स्थानीय निकायमा कर्मचारी अभाव : समायोजनका जाँदैनन, नयाँ आउँदैनन



नेपाल समाचारपत्र,काभ्रे ।
स्थानीय तहको पुर्नसंरचना भएको लामो समय भैसक्दा समेत कर्मचारीहरुको ब्यवस्थापन हुन सकेको छैन । मन्त्रालयका कर्मचारीहरु स्थानीय तहको अधिकार खोस्दै कर्मचारी नियुक्ति प्रकृया रोक्न र भएका कर्मचारीहरुको समायोजन गर्न निर्देशन दिईरहेका छन् तर पनि समस्याको समाधान हुन सकेको छैन ।

कर्मचारीकै अभावमा जिल्लामा रहेका थुप्रै स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे । मण्डन देउपुर नगरपालिकामा लेखा अधिकृतको भरमा नगर सभा सम्पन्न भयो । आर्थिक वर्षको अन्त्यमा नगरपालकाका कार्यकारी अधिकृतहरुको सरुवा प्रमुख कारण बन्यो ।

पाँचखालमा पुरानै कार्यकारी अधिकृत निमित्त ल्याएर परिषद् सम्पन्न भएको छ । रोशी गाउँपालिकामा कर्मचारी नभएर वडा वडाको काम हुन सकेको छैन ।

खानीखोला र महाभारत गाउँपालिकाको समस्या एउटै छ । हिजोका गाविसका सचिवहरुले संचालन गरिरहेका दुईवटा गाविसहरुमा एउटै सचिवले काम गरिरहेको अवस्था छ । जनप्रतिनिधिहरुको निर्वाचन सँगै जनताले खोजेको घर दैलोको सेवा कर्मचारी अभावकै कारण प्राप्त हुन सकेको छैन ।

यता जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजक रहेको कर्मचारी समायोजन समितिले पठाएका कर्मचारीहरु पनि कार्यस्थलमा खटिएका छैनन । विकट क्षेत्रमा कर्मचारीहरु जान अनिच्छुक भएका छन् भने सुगमका नगरपालिकाहरुमा कर्मचारीहरु थुप्रिएका छन् । केहि कर्मचारीहरुलाई नगरपालिकाहरुले हाजिर गराएका छैनन ।

विभाग, मन्त्रालय र जिल्लाबाट समेत त्यहि नगरपालिकामा मात्रै कर्मचारी जाने क्रमले कतै जनताको सेवा नै ठप्प हुने कतै कर्मचारीको लर्काे लाग्दा सेवामा असहज हुने अवस्था सिर्जना भएको छ । धुलिखेलमा आउने कर्मचारी पाँचखाल र मण्डन देउपुर नगरपालिकामा समेत जान अनिच्छुक देखाउँदै आएका छन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आफु खुशी कर्मचारीहरु नियुृक्ति गर्न पाउनु पर्ने माग गर्दै आएका छन् । ऐन, कानुनको बाहना बनाउँदै जनप्रतिनिधिहरुलाई अल्मल्याउन खोजेको भन्दै आक्रोश समेत ब्यक्त भएको छ ।

सामाजिक सुरक्षा भत्ता तथा अन्य विकासका कामहरुमा कर्मचारी अभाव हुँदा समयमै सेवा लिने कुरामा असुविधा भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्