चीनसँग सडक जोडियो, गाडी गुडेन



 

रविन भट्टराई, ताप्लेजुङ
ताप्लेजुङको विकट गाउँ ओलाङ्चुङ्गोलाबाट चीनको तिब्बतसम्म सडक जोडिए पनि यातायातका साधन नहुँदा स्थानीय बासिन्दा अन्योलमा परेका छन्।

करोडौंको लगानीमा सडक खनिए पनि सडकमा कुदाउने सवारीसाधन नहुँदा सडक प्रयोगविहिन बन्ने अवस्थामा पुगेको छ।

नेपालका तर्फबाट सवारीसाधन लैजाने सडक नभएको र चीनको तर्फबाट ल्याउने प्रक्रियाका विषयमा आफूहरूलाई जानकारी नहुँदा समस्यामा परेको ओलाङ्चुङ्गोला–टिप्ताला सडक उपभोक्ता समिति अध्यक्ष छेतेन वालुङ शेर्पाले बताए।

सडक निर्माणपछि चीनको तिब्बतबाट साना सवारीसाधनमा सडक अवलोकनका लागि चिनियाँ अधिकारी गोलासम्म नै आएका थिए। सडक सवारी सञ्चालनका लागि राम्रो भए पनि सवारीसाधन नहुँदा स्थानीय मर्कामा परेका छन्।

उनीहरूले भारतले जस्तै चीनले पनि विशेष अवसरमा उपहार स्वरूप सवारीसाधन दिने व्यवस्था सरकारले गरिदिए आफूहरूलाई राहत मिल्ने बताएका छन्। नेपालतर्फबाट तापेथोक हुँदै ओलाङ्चुङ्गोला जोड्न ३५ किलोमिटर बढी दूरी बाँकी रहेको छ। सो सडक पनि चाँडो बने सो स्थानसम्म सवारी पुर्याउन सहज हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्