जनताले खोजेको शक्ति



डा. टीकाराम पोखरेल
आजकल राजनीतिमा वैकल्पिक नयाँ शक्तिको बहस चलेको छ। समसामयिक राजनीतिक विचार र बहसको निकै ठूलो हिस्सा वैकल्पिक शक्तिले ओगटेको छ।

विचार र बहससँगै आधा दर्जनभन्दा बढी समूह वैकल्पिक नयाँ शक्तिको आवरणमा जन्मिसकेका पनि छन्। कतिले नाममा नै नयाँ शब्द जोडेका छन् भने कसैले नाममा नयाँ नजोडे पनि आफूलाई नयाँ वैकल्पिक दाबी गरेका छन्। अहिले जन्मेका वैकल्पिक शक्ति नयाँँ हुन नसकेको दाबी गर्दै अरु नयाँ शक्ति जन्माउने प्रयास पनि जारी छ। त्यसो त जन्मेर राम्रोसँग पाइला सार्नै नपाई नयाँ शक्तिहरू जोडिने र फुट्ने रोग पनि ती नयाँ शक्तिमा सरिसकेको छ।

नयाँ शक्ति शब्दावली सुन्दा त राम्रै लाग्छ। किनकि नयाँ भनेपछि सबैको ध्यान आकर्षित हुन्छ। नाम नै नयाँ भएपछि काम पनि नयाँ गर्ला भनेर जनताले आशा गर्नु पनि ठिक्कै हो। तर नयाँ काम गर्लान् भन्ने आशा एउटा कुरा हो, पक्कै गर्छन् भन्ने विश्वास अर्को कुरा हो र नयाँ काम गरेरै देखाउनु त झनै फरक कुरा हो। अहिले जन्मेका वैकल्पिक नयाँ शक्तिहरूमा जनताको आशा एकदमै कम छ, विश्वास त छँदै छैन र काम गरेर देखाउने त परैको कुरा भयो।

अहिलेका वैकल्पिक नयाँ शक्तिहरूको शैली हेर्दा भविष्यमा पनि ती जनताको मनमा बस्न सक्तैनन्। राजनीतिमा असम्भव केही छैन भनेर मान्ने हो भने, ती परिवर्तन हुनै नसक्ने त होइन तर तिनीहरूप्रति जनतामा नकारात्मक छाप परिसकेकोले तिनीहरूले परिवर्तन भएर जनताको मन–मनमा बस्न निकै मेहनत गर्नुपर्छ। झीनो आशा त गर्न सकिन्छ तर विश्वास गर्न सकिँदैन।

आखिर यी वैकल्पिक नयाँ शक्ति जन्मेर बामे सर्न नपाउँदै किन जनताको शंकाको घेरामा परे ? यति बेला त्यसको गहिरो विश्लेषण जरुरी छ। यसको विश्लेषणविना नयाँ वैकल्पिक शक्ति बनाउन खोज्नेले पनि यही नियति भोग्नुपर्दछ। आखिर किन अपेक्षाकृत गति लिन सकेनन् त वैकल्पिक शक्तिहरूले ?

१. नयाँ बोतल, रक्सी पुरानैः नयाँ हुनका लागि नाम मात्र नयाँ भएर हुँदैन, काम नयाँ हुनुपर्छ। वैकल्पिक नयाँ शक्तिका जन्मदाताहरूले ठूलो भ्रम के पाले भने, नयाँ भन्नासाथ नयाँ भैहाल्छ। जनताले नयाँ भन्नासाथ पत्याइहाल्छन् भन्ने भयो। नयाँ बोतल देखाएपछि रक्सी पुरानै भए पनि जनतालाई भ्रममा पारिन्छ भन्ने यी नयाँ अभियन्ताहरूको बुझाइ थियो। त्यसैले केहीले आफ्नो पार्टीको नाममा नयाँ शब्द जोडे, केहीले नयाँ भन्ने शब्द नै नजोडे पनि नयाँ वा अग्रगामी बुझाउने शब्द प्रयोग गरेर नाम नै काम हो भन्ने भ्रम सिर्जना गर्न खोजे। तर उनीहरूले जनतालाई भ्रममा पार्न सकेनन्, बरु आफैँ भ्रममा रहेको प्रमाणित जनताले गरिदिए। भ्रमको खेतीमा राजनीति टिक्दैन भन्ने गतिलो शिक्षा वैकल्पिक दाबी गरिएका नयाँ शक्तिहरूलाई जनताले एक वर्षमै देखाइदिए।
२. एजेन्डाविहीन एजेन्डाः अहिले नयाँ देखा परेका राजनीतिक शक्तिका कुनै राजनीतिक एजेन्डा छैनन्। एजेन्डाविहीन एजेन्डा बोकेर अगाडि बढिरहेका छन्। हुन त देशको समृद्धि नै उनीहरूको एजेन्डा हो भन्ने मत पनि केहीको छ। तर त्यो एजेन्डालाई कसरी मूर्तरूप दिने भन्ने स्पष्ट एजेन्डा तिनीहरूसँग छैन। न त त्यस्तो कुनै योजना नै तिनीहरूसँग छ। देश बनाउन राजनीतिक सिद्धान्त अनिवार्य छैन तर आर्थिक एजेन्डा अनिवार्य छ। वैकल्पिक शक्तिसँग केही हल्काफुल्का गतिविधि त देखिए पनि आर्थिक समृद्धिको आधार खडा गर्ने योजना र दूरदृष्टि देखिँदैन।

३. आलोचनामुखी
गतिविधिः आलोचना नेपाली राजनीतिको विशेषता नै हो। नेपालीले कहिल्यै नसिकेको कुरा हो अरुको प्रसंशा गर्न। नेपाली राजनीति त झन् अर्को पार्टीले गरेको राम्रो नै भए पनि आलोचना गर्नै पर्ने र आफ्नो चाहिँ गल्ती नै भए पनि ढाकछोप गर्नै पर्ने मानसिकताबाट निर्देशित छ। नयाँ शक्ति भनिएकाहरू पनि यसभन्दा माथि उठ्न सकेनन्। उद्यपि तिनले अरुको आलोचना नगर्ने भनेर पटक–पटक उद्घोष गरे तर व्यवहारमा भने तिनीहरूले नै पुराना राजनीतिक दलहरूलाई सबैभन्दा बढी गाली गरे। यसले उनीहरूको पनि नयाँ पहिचान भएन। जुन जोगी आए पनि कानै चिरेको भन्ने उखानलाई चरितार्थ गराए।

४. पुराना अनुहारको हालिमुहालीः वैकल्पिक नयाँ शक्ति नयाँ अनुहारहरूको हुन सकेन। मकुण्डो मात्र नयाँ भयो, नाम मात्र नयाँ भयो। वास्तविक र निर्णायक ठाउँमा पुरानै अनुहार भए। खासगरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा त नयाँ अनुहार देख्दै देखिएन। कि त पुराना दलका नेता देखिए, कि त पुराना प्रशासक देखिए। पुराना अनुहारबाट नयाँ कामको अपेक्षा पनि थिएन, भयो पनि त्यस्तै। पुराना अनुहारले पुरानै तरिकाले पार्टी टुटफुट गराए। पार्टीलाई पनि पुरानै अनुहारमा बदलिदिए।

५. पुरातन शैलीः वैकल्पिक नयाँ शक्तिहरूमा पुरानो शैली नयाँ शैलीमाथि हाबी छ। एकादुई नयाँ सोच भएकाहरू पनि पुरानाको चेपुवामा परेका छन्। पुरातन शोच भएकाहरू पुरानै शैलीको सिकार भएर पुनः यथास्थितिमै फर्किरहेका छन्। विवेकशील र साझाजस्ता वैकल्पिक शक्तिहरूचाहिँ एक हुन खोजे पनि तिनीहरूको पनि मिलनविन्दु भने भागवण्डा नै देखिन्छ, जुन पुरातन शैलीको द्योतक हो।

६. जनताको मन जित्न नसक्नुः वैकल्पिक नयाँ शक्ति पार्टीहरूले जनताको मन जित्नै सकेनन्। काठमाडौँको चुनावमा साझा र विवेकशीलजस्ता केही पार्टीले उल्लेखनीय मत ल्याए पनि अन्य पार्टीले मत तान्न सकेनन्। पहिलो चरणको स्थानीय चुनावमा काठमाडौँमा मत तानेका साझा विवेकशीलले पनि दोस्रो चरणमा राम्रो मत ल्याएनन्।

७. टुट, फुट र गुटको सिकारः वैकल्पिक नयाँ शक्ति भनेकाहरू एकमतले अगाडि बढ्न सकेनन्। सबैको एकमात्र उद्देश्य समृद्ध नेपाल बनउने हो भने तिनीहरू एकै ठाउँमा आउन नपर्ने कारण नै थिएन। तर उद्देश्य एक भएर पनि एक हुन सकेनन्। अहिले पनि ती पार्टीहरूबीच जब एकताको कुरा चल्छ तब भागवण्डामा कुरा अड्किन्छ। भागवण्डा मिले एकता हुन्छ। त्यसैले तिनको पनि राजनीतिक एजेन्डा देखाउने देशको समृद्धि व्यवहारमा आफ्नो समृद्धि प्रस्ट छ।

यी कारणहरूले गर्दा अहिले पनि देशमा भरपर्दो जनताले खोजेको शक्ति जन्मन सकेन। त्यसो भए जनताले खोजेको शक्ति कस्तो त ? के वर्तमान वैकल्पिक दाबी गर्ने शक्तिहरूले भविष्यमा जनविश्वास जितेर आफूलाई जनअपेक्षाबमोजिमको वैकल्पिक बनाउन सक्लान् ? प्रश्न यो पनि छ। जनताले खोजेको वैकल्पिक शक्ति पराम्परागत शैलीको होइन, नयाँ शैलीको हो। त्यो चाहे नाममा नयाँ जोडिएको होस् वा नहोस्, त्यो शक्तिमा व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्ने नेतृत्व हुनुपर्छ। देशलाई समृद्ध बनाउने कोरा नारा मात्र होइन, दूरदृष्टि र योजना चाहिन्छ। ‘डेट एक्सपाएर’ विचारको होइन, नवविचारहरूले स्थान पाउनुपर्छ। उपदेश दिने होइन, काम गर्ने नेतृत्व चाहिन्छ। अरुको आलोचना होइन, आफ्नो कमजोरी सुधार गर्ने नेता चाहिन्छ। सत्ता पाएपछि मात्र होइन, सत्ता प्राप्त नहुँदा पनि केही गरेर देखाउन सक्नुपर्दछ।

के यस्तो नेतृत्व वर्तमानमा वैकल्पिक शक्तिहरूमा छ ? अहिलेको शैली हेर्ने हो भने त्यो सम्भव छैन। बिहानले दिउँसोको संकेत गर्छ भन्ने कुरालाई मान्ने हो भने, अहिलेका वैकल्पिक नयाँ शक्तिहरूको शैली हेर्दा भविष्यमा पनि ती जनताको मनमा बस्न सक्तैनन्। राजनीतिमा असम्भव केही छैन भनेर मान्ने हो भने, ती परिवर्तन हुनै नसक्ने त होइन तर तिनीहरूप्रति जनतामा नकारात्मक छाप परिसकेकोले तिनीहरूले परिवर्तन भएर जनताको मन–मनमा बस्न निकै मेहनत गर्नुपर्छ। झीनो आशा त गर्न सकिन्छ तर विश्वास गर्न सकिँदैन।

भरपर्दो नयाँ शक्ति नदेखिएको सन्दर्भमा वैकल्पिक शक्तिका लागि अझै पनि पूरै राजनीतिक मैदान खालि छ। तर परम्परागत ढर्राको नयाँ शक्तिको लागि भने खुट्टा टेक्ने ठाउँसम्म छैन। त्यसैले अब नेपालको वर्तमान राजनीतिक मैदानमा ‘फ्रेस’ राजनीतिककर्मीको आवश्यकता छ। ‘फ्रेस’हरू अगाडि बढ्नुस्। नेपालको राजनीतिक मैदान पूरै खालि छ ।

प्रतिक्रिया दिनुहोस्