उद्यमी इन्द्रभक्त श्रेष्ठको जयन्ती मनाइयो



 

काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष स्वर्गीय इन्द्रभक्त श्रेष्ठको सम्झना गर्दै आइतबार इन्द्रभक्त जयन्ती कार्यक्रम आयोजना गरिएको छ। नेपालको औद्योगिक एवम् व्यापारिक उत्थानमा महत्त्वपूर्ण योगदान दिनुभएका तथा नेपालमा चेम्बर आन्दोलनका अभियन्ता श्रेष्ठको सम्झना कार्यक्रम ललितपुरको आईजे पायोनियर स्कुलमा गरिएको हो।

 

कार्यक्रममा एनई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहनुभएका स्वर्गीय श्रेष्ठका छोरा रविभक्त श्रेष्ठले स्वर्गीय जोशीको योगदान तथा इन्द्र जवाहर सहयोग गुठीको गतिविधि बारेमा बोल्नुभएको थियो। एनई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरिएको इन्द्र जवाहर गुठीमार्फत विशेष गरेर स्वास्थ्य, शिक्षा र संस्कृति क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। सोही अवसरमा संस्थाले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो।

श्रेष्ठका छोराले छात्रवृत्तिलाई निरन्तरता दिन १ करोडको अक्षय कोष स्थापना प्रक्रियामा रहेको समेत जानकारी गराउनुभएको थियो। समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वर्गीय इन्द्रभक्त श्रेष्ठको योगदान बारे चर्चा गर्नुभएको थियो। कार्यक्रममा टियू फ्याकल्टी अफ म्यानेजमेन्टका डीन प्रा. डा. डिल्लिराम शर्मा, आईपी पायोनियर स्कुलकी प्रिन्सिपल संगीता प्रधानलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्