अविरल यात्रामा दीपक जंगम



नेपालमै पहिलोपटक नेपाल सुन्दरीजस्तो सौन्दर्य प्रतियोगिता गर्दै आएको द हिडन ट्रेजरले अघिल्लो वर्ष अविरल यात्राका नाममा शुरु गरेको सांगीति कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। अघिल्लो वर्ष गीतकार तथा फिल्मकर्मी यादव खरेलद्वारा रचित गीतहरू विभिन्न गायकगायिकाबाट प्रस्तुत गरेको हिडन ट्रेजरले यसपटक सो मञ्चमा गीतकार, संगीतकार, गायक तथा कलाकार दीपक जंगमलाई एकल साँझमा प्रस्तुत गर्ने भएको छ।

हिडन ट्रेजरले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी अविरल यात्रा २०७४ दीपक जंगम गर्ने जानकारी गराएको छ। कार्यक्रम आगामी असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ। उक्त कार्यक्रममा संगीतकार दीपक जंगमले संगीत भरेका विभिन्न कालजयी लोकप्रिय १८ गीत प्रस्तुत गरिने छ। सो अवसरमा दीपकद्वारा संगीतबद्ध गीतहरू पुराना तथा नयाँ पिँढीका गायक गायिकाहरू दीप श्रेष्ठ, दीपक खरेल, आनन्द कार्की, कर्णदास, तारा थापा, अजर जंगम, संगीता राणा, निशा देशार, बानिक प्रधान, सुमन श्रेष्ठ र शैलेश श्रेष्ठले प्रस्तुत गर्नेछन्।

‘वरिष्ठ भइसकेका पुराना सर्जक तथा संगीतकारहरूलाई समाजले नै बिर्सिराखेको अवस्थामा द हिडन ट्रेजरले यसरी सम्झिनु हाम्रा लागि राम्रो कुरा हो’, पत्रकार सम्मेलनमा बोल्दै जंगमले भने– ‘नयाँ तथा पुराना पुस्ताका बीचमा रहेको अदृश्य खाडल पुर्न पनि यो कार्यक्रम एकदमै सार्थक रहने विश्वास मैले गरेको छु।’
गायिका तारा थापाले आफ्नो सारा जिन्दगी नै नेपाली संगीतमा खर्चिएकाहरूका लागि यस्तो कार्यक्रम पुनर्जीवनसरह हुने बताइन्। सरकार पनि कलाकारप्रति उदासिन रहेको बेला उक्त कार्यक्रम सफल र ऐतिहासिक हुनेमा गायिका थापाले विश्वास व्यक्त गरिन्। त्यस्तै गायक दीपक खरेलले आयोजकको जमर्काेलाई धन्यवाद दिँदै भने ‘दीपक जंगम आफैंमा सांगीतिक क्षेत्रको एक संस्था हुन् र उनको सम्मान नै नेपाली सांगीतिक क्षेत्रको सम्मान हो’ –गायिका संगीता रानाले दीपक जंगमसँगको पहिलो भेटको स्मरण गर्दै जति पुरानो हुँदै गए पनि यस्तै संस्थाको सहयोगमा पुराना कलाकारहरूले पनि अवसर पाउने बताइन्।

आयोजकका तर्फबाट बोल्दै अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले भने– ‘सधैं छायाँमा रहने संगीतकार र गीतकारको सम्मानमा यो कार्यक्रमको शुरुआत गरिएको हो। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएकालाई हामीले प्रत्येक वर्ष सम्झिँदै आएको छौं।’ जीवित अवस्थामा नै कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यका साथ अविरल यात्राको शुरुआत गरिएको कक्षपतिले जानकारी दिए। साथै उनले अविरल यात्रालाई अभिलेखको रूपमा राख्न पुस्तक प्रकाशन गर्ने पनि बताए।

द हिडन ट्रेजरले मिस नेपालका साथमा विभिन्न सांस्कृतिक, सामाजिक कार्यक्रम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्