जताततै मन्त्रीहरूको ‘भेडीगोठ’, स्कर्टिङको हैरानी



 

कुमार श्रेष्ठ, बाँके
यहाँ मन्त्रीज्यू हुनुहुन्छ ?’ –प्रहरीका एक जना असई हतार–हतार होटल सिटी प्यालेसमा सोधीखोजी गर्दै थिए। होटलको ढोकामा रहेका व्यक्तिबाट आफ्नो प्रश्नको उत्तर नपाएपछि ती असईले काउन्टरमा गएर जवाफ लिए।

नेपालगन्जमा एकै दिन धेरै मन्त्रीको आगमन हुँदा प्रहरीलाई स्कर्टिङका लागि दौडादौड नै हुने गरेको छ। मध्य र सुदूरपश्चिमको केन्द्रबिन्दु भएकाले नेपालगन्जमा दैनिक दुईभन्दा बढी भीआईपी आएको पाइन्छ। गत आइतबार एकै दिन तीन जना मन्त्रीको नेपालगन्जमा आगमन हुँदा प्रहरीलाई दौडादौड नै भएको थियो। त्यसअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोमबार युवा तथा खेलकुदमन्त्रीको जिल्ला भ्रमण रहेको थियो। आ–आफ्ना दल र मन्त्रालय मातहतका कार्यालयहरूको कार्यक्रममा आएका मन्त्रीलाई प्रहरीले आफैं खोजेर सुरक्षा दिनुपर्छ।
शेरबहादुर देउवाकै मन्त्रिमण्डलका एक जना मन्त्रीले हालै बाँकेको छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गाडी नपठाएको भन्दै धम्क्याएपछि त झन् प्रहरी–प्रशासन सतर्क बनेर मन्त्री जिल्ला झर्नेबित्तिकै अगाडि पर्ने या स्कर्टिङ लगाउने गरेका छन्।

बाँकेमा एकै दिन सात जनासम्म भीआईपी आएको जिल्ला प्रहरी कार्यालयको कार्यशाखामा रेकर्ड रहेको छ। पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र बहालवाला मन्त्रीलाई प्रहरीले खोजीखोजी स्कर्टिङ लगाउने गर्दछ। स्थानीय निकायको चुनावका बेला जिल्लामा सात जना यस्ता भीआईपी आउँदा प्रहरीलाई गाडीको ठूलो समस्या भएको थियो।

जिल्ला प्रहरी कार्यालय, नेपालगन्जमा घुमाउने दुईवटा गाडी छन्। वडा प्रहरी कार्यालयमा दुईवटा छन्। घटना हुँदा पुग्ने पनि यी नै गाडी हुन्। भीआईपी आउँदा पछि लाग्ने पनि यिनै गाडी हुन्।

‘घटना भइहालेमा त्यसलाई प्राथमिकता दिनुपर्यो, यता भीआईपीहरूलाई छोड्नु पनि भएन’, जिप्रकाका कार्य शाखाका इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण शाही भन्नुहुन्छ– ‘डिउटी त हामीले १८⁄२० घण्टा नै दिन सक्छौं। तर, गाडीको अभाव रहेको छ।’
भीआईपीलाई प्रहरीले राँझा विमानस्थलबाट नेपालगन्ज ल्याउने, कार्यक्रमस्थलमा पुर्याउने, सुर्खेत, बर्दिया र दाङका सिमानामा पुर्याउनुपर्छ। भीआईपी जिल्ला झर्दा प्रहरी प्रधान कार्यालयको सुरक्षा निर्देशनालयले पहिला नै जिल्लाको प्रहरीलाई सुरक्षाको व्यवस्था गर्न खबरदारी गर्ने गर्दछ।

मध्य र सुदूरपश्चिम जाने–आउने भीआईपीको नेपालगन्ज केन्द्रबिन्दु भएकाले यहाँको प्रहरीलाई कम्तीमा दुईवटा गाडी भीआईपीका लागि आवश्यक रहेको सम्बद्धहरू बताउँछन्। भीआईपीका लागि गाडी र तेलको व्यवस्थापन गर्न प्रहरीलाई गाह्रो भएको छ।

सामान्य प्रशासन, ऊर्जा र पशुपक्षी राज्यमन्त्रीलाई स्कर्टिङ गरेर गन्तव्यतिर पुर्याएको प्रहरीले फर्किंदा एयरपोर्टबाट गत सोमबार युवा तथा खेलकुद मन्त्रीलाई लिएर जानुपरेको थियो। फेरि दुई मन्त्री जिल्लामा आउने सूचना आइसकेको छ। देउवाको मन्त्रिमण्डल ठूलो भएको असर स्कर्टिङमा पनि परेको छ। ५० जनामा दुईभन्दा बढी मन्त्री त दैनिक नेपालगन्ज आइरहेकै हुन्छन्। ९ गते साँझ र १० गते बिहान पूर्वप्रधानमन्त्री प्रचण्डको पछाडि एसपी नै कुदेका थिए।

बाँकेको जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ रहेको छ। प्रहरीका ६९ इकाइ छन्। जिल्लामा प्रहरी दरबन्दी ९ सय ५ रहेको छ। यो हिसाबले हेर्दा एक जना प्रहरीले ५ सय ४० जनालाई सुरक्षा दिनुपर्छ।
सबै इकाइमा गाडी छैनन्। गाडीको अभाव र तेलको सीमितताले गर्दा प्रहरीलाई भीआईपी स्कर्टिङमा समस्या परेको छ। ‘नेपालगन्जजस्तो ठाउँमा त भीआईपीका लागि छुट्टै गाडी र तेलको व्यवस्था हुनुपर्छ, कार्य शाखाका इन्चार्ज शाही भन्नुहुन्छ– ‘नियमित बजेटमा धान्न साहै्र गाह्रो हुने गरेको छ।’

बाँके जिल्ला अनि त्यसमा पनि नेपालगन्ज विविधतामा एकताको शहर हो। यहाँ पहाडी, मधेसी, मुस्लिम र थारू समुदायको बसोबास रहेको छ। साना गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्नुपर्छ। यो कुरा विगतका घटनाले देखाइसकेको छ। घटनास्थलमा समयमा प्रहरी पुग्नु अत्यावश्यक नै मानिन्छ। लागूपदार्थ प्रयोगकर्ताको बिगबिगी भएकाले चोरी, लुटपाट र गुण्डागर्दी त यहाँ भइरहेका हुन्छन्। यस्ता घटनामा पनि समयमा प्रहरी पुग्नुपर्छ। प्रहरीलाई यीसँगै भीआईपीको स्कर्टिङमा गाडी पठाउनु चुनौती नै बनेको छ। जिल्लामा प्रहरीलाई गाडीको अभाव रहेको र भीआईपीको चापले गर्दा नियमित काममा असर परेको छ।

एक सुरक्षा निकायका अधिकारीले भने– ‘यति सानो मुलुकमा यति धेरै मन्त्रीहरूको भेडीगोठ बनाएर किन राज्यलाई भार पार्नुपरेको होला ?’ अहिले नै ५० सदस्यीय मन्त्रिमण्डल बनिसकेको छ भने थप ४ मन्त्रालय खाली छन्। उनीहरूका लागि मात्रै १०औं करोड खर्च हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्