सवारी कर्जामा सहज



हेमन्त जोशी,काठमाडौं ।

बैंक तथा वित्तीय क्षेत्रका लागि सवारी कर्जा न्यून जोखिमयुक्त र राम्रो प्रतिफल दिने क्षेत्र मानिन्छ। सोही कारण बैंकहरूको सवारी कर्जामा प्रतिस्पर्धा नै चल्छ।

लगानीको आकर्षक क्षेत्र रहेको हुनाले बैंक तथा वित्तीय संस्थाहरूले सर्वासाधारणलाई सो शीर्षकमा कर्जा प्रवाहको दायरा खुकुलो बनाउने गरेका छन् भने सर्वसाधारणको सानो बचतवाट निजी गाडी चढ्ने सपना पनि साकार भएको छ।

गत माघमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले सवारीसाधनलाई अनुत्पादक कर्जा भन्दै बैंकहरूले ९० प्रतिशतसम्म गर्दै आएको कर्जा प्रवाह ५० प्रतिशतमा खुम्चाएको थियो। अनुत्पादक क्षेत्रको कर्जामा राष्ट्र बैंकले कडाई गरेपछि सवारी साधनमा पनि गिरावट आएको व्यवसायीहरू बताउँदै आएका छन।

तर चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भने सवारी कर्जा केही खुकुलो भएको छ। मौद्रिक नीतिअनुसार निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्यांकनको अधिकतम् ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्ने व्यवस्थालाई ६५ प्रतिशत पुर्याइएको छ।

व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा उक्त सीमा ८० प्रतिशत कायम गरिएको छ। तर, न्यूनतम ४० सिटका सार्वजनिक यातायात, निर्माण कार्य तथा शिक्षा, स्वास्थ्यलगायत सेवाका लागि प्रयोग हुने सवारी साधनको हकमा भने सो सीमा लागू गरिएको छैन।

त्यसैगरी हायरपर्चेज कर्जा प्रदान गर्ने अनुमति प्रँप्त संस्थालाई बैंक तथा वित्तीय संस्थाले सवारी साधन, मेसिनरी जस्ता स्थिर सम्पत्ति धितो लिई सोको खरिद मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गरी सम्पत्तिको पूरा मूल्यको बीमा गरेको अवस्थामा सहवित्तीकरण आवश्यक नपर्ने व्यवस्था मौद्रिक नीतिमा छ।

बैंकले प्रवाह गर्ने कर्जामा भने एकरूपता छैन। हरेक बैंक तथा वित्तीय संंस्थाअनुसार फरक ब्याजदर तथा फरक समयावधिका लागि कर्जा लिन सकिन्छ। कर्जामा गरिएको कडाइका कारण दूईपांग्रे सवारीमा कम समस्या देखिए पनि चारपांग्रे र हेभी इक्विपमेन्टको बजार भने प्रभावित भएको व्यवसायीहरू बताउँछन्।

१० वटा बैंक र २ वटा इन्स्योरेन्सको स्टल

गत वर्षको नाडा शोमा बैंकहरूले सवारी साधनको मूल्यको ९० प्रतिशतसम्म कर्जा दिएको थिए। तर, अहिले सवारी कर्जामा राष्ट्र बैंकको अंकुश लागेको छ। बैक तथा वित्तीय संस्थाले सवारी साधनलाई नै धितोको रूपमा लिने र ऋण तिर्न नसके सवारी साधन बेचेर नै ऋण असुल गर्ने सक्ने हुँदा लगानीका लागि कम जोखिमयुक्त क्ष्ँेत्र हो।

नाडा अटो शो २०१७ का संयोजक तथा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष शम्भुप्रसाद दाहालले राष्ट्र बैंकको अटो कर्जामा कडाईपछि यस खुम्चिएको बजारमा नयाँ मौद्रिक नीतिपछि केही सुधार आएको बताउनुभयो।

नाडा अटो शोमा पनि १० वटा बैंकले स्टल राख्ने तयारी गरेका छन। ग्राहकहरूले कर्जा सम्बन्धी सम्पूर्ण जानकारी सम्बन्धित बैंकको स्टलमार्फत् लिन सक्नेछन। सम्बन्धित बैंकहरूले आफ्नो स्टलमार्फत् कर्जामा ब्याजको प्रतिशत, कर्जा अवधि, डाउन पेमेन्ट जस्ता कुराको जानकारी पाउनेछन। सेवा शुल्कमा पनि केही छुटको व्यवस्था रहेको छ। बैंकहरूले नाडा अटो शो लागि लागि नै भनेर ब्याजदरमा केही प्रतिशत छुट पनि दिने भएका छन्।

नाडाको अटो शोमा हिमालयन बैंक, एनआईसी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, प्रभु बैंक, स्टान्डर्ड चार्टर्ड, ग्लोबल आईएमई, बैंक अफ काठमाडौं, सिभिल बैंक गरी १० वटा बैंकका स्टलहरू राखिएका छन। त्यसैगरी एनबी इन्स्योरेन्स र नेको इन्स्योरेन्सको पनि सहभागिता रहेको छ।

शोमा सहभागी बैंकहरूको ब्याजदर पनि एकरूपता देखिँदैन। अधिकांश वित्तीय संस्थाले प्राथमिकताका साथ अटो कर्जामा लगानी गरिरहेका छन्। बैंकहरूले उपलब्ध गराउने शुलभ कर्जा र सर्वसाधारणको क्रयशक्तिसमेत बढेकाले सवारीमा सर्वसाधारणको पहुँच बढ्दै गएको व्यवसायी बताउँछन्।

वाणिज्य बैंकको तुलनामा फाइनान्स कम्पनीको कर्जामा ब्याजदर केही महँगो हुने भएकाले उनीहरूको ब्याजदर १५ प्रतिशतसम्म छ। यसबाहेक अधिकांश वाणिज्य बैंकहरूले अटो कर्जा ८ प्रतिशत देखि १२ प्रतिशतसम्म उपलब्ध गराउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्