‘द मनि फाइट’ मा मेवेदर विजयी



 

लस भेगास, (एजेन्सी)
बहुप्रतीक्षित ‘द मनी फाइट’ नाम दिइएको ब्यवसायिक बक्सिङ भिडन्तमा अमेरिकाका फ्लोइड मेवेदर विजयी भएका छन्।

आइतबार लस भेगासस्थित टी–मोबाइल एरिनामा भएको उक्त भिडन्तमा मेवेदरले आयरल्यान्डका कोनोर मेकग्रेररलाई १०औं राउन्डमा टेक्निकल नकआउटको आधारमा पराजित गरेका हुन्। भिडन्तअन्तर्गत शुरुको तेस्रो राउन्डसम्म मेकग्रेररले मेवेदरलाई खुलेर खेल्न दिएका थिएनन्। उनले मेवेदरलाई दबाबमा राख्न सफल भएका थिए। तर बक्सिंग रिंगमा अपराजित मेवेदर चौथो राउन्डपछि पुरानो लयमा फर्किंदै मेकग्रेगोरमाथि हावी भए।

जसअनुसार उनले १०औँ राउन्डमै सुस्त देखिएका मेकग्रेररलाई टेक्निकल नक–आउटको आधारमा पाखा लगाउन सफल भए। ब्यवसायिक बक्सिंगका बादशाह मेवेदरविरुद्ध ओपन मार्शल आर्ट्स खेल युएफसी च्याम्पियन बनिसकेका मेकग्रेरको बक्सिङ रिङमा यो पहिलो भिडन्त थियो।
तैपनि दसौं राउन्ड अघिसम्म मेकग्रेररले मेवेदरलाई बलियो नै चुनौती दिइरहेका थिए। मेकग्रेगोर टेक्निकल नकआउट हुनुअघि मेवेदरले उनीमाथि लगातार मुक्का वर्षाएका थिए। विशेषतः मेवेदरको बाँया हुक पन्चहरूले मेकग्रेगरलाई अप्ठ्यारोमा पारेको थियो। जसका कारण मेकग्रेरर चोटग्रस्त बनेपछि अम्पाएरले भिडन्त रोक्दै मेवेदरलाई विजयी घोषित गरे।

यसअघि नै ब्यवसायिक बक्सिंगबाट सन्यास लिइसकेका मेवेदरले उक्त जितपछि खुसी व्यक्त गरे। उनले आफ्ना प्रसशंकहरू माझ पुनः एकपटक फर्केर उत्कृष्ट प्रदर्शन गर्न सकेकोमा खुसी ब्यक्त गरेका थिए। उनले भने ‘मेकग्रेगर मैले सोचेको भन्दा उत्कृष्ट पाए।’ यसअघि ‘फाइट अफ दी सेन्चुरी’ बाट चर्चित भिडन्तमा फिलिपिनी मुक्केबाज मेनी पक्याओलाई हराएपश्चात मेवेदरले ब्यवसायिक बक्सिंगबाट सन्यासको घोषणा गरेका थिए।

उक्त भिडन्तको दसौं राउन्डमा रेफ्रीले खेल रोक्नुअघि मेवेदर अंकको आधारमा पनि अघि नै रहेको थियो। उनले स्कोर–कार्डमा (८७–८३, ८९–८२, ८९–८१) ले अग्रता लिइरहेका थिए। मेवेदरले खेलअघि नै यो आफ्नो अन्तिम खेल हुने पनि बताएका थिए। यता मेकग्रेगरले बक्सिंगलाई निरन्तरता नदिने र यूफसीमा नै फर्कने बताए। हारको विषयमा प्रतिक्रिया दिंदै उनले भने– ‘अलि चाँडै नै थकित बनेकाले खेल अलि चाँडै नै सकेको हो।’ यता जितसँगै मेवेदरले आफ्नो अपराजित यात्रालाई ५० खेलसम्म पनि जारी नै राख्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्