‘ग्रामीण विद्युतीकरण पहिलो प्राथमिकता’



 

शेरबहादुर थापा, सुर्खेत
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ग्रामीण विद्युतीकरण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। आइतबार वीरेन्द्रनगरमा विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालयको उद्घाटन गर्न आएका मन्न्त्री शाहीले केन्द्रीकृत कार्यालयलाई विकेन्द्रीत गरिएको बताए। अब प्रदेश नं. ६ का सबै जिल्लामा विद्युतीकरणदेखि जलविद्युत् आयोजना निर्माण गर्नेसम्मका सबै कामहरू यसै कार्यालयबाट गरिने उनको भनाइ छ।

प्रदेश नं. ६ को आर्थिक संवृद्विको प्रमुख आधार जलविद्युत् भएको भन्दै मन्त्री शाहीले भने– ‘यस क्षेत्रमा रहेको अपार जलसम्पदालाई हामी प्रयोग गर्नेछौं र प्रदेशको संवृद्विमा त्यसको प्रयोग हुनेछ।’ देशकै सबैभन्दा बढी सम्भावना बोकेको जलविद्युत् क्षेत्र र त्यसमा पनि ६ नं. प्रदेशमा बढी सम्भावना भएको भन्दै उनले यस क्षेत्रमा रहेका सबै आयोजनालाई तीव्ररूपमा निर्माण गरिने र उत्पादन भइरहेका आयोजनाको क्षमता अभिवृद्धि गरिने बताए।

यस प्रदेशका जनताको सबैभन्दा ठूलो सम्पत्ति जलसम्पदा भएको बताउँदै मन्त्री शाहीले जलविद्युत्को उत्पादन बढाई बिक्रीवितरण गर्न सकिएको खण्डमा जनताको आर्थिक अवस्था मजबुत हुने जानकारी दिए। प्रदेश नं. ६ का सबै जिल्लामा विद्युत् वितरण केन्द्र खोल्न लागिएको मन्त्री शाहीले जानकारी दिए। ऊर्जामन्त्री शाहीले कर्णाली करिडोरको केही दिनअघि टेन्डर भएको बताए। ‘कर्णाली करिडोर सम्पन्न भएको खण्डमा कर्णालीका जनताको आर्थिक, सामाजिकस्तर उकासिने र त्यसले प्रदेशको समुन्नतिमा योगदान दिनेछ।’ मन्त्री शाहीले भने– ‘देशमा स्थानीय तहको निर्वाचन प्रदेश नं. २ बाहेक अन्यत्र सकिएको र मंसिर १० गते संघ र प्रदेशको चुनाव सम्पन्न भएपछि देशले स्थायित्व पाउनेछ।’ तब मात्र गाउँगाउँमा सिंहदरबार पुग्ने र जनताले अपेक्षा गरेअनुरूपका विकास निर्माण हुने उनको भनाइ थियो।

कार्यक्रममा ऊर्जा सचिव, क्षेत्रीय प्रशासक, ऊर्जा मन्त्रालयका अन्य कर्मचारी, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुखलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्