ट्रक चालकलाई अरिंगालले चिलेपछि…



हेटौंडा,(नेस) । राजमार्गमा सोमबार दिउँसो करिब सवा ४ बजे आफ्नै गतिमा कुदिरहेको एउटा ट्रक सडकको छेउमा अचानक पल्टियो । त्यसमा आगो हुर्हुरी बल्न थाल्यो । दुर्घटना हुनुमा चालकको, अन्य सवारी वा सडकको दोष देखिएन । दोष थियो त जंगली अरिंगालको ।

जंगलबाट हुल बाँधेर आएको अरिंगालले ट्रकको झ्यालबाट भित्र छिरेर चिलेपछि करिब ३६ वर्षीय चालक शिवहरि भट्टराई रन्थनिए, उनलाई रिंगटा लाग्यो, होस गुमाए । सोही कारण ट्रक अनियन्त्रित भयो । मकवानपुरका डीएसपी दिलिप झाले चालकलाई उद्धृत गर्दै सवारी चलाइरहेको बेला अचानक अरिंगालले चिलेपछि दुर्घटना भएको बताए ।
हेटौंडा–१५, चुरियामाईमन्दिर नजिक ना. ३ ख ६१८० नम्बर ट्रक पल्टिएको हो ।

पल्टिएपछि ट्रकमा आगो लागेको प्रत्यक्षदर्शीले बताए । ट्रक पल्टिएपछि घर्षणका कारण ट्रकको इन्धन ट्यांकीमा आगो लागेको थियो । आगोलाई करिब ४५ मिनेटपछि स्थानीयसहित हेटौंडा र बाराबाट आएको दमकलको सहयोगमा निभाइएकोे थियो । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले बताएको छ । उपचाररत् चालकमा टाउको दुख्ने समस्या देखिएको छ । अनुहार, हात र कानलगायत अंगमा चिलेर घाइते भएका उनको उपचार भइरहेको हो । ट्रकमा जीआई पाइप लोड थियो ।

प्रतिक्रिया दिनुहोस्