डा साबलाई राहत



पहिलो चरणको स्थानीय तहको निर्वाचनअघि नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र उनका समर्थकले निर्वाचन आयोगमा चुनाव चिह्नको दाबी गर्दै धेरैपटक धर्ना दिएको धरहराले देखेको हो।

चर्को घाम, धुवाँ र धुलोको समेत वास्ता नगरी भट्टराई धेरैपटक आयोग धाए तर उनको माग पूरा भएन। केही सीप नलागेपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेर नयाँ शक्ति चुनावमा होमियो।

यादवसँगको चुनावी साँठगाँठ अनुसारको परिणाम नआएपछि बौद्धिक कहलिएका नेताको निकै आलोचनासमेत भयो। चुनावी परिणामपछि धेरैले सो पार्टीलाई ‘नयाँ बोतलमा पुरानै रक्सी’को संज्ञा दिनसमेत भ्याए। आफ्ना दाहिने हात मानिएका केही र अन्य धेरै नेताले हालै नयाँ शक्ति छोडेपछि भट्टराई ‘विना हराएको कस्तुरीझैं भए’ भन्ने पनि सुनियो। तर पाठकवृन्द, ढिलै भए पनि उनले न्याय पाएको धरहराले सुन्यो।

अब उनको पार्टीले संसद्मा पनि प्रतिनिधित्व गर्न पाउने रे⁄ संसद्मा प्रतिनिधित्व गरेको थरुहट पार्टी नेपाल नयाँ शक्तिमा विलय भएपछि डा साबलाई लागेको घाउमा थोरै भए पनि मल्हम लागेको धरहराले ठहर गरेको छ है। कि कसो?

प्रतिक्रिया दिनुहोस्