भारतलाई उपाधि, नेपाल पराजित



 

नेपाल समाचारपत्र
काठमाडौं
भारतीय टोलीले काठमाडौंमा भएको साफ अन्डर–१५ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको फाइनलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो। योसँगै घरमै भएको प्रतियोगितामा उपाधि उचाल्ने नेपालको सपनामाथि तुषारापात भएको छ।

खेलको पहिलो हाफसम्म एक गोलले अग्रता लिएर पनि नेपालले हारलाई आत्मसात गर्न बाध्य भएको हो। खेलको ४१औं मिनेटमा बृजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेपछि पहिलो हाफसम्म नेपालले भारतलाई १–० पछाडि पारेको थियो। भारतीय खेलाडी मोरङथेम थाइवा सिंहले रञ्जन पुनलाई पेनाल्टी एरियामा लडाएपछि नेपालले उक्त पेनाल्टी हान्ने अवसर प्राप्त गरेको थियो। तर दोस्रो हाफमा सशक्त प्रदर्शनमर्फत भारतले दुई गोल फर्काउँदै खेलको नतिजा नै उल्ट्याउन सफल भयो।

दोस्रो हाफमा लगातार आक्रमणतिर अग्रसर भारतका तर्फबाट खेलको ५९औं मिनेटमा लालरोकीमाले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो। भारत यतिमा रोकिएन। खेलको ७५औं मिनेटमा कप्तान विक्रम प्रताप सिंहले दुई नेपाली रक्षकलाई निस्तेज पार्दै उत्कृष्ट गोल गरेपछि भारत खेलमा २–१ ले अघि बढ्यो। यता दोस्रो गोल बेहोरेपछि खेलमा फर्कन नेपाली टोलीले पनि भरमग्दुर प्रयास गरेका थिए। थर निर्धारित समयसम्म दुवै टोलीले थप गोल गर्न नसकेपछि अन्ततः भारतले उपाधिमा नाम लेखाउन सफल बने।

प्रतिक्रिया दिनुहोस्