दोक्लाम विवाद सल्टियो



नयाँ दिल्ली, (एजेन्सी)

भारत र चीनको दोक्लाम क्षेत्रमा बढ्दै गइरहेको तनाव अन्त्य भएको भारतले जनाएको छ। सोमबार भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै पछिल्ला केही साता दोक्लाम विवादबारे चीनसँग कूटनीतिक तहमा कुराकानी गरेको र दुवै देशले आ–आफ्नो चासो र चिन्ता व्यक्त गरेको जनाएको थियो।

‘यही आधारमा दोक्लाममा रहेका सीमा सुरक्षा फौज तुरुन्त फिर्ता गर्न हामी सहमत भयौं र फौज फिर्ताको क्रम जारी छ।’ वक्तव्यमा भनिएको छ।

चीनले भने दोक्लाममा आएका सबै भारतीय सैनिक फिर्ता भइसकेको र चिनियाँ सेनाले त्यहाँ गस्ती गरिरहेको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले आफूहरूले दोक्लामका सबै ठाउँमा जाँच गरेको र भारतीय सेना त्यहाँबाट हटिसकेको बताइन्। ‘चिनियाँ सैनिकले सार्वभौमिकताको रक्षाका लागि दोक्लाममा गस्ती जारी राख्नेछ।’ –उनले भनिन्।

चीनसँग सीमा जोडिएको भुटानको दोक्लाम क्षेत्र लामो समयदेखि भुटान र चीन दुवैले आफ्नो भूभाग भनेर दाबी गर्दै आएका छन्। भुटानको पश्चिम–उत्तर सीमामा रहेको दोक्लाम चीनको नियन्त्रणमा छ। उक्त क्षेत्रमा सडक निर्माणका लागि चीनले गत जुन १६ मा निर्माण सामग्री र गाडी पठाएकामा भुटानले तत्काल त्यसको विरोध गरेको थियो।

जुन १८ मा डोजर लिएर २ सय ७० जना भारतीय सैनिक दोक्लाम पुगेका थिए। भारतले आफ्ना सैनिकलाई उक्त क्षेत्रमा पठाएपछि भारत र चीनबीच तनाब शुरू भएको थियो।
चीनले भारत सो क्षेत्रबाट पछि हट्ने कुराले आफू प्रसन्न भएको जनाएको छ। पछिल्लो विवाद गत जुन महिनादेखि दुई देशबीच शुरू भएको थियो।

चीनले सो क्षेत्रमा बनाइरहेको सडकको अवस्था अब के हुन्छ भन्ने बारेमा भने स्पष्ट पारिएको छैन। चीनले भनेको छ– ‘घटनास्थलको परिस्थिति बदलिएको छ। चीन अहिलेको अवस्थाअनुसार नै परिचालन हुनेछ।’

चीन यससम्बन्धी आफ्नो ऐतिहासिक सन्धिअनुसार चल्ने र आफ्नो सार्वभौमसत्ताको सम्मान गर्ने बताएको छ। उहाँले भारतले सीमा क्षेत्रको शान्ति र स्थिरता आपसी सम्मानका साथ स्वस्थ ढंगले अघि बढाउने विश्वाससमेत व्यक्त गर्नुभयो। दुई छिमेकीबीचको झगडाले गर्दा नेपाललाई आ–आफ्नो पक्षमा तान्न दुवै मुलुकले विगतमा प्रयास गर्दै आएका थिए। तर, नेपालले तटस्थता देखाउँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्