका, गलेश्वर, रिखार, तातोपानीसमेतलाई एकीकृतरूपमा पर्यटकीय क्षेत्र घोषणा गरी प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माणमा ध्यान दिने हो भने म्याग्दीको सेरोफेरो आकर्षक धार्मिक पर्यटकीय स्थल बन्न सक्ने सम्भावना देखिएको छ।
– आक्पा लामा, म्याग्दी

LEAVE A REPLY