चेयाले गोरखामा बनायो पाँच विद्यालय, दुई निर्माणाधिन



गोरखा । उत्तरी गोरखाका विभिन्न पाँच वटा विद्यालयहरुको पुनिर्माण भएको छ । सहयोगी संस्था चेया नेपालको सहयोगमा शिव प्रावि, बुद्ध मावि, सिम्चेत प्रावि, गंगा जमुना निमावि, चुम्लीङ प्राविको केहि कक्षा कोठा तथा भवनहरु पुननिर्माण भएको हो ।

भूकम्पले विद्यालय ध्वस्त भएपछि टेण्टको टहरामा सञ्चालन भएका ति विद्यालय अहिले नयाँ भवनबाट सञ्चालनमा आएका छन् । त्यस्तै वालकल्याण प्रावि र इच्छा निमाविको भवन भने निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको सोमबार गोरखा दरमुकाममा आयोजित एक कार्यक्रममा संस्थाले गरेको कार्यप्रगती सुनाउँदै चेया नेपालकी शृष्टि शिलवालले जानकारी दिईन् ।

विद्यालय पुननिर्माण सँगै सो संस्थाले खेलकुदका सामग्री, विद्यार्थीहरु विच खेलकुद प्रतियोगिता गर्ने, शिक्षकहरुलाई शिक्षणलाई कसरी राम्रो बनाउृन सकिन्छ भनेर तालीम दिने, पुस्तकालयको लागि सहयोग गर्ने लगायतका काममा पनि सहयोग गरेको जनाएको छ ।

त्यस्तै उत्तरी गोरखाका भूकम्प पिडितहरुलाई राहत सहयोग, निशूल्क स्वास्थ्य शिविर पनि संस्थाले गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख नरजंग ठकुरीले जानकारी दिए ।

सो संस्थाले चीन सँग सिमाना जोडिएको उत्तरी गोरखाको छेकम्पारमा गर्भवती तथा सुत्केरी महिलालाई ध्यानमा राखेर बर्थिङ सेण्टर समेत सञ्चालनमा ल्याएको छ । सहजै सुत्केरी हुन नसकेका आमाहरु कि हेलीकोप्टर चार्टर गरेर काठमाडौँ लगायतका शहरमा जानुपर्ने बाध्यता छेकम्पारका महिलाहरुमा अहिले नभएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । चेयाकै सहयोगमा सो बर्थिङ सेण्टरमा नर्सले पनि सेवा दिइरहेकी छन् ।

चेयाले आगामी कार्यक्रममा उत्तरी क्षेत्रमा सञ्चालन भइरहेका केहि कार्यक्रमलाई निरन्तरता दिने र पालुङटार नगरपालिकामा बर्थिङ सेण्टरका लागि भवन निर्माण गरिदिने जनाएको छ । त्यस्तै जलवायू परिवर्तनलाई रोक्न विभिन्न वातावरण अनुकुलन कार्यक्रम पनि गर्ने जनाएको छ ।

सोमबार चेयाको कार्यक्रम बारे जानकारी दिने कार्यक्रम जिल्ला समन्वय समितीका अध्यक्ष अशोक गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय विकास अधिकारी नारायण प्रसाद आचार्य, जिल्ला शिक्षा अधिकारी, बाबुराम आचार्य, धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ, पालुंटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा निर्माण सम्पन्न भइसकेका र निर्माणाधिन रहेका विद्यालयका प्रधानाध्यापक तथा विद्यालय ब्यवस्थापन समितीका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्