मञ्चको साहस स्पोर्ट्ससँग सम्झौता



नेपाल समाचारपत्र,काठमाडौं
नेपाल खेलकुद पत्रकार मञ्चले खेल पोसाक उत्पादक कम्पनी साहस स्पोर्ट्ससँग ‘पल्सर स्पोर्टस अवार्ड २०७३’का लागि सह–प्रायोजन सम्झौता गरेको छ। यही भदौ २६ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले २०७३ सालमा खेलक्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन मदत गर्नुहुने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई पल्सर स्पोर्टस् अवार्डबाट सम्मान गर्न गइरहेको छ।

कम्पनी शुरू भएको पहिलो वर्ष नै साहस स्पोर्ट्सले मञ्चसँग सहकार्य गरको हो। त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा सोमबार सम्पन्न कार्यक्रममा मञ्चका अध्यक्ष महेश आचार्य र साहस स्पोर्ट्सका अध्यक्ष एवम् प्रबन्ध निर्देशक जनक न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे।

साहस स्पोर्ट्सले मञ्चलाई ३ लाख रुपियाँ बराबरीको सामग्री उपलब्ध गराउनेछ। सम्झौताअनुसार साहसले पल्सर स्पोर्ट्स अवार्ड २०७३ मा मनोनयनमा पर्ने सबै खेलाडी, प्रशिक्ष्ँक र खेलकर्मीलाई ट्र्याकसुट तथा मञ्चलाई टि–सर्ट र क्याप उपलब्ध गराउनेछ।

अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस, पारा एथ्लिट, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड विधा रहेका छन्।

यसअघि नै पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ। वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षकको मनोनयन पनि चाँडै सार्वजनिक गर्ने मञ्चले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्