दयनीय पुस्तकालय



ईश्वरराज ढकाल

कहिले हेर्ने पुस्तकालय? यो प्रश्नको उत्तर सरकारसंग छैन। भूकम्प गएको दुई वर्ष पुगिसक्दा पनि ध्वस्त भएको पुस्तकालय बनाउन तयारीसमेत सरकारले गर्न सकेको छैन। हरिहर भवनमा रहेको नेपाल राष्ट्रिय पुस्तकालयलाई कहाँ सार्ने भन्ने विषयमा शिक्षा मन्त्रालयले हालसम्म निर्णय गर्न सकेको छैन। शिक्षा मन्त्रालयले आफ्नो स्वामित्वमा रहेको जमलको जग्गामा राष्ट्रिय पुस्तकालय बनाउने तयारी गरेको छ। हामी तयारी गर्दै छौं, कहिले निर्णय हुन्छ जानकारी नै छैन’ –शिक्षा मन्त्रालय पुस्तकालय समन्वय शाखा प्रमुख यादव निरौलाले भन्नुभयो। राष्ट्रिय पुस्तकालयको पुस्तक महेन्द्र भवन उमाविमा राखिएको दुई वर्ष पूरा भयो अहिले ती पुस्तक बोराबाट झिकेर र्याकमा भए पनि पुस्तकप्रेमीले पढ्ने अवसर पाएका छैनन्। केवल राष्ट्रिय पुस्तकालयको वाल शाखामा रहेको पुस्तक हेरेर मात्रै चित्त बुझाइरहेका छन्। नेपालमा यही १५ गते १०औं पुस्तकालय दिवस मनाउने तयारी गरिरहँदा नेपालको पहिलो पुस्तकालय राष्ट्रिय पुस्तकालयको हालत बिजोग छ। न त पुस्तक छ, न हेर्न पुस्तकप्रेमीलै आउन पाएका छन्। पुस्तक हेर्नेको चाहनामा अहिलेसम्म पूरा हुनसकेको छैन। राष्ट्रिय पुस्तकालय स्थापना भएको ६१ वर्ष पुग्यो। गत वर्ष राष्ट्रिय पुस्तकालयले हिरक महोत्सव मनाइरहँदा करिब एक लाख पुस्तक बोराभित्र थिए। अहिले बोराबाट बाहिर आयो तर अझै पनि व्यवस्थित हुनसकेको छैन।

‘२०१३ साल पुस १९ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले भारतीय पुस्तकालयको पुस्तक ल्याएर स्थापन गर्नुभएको राष्ट्रिय पुस्तकालय अहिले कन्त बिजोग छ। सो पुस्तकालयमा रहेको करिब ५ हजार दस्तावेज एकै स्थानमा राखिएको छ। २०७२ वैशाख १२ गतेको भूकम्पमा पुस्तकालय भवन पूर्ण रूपमा भत्किएको थियो। त्यसपछि मर्मत गर्ने कामै भएन। सरकारले हरिहर भवनलाई भत्काएर नयाँ भवन बनाउने तयारी गरिसकेको छ। तर त्यो पुस्तकालयलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय हुन सकेको छैन। त्यही राख्ने वा जमलमा नयाँ भवन बनाउने भन्ने विषयमा छलफल भइरहेको छ’ –पुस्तकालय समन्वय शाखा प्रमुख निरौलाले भन्नुभयो। मन्त्री परिषद्को निर्णयबाट मात्रै जमलको जग्गा प्राप्ति गर्न सक्ने भएकाले यो विषयमा छलफल भइरहेको उहाँको भनाइ थियो। राष्ट्रिय पुस्तकालयले भूकम्पपछि २०७२ साल असार १५ गते पुस्तकालय छिरेर पुस्तक संकलन गरी महेन्द्र भवनमा स्थानान्तरण गरेको थियो।

‘हाल नेपालमा सरकारले अनुदान दिएर सञ्चालन भएका तीनवटा पुस्तकालय छन्। राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय र डिल्लीरमण पुस्तकालय। तीन मध्ये दुईवटा पुस्तकालयको अवस्था दयनीय छ। केशर पुस्तकालय रहेको दरबार सरकारले रेक्ट्रोफिट गर्ने तयारी गरिरहेको छ। केशर पुस्तकालय त जोगियो, राष्ट्रिय पुस्तकालयलाई कसरी बचाउने भन्ने विषयमा मन्त्रालय चिन्तामा छ ’–शिक्षा मन्त्रलयका सहप्रवक्ता सरस्वती पोखरेलले भन्नुभयो। उहाँले पुस्तकालय दिवसको अवसरमा पुस्तकालय भवन कसरी जोगाउने ? भन्ने विषयमा समेत छलफल गर्नु जरुरी रहेको बताउनुभयो। ‘हाल नेपालमा सार्वजनिक र सामुदायिक गरी करिब एक हजार पुस्तकालय छन्। विद्यालयमा रहेका पुस्तकालयको संख्या त करिब १२ हजारको हाराहारीमा रहेको छ’ –निरौलाले जानकारी दिनुभयो। शिक्षा मन्त्रालयका तत्कालीन योजना महाशाखाका प्रमुख सह–सचिव बैकुष्ठ अर्यालको संयोजकत्वमा गठित समितिले राष्ट्रिय पुस्तकालय भवन निर्माण गर्ने विषयमा गत वर्ष शिक्षा सचिवलाई ९ पृष्ठ लामो प्रतिवेदनसमेत बुझाएको थियो। तर सो प्रतिवेदन पनि कार्यान्वयन हुन सकेको छैन। प्रतिवेदनमा हाल भएको भवनको पुनर्निर्माण गरी सोही स्थानमा पुस्तकालय सञ्चालन गर्ने, जमलमा शिक्षा मन्त्रालयको स्वामित्वमा रहेको तर त्रिभुवन विश्वविद्यालय जनप्रशासन क्याम्पस रहेको भवन, केशर पुस्तकालय, बबरमहलस्थित हुलाक प्रशिक्षण केन्द्र रहेको भवन र तीनकुनेस्थित खालि जग्गामा पुस्तकालय भवन निर्माण गर्ने गरी समितिले प्रतिवेदन दिएको थियो। अहिले हरिहर भवनकै खालि जग्गामा भवन बनाएर पुस्तकालय स्थापना गर्ने वा जमलमा नयाँ भवन बनाउने भन्ने विषयमा निर्णय हुने क्रममा रहेको निरौलाको भनाइ थियो। उहाँले भन्नुभयो– ‘प्रकृया लामो भएकाले अझै केही समय लाग्न सक्ला। जग्गा प्राप्ति गर्न मन्त्री परिषद्को निर्णय हुनुपर्ने भएकाले समय लाग्न सक्छ।

पुस्तकालय समन्वय शाखा प्रमुख निरौलाले आधा दर्जन स्थान पहिचान गरे पनि सरकारको स्वामित्वमा रहेको जमलको जग्गा उपयुक्त हुने गरी प्रतिवेदन दिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘अहिले उपयोगविहीन रहेको भवनमा पुस्तकालय बनाउँदा सो स्थानको सौन्दर्यता बढ्ने उहाँको भनाइ रहेको छ। काठमाडौंको मुटुमा रहेको जमलमा नेपालको राष्ट्रिय पुस्तकालय स्थापना गर्दै सबै पुस्तकप्रेमीको गौरव बढ्ने उहाँको धारणा थियो।

भूकम्पले भवन ध्वस्त भएपछि जनप्रशासन क्याम्पस स्थानान्तरण भइसकेको छ। पुस्तकालयमा सन १९९७, २००० र २००४मा राष्ट्रिय वाङ्मय सूची भाग ३ सम, घुम्ती पुस्तकालय, सेवा, संस्कृत भाषाको पुस्तकको सूची, इशतत्वम, शस्ति रत्नावली, राखिएको छ। त्यस्तै २००९ देखि आईएसएसएन नेसनल एजेन्सीको रूपमा कार्य गरी हालसम्म २ सय ३० भन्दा बढी सिरियललाई नम्बर प्रदान गरेको, देवनागरी लिपीमा प्रकाशित सामाग्रीलाई मदन पुरस्कार पुस्तकालयले निर्माण गरेको युनिकोड प्रयोग गरेर २४ हजार ७ सय रेकर्ड राष्ट्रिय पुस्तकालयमा छ। सरकारले केशर पुस्तकालयलाई भने केही व्यवस्थित गरिसकेको छ। केशर पुस्तकालयमा पुस्तक हेर्नेको भीड दिनप्रतिदिन बढ्न थालेको छ।

नेपालका पुस्तकालयहरू विश्वका उत्कृष्ठ २०औं स्थानमा पुग्न सफल हुँदासमेत सरकारलाई पुस्तकालयहरू व्यवस्थित गर्नुपर्छ भन्ने भावना बढ्न सकेको छैन। ‘चितवनको झुवानी सामुदायिक पुस्तकालय विश्वको २०औं स्थानमा पर्छ। अब सबै पुस्तकालयलाई संरक्षण गर्नुपर्छ भन्ने हेतुले १०औं पुस्तकालयलाई बैग्लै ढंगले सञ्चालन गर्न लागेका हौं’ –मन्त्रालयका सह–प्रवक्ता पोखरेलले भन्नुभयो। नेपालको एक सरकारी पुस्तकालयका रूपमा रहेको केशर पुस्तकालय २०२६ सालअघि केशर समशेर र उहाँको परिवारको निजी पुस्तकालय थियो। २०२६ सालमा सरकारको स्वामित्वमा सञ्चालन भएको सो उक्त पुस्तकालयमा हाल ६० हजारको हाराहारीमा पुस्तक, कागजात तथा अन्य महत्त्वपूर्ण संकलनहरू छन्। डिल्लीरमण पुस्तकालयमा करिब ३५ हजार हाराहारीमा पुस्तक र अन्य महत्त्वपूर्ण जस्तावेज रहेको पुस्तकालय समन्वय शाखाका प्रमुख निरौलाले
जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्