नृत्य प्रतियोगितामा उत्कृष्ठलाई पुरस्कार



 

 

ललितपुर प्याब्सन, क्षेत्र नं. ५ ले धोबीघाटस्थित आइडियल मोडल स्कुलमा अन्तरविद्यालय एकल नृत्यप्रतियोगिता सम्पन्न गरेको छ। सो कार्यक्रममा ५ नम्बर क्षेत्रका १५ विद्यालयका २८ विद्यार्थी सहभागी थिए। सिनयर र जुनियर गरी दुई तहमा सम्पन्न कार्यक्रमका उत्कृष्ट तीन प्रतियोगीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका अध्यक्ष विजय साम्बाम्फे र विशेष अतिथि ललितपुर प्याब्सनका अध्यक्ष शिव कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रममा प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्कीले विद्यार्थीहरूको प्रतिभालाई उजागर गराउने उद्देश्यले आयोजना गरेको कार्यक्रमको सरहना गर्नुभयो। प्रमुख अतिथि प्याब्सन अध्यक्ष साम्बाम्फेले यस्ता कार्यक्रमले विद्यार्थीहरूको चौतर्फी विकास हुने कुरा राख्दै कार्यक्रम आयोजकलाई बधाई दिनुभएको थियो।

क्षेत्रीय संयोजक विनयप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रका ५ नम्बर १५ विद्यालयका निर्देशक, संस्थापक प्रिन्सिपल तथा विद्यालय प्रतिनिधिहरूका साथै केन्द्रीय प्याब्सनका कोषाध्यक्ष टंक भट्टराई, ललितपुर प्याब्सनका उपाध्यक्ष रामबाबु अधिकारी, विष्णु बस्नेतको उपस्थिति रहेको थियो । कार्यक्रमको निर्णायक प्रसान्त तामाङ र रोशन श्रेष्ठ रहेका थिए।

प्रतिक्रिया दिनुहोस्