छक्का पञ्जा–२ को अर्को गीत सार्वजनिक,दीपक र दीपाले एक–अर्कालाई भनेतिमी बिना म अधुरो छु



नेपाली हास्यव्यंग्य अभिनय क्षेत्रका सफल जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले एक अर्काबिना आफूहरु अधुरो र अपुरो रहेको बताएका छन्। दीपक र दीपाले राजधानीमा सोमबार आयोजित आफूहरुद्वारा निर्मित फिल्म छक्का पञ्जा–२ को दोस्रो गीत सार्वजनिकी कार्यक्रममा यो खुलासा गरेका हुन्।

‘एक जना हुनुहुन्छ, उहाँबिना म अपुरो छु। उहाँ हुनुहुन्छ दीपाजी’ –कार्यक्रममा बोल्दै हास्य अभिनेता दीपकराज गिरीले भने। फिल्मका कलाकार, निर्माता, प्राविधिक तथा पत्रकाहरुले भरिभराउ राजधानीको दरबारमार्गस्थित राइजिङ मलको क्युज सिनेमा हलमा गिरीले यसो भनेपछि दीपाश्रीले सबैकासामु दीपकको गालामा चुम्बन गरिदिइन्।

हल र कार्यक्रम सञ्चालकबाट वान्स मोर र तालीको आवाज आएपछि दीपाले पुनः दीपकलाई चुम्बन गरिदिइन्। जब दीपाश्रीको बोल्ने पालो आयो, उनले पनि भनिदिइन्– ‘म तिमीबिना अपुरो छु। मेरो तन, मन, धनमै छ दीपक। उसको साथबिना म अपुरो छु।’

कार्यक्रममा सार्वजनिक भएको गीतको बारेमा बोल्दै दीपकराज गिरीले भने– ‘यो गीत छक्का पञ्जाको भन्दा फरक छ। पहिलेको गीतको फोटोकपी नहोस् भनेर फरक प्रयोग गरेका छौं। योभन्दा अगाडि हामीले सार्वजनिक गरेको छक्का पञ्जा–२ को पहिलो गीत नाइलनको सारीले विवाद सिर्जना गरेको थियो। जसका कारण फिल्मको प्रमोसन नै गर्नुपरेन।

संगीतकारबाट गीत चोरिन्छ तर निर्माताले चोरेको यो पहिलो गीत बन्यो’ –उनले व्यंग्य गर्दै भने। त्यसै गरी निर्देशक दीपाश्री निरौलाले आफूले पूरै युनिटको सहयोग र हौसलाले राम्रो फिल्म बनाउने कोशिस गरेको बताए। दीपाले हलमा उपस्थित केही कलाकर्मीको नाम लिँदै दाइ र भाइ भनेपछि जितु नेपालले जिस्काइदिए– ‘दाजुभाइ मात्रै बढाउने? केटा खोजेर बिहेचाहिँ नगर्ने?’ सञ्चमारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा जितुले सुटिङको समय स्मरण गर्दै दीपाश्रीले निकै मेहनत गरेको बताए।

‘हामीले सधैं दीपक र दीपा मिलेको देख्थ्यौं। तर, सुटिङको क्रममा भने उहाँहरुको निकै झगडा परिरहेको हुन्थ्यो। यो झगडा फिल्मलाई राम्रो बनाउनका लागि थियो’ –जितुले भने। कार्यक्रममा म त यता किनारमा बोलको गीत रिलिज गरिएको थियो। हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य र गायिका आस्था राउतको स्वर रहेको गीतमा शब्द उत्तम सञ्जेल र संगीत किरण कँडेलको रहेको छ भने यसको भिडियोमा नायिका प्रियंका कार्कीसँग दीपकराज गिरी र बुद्धि तामाङले कम्मर मर्काएका छन्। यसमा अतिथि कलाकारको रूपमा विल्सनविक्रम राईले नृत्य गरेका छन्।

कार्यक्रममा हास्यव्यंग्य अभिनेता तथा यस गीतका गायक हरिवंश आचार्यले आफूले गाएको गीत लन्डनबाट फर्किएर आउँदा छक्का पञ्जा–२ ले लिएको थाहा पाउँदा निकै खुसी लागेको बताए। ‘गीतको भिडियो हेर्दा यो निकै राम्रो लाग्यो। हरिले गाएको गीतमा परीले नाच्दा गीत निकै राम्रो बनेको छु –उनले भने।

त्यसै गरी मदनकृष्ण श्रेष्ठले गीत निकै राम्रो भएको र त्यसका पनि हरिवंश आचार्यले गाएकाले आफ्नो लागि विशेष भएको बताए। नायिका स्वस्तिमा खड्काले छक्का पञ्जा टिमसँग जोडिन पाएकोमा आफूलाई निकै राम्रो महसुस भएको बताइन्। ‘सानोमा तीतो सत्य हेर्दा म पनि यसमा खेल्न पाए पनि हुन्थ्यो नि भन्ने लाग्थ्यो। तर, आज त्यही टीमको फिल्ममा इङ्गेज हुन पाएको छु’ –उनले भनिन्। त्यसै गरी नायिका प्रियंका कार्कीले दीपक–दीपाको टिमसँग काम गर्दा आफूलाई धेरै खुसी लागेको बताइन्। ‘म वडा नं.–६ देखि नै यो टिमसँग काम गर्दै आएको छु। म यो टिमसँग भए पनि नभए पनि यो टिमको कुनै पनि सफलताले मलाई खुसी दिन्छ’ –उनले भनिन्। नायिका वर्षा राउतले पहिलो गीत नाइलनको सारीले सफलता पाइरहेको बेला यो गीत पनि उत्तिकै सफल हुने दाबी गरिन्।

आगामी असोज ११ गते अलनेपाल रिलिज हुने फिल्म दीपक र दीपासहित, विकासराज आचार्य, जितु नेपाल, केदार घिमिरे, केशव न्यौपाने, दीपेन्द्र खनिया र सुमन गिरीले निर्मँण गरेका हुन्। स्वरूप पुरुष ढकाल डेब्यु नायक रहेको फिल्ममा दीपक, प्रियंका, वर्षा, स्वस्तिमा, केदार, जितुका साथमा राजाराम पौडेल, शिवहरि पौडेललगायतका कलाकार रहेका छन् भने कथा विकास आचार्य र सामिप्यराज तिमल्सिना, पटकथा र संवाद दीपकराज गिरीको रहेको छ। त्यस्तै लेखनमा जितु नेपाल, केदार घिमिरे माग्ने र अभिमन्यु निरवीले सहयोग गरेका छन्। सो अवसरमा गोलाप्रथाद्वारा सहभागीलाई केही थान पेनड्राइभ र ३ थान मोबाइल प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्