क्षत्रीको गुलाबी स्वरहरू सार्वजनिक



गीतकार, पत्रकार तथा फिल्म निर्देशक डब्बु क्षत्रीले जन्मदिनको अवसर पारेर आफूद्वारा रचित गीतहरुको अडियो सीडी एल्बम गुलाबी स्वरहरू सार्वजनिक गरेका छन्।

आइतबार राजधानीमा सम्पन्न समारोहमा पत्रकार शान्तिप्रिय, एल्बमका गायिकाहरु निशा देशार, केन्जुमा सुब्बा, रेश्मा पुनमगर, साहिमा श्रेष्ठ र एल्बमको भिडियोकी मोडल सृष्टि तामाङले क्षत्रीको दोस्रो एकल एल्बम सार्वजनक गरेका हुन्।

कार्यक्रममा पत्रकार शान्तिप्रियले डब्बुले विगतमा गम्भीर गजल तथा गीत ल्याएको स्मरण गर्दै यसपटक नयाँ पुस्तालाई लक्षित गरेर सबैले गाउन सक्ने रोमाञ्चकारी पपशैलीका गीतहरु पस्किएको चर्चा गरे। संगीतकार ज्योतिप्रकाश विक, जुगल डंगोल, सन्तोष श्रेष्ठ र दीपक शर्माले गुलाबी स्वरहरुका गीत र ती गीतमा आफ्ना संगीतबारे प्रकाश पारेका थिए। गीतकार क्षत्रीले यो एल्बमका गीतहरु रोमाञ्चकारी भएको बताए।

एल्बममा बेबी आई लभ यु, जिस्किन मन लाग्छ, यो तन यो मन, तिमीसँग बोल्न, दोषी त नजर बोलका ५ गीत संगृहित छन्। उनको यो एल्बम बिन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो। कार्यक्रममा एल्बममा रहको गीत दोषी त नजर नै थियो बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो।

गीतकार क्षत्रीले नै निर्देशन गरेको यो भिडियोमा अभिनेता नवीन लम्साल, मोडल एवं नेपाल नेक्स्ट सुपर मोडलकी विजेता सृष्टि तामाङ, मोडलद्वय देविका कार्की र कुशल पाण्डेले अभिनय गरेका छन्। राजु केसीले खिचेको सो भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्