जथाभावी संरचनाले बाढीको क्षति बढी



 

गोकुल घोरसाइने, बारा
निजगढ नपा–१३ भक्तलालकी ५५ वर्षीया श्रीमती सुकमाया घलान यति बेला बाँकी जीवन कसरी चलाउने होला भन्ने चिन्तामा छिन्। अविरल वर्षापछि गत हप्ता गाउँ नजिकैको पानीसरा खोल्छीको खहरेले कमाएर खाने १० कठ्ठा खेत बगाएपछि घलानको चिन्ता थपिएको हो। ‘हातमुख जोर्ने सबै जमिन बाढीमा बग्यो’, उनले भनिन्– ‘अब के खाएर कसरी जीवन गुजार्ने बाढीले सुकुम्बासी बनायो।’ श्रीमान् बितेपछि घलानले खेतीपातीको आम्दानीबाट २ छोरासहित ५ जनाको परिवारको गुजारा चलाउँदै आएकी थिइन्।

चुरे फेदमा रहेको बस्तीका बाँकी एक दर्जन परिवारमा पनि यति बेला सुकमायाको जस्तै चिन्ता छ। बाढीले भर्खर रोपेको धान र लहलहाउँदो मकैबालीसहित खेत बगाएपछि स्थानीय बिचल्लीमा छन्। पानीसराको खहरेले स्थानीय किसानको २० बिगाहाभन्दा बढी धान फल्ने खेत बगाएर बगरमा परिणत गरेको छ भने बालुवा र पाँगोले भरिएर आधा दर्जन घर पुरिएका छन्। नगरपालिका कार्यालयले गत वर्ष निर्माण गरेको पक्की कल्भर्टमा पहिरोले बगेका रुख अड्किएर प्रवाह रोकिएपछि बाढीले बस्तीतर्फ क्षति गरेको थियो।

कल्भर्टको मुख र पर्खालमा रुख अड्किएपछि बाढी पश्चिमतर्फ मोडिएर आवादीतर्फ सोझिएको र घरखेत बगाएको स्थानीय तिलक घलानले बताए। कल्भर्ट बनाउँदा ध्यान पुर्याउन नसक्दा बस्तीमा ठूलो क्षति पुगेको उनले बताए। ‘पहिले बुद्धि पुगेन, अहिले नसोचेको क्षति बेहोर्नुपर्यो’ –घलानले भने। भत्कलालदेखि डम्बरपुर गाउँ जोड्न कच्ची सडकमा पर्ने खोल्चीमा स्थानीयको मागअनुसार कार्यालयले गत वर्ष ५ लाख रुपियाँको लागतमा आरसीसी ढलान कल्भर्ट निर्माण गरेको हो।

नगरपालिकाका इन्जिनियर नवीन खनाल स्थानीयको आग्रहमा प्राविधिकको सुझाव विपरीत जबरजस्ती काम गर्दा क्षति भएको बताउँछन्। ‘कजवेमा खर्च कम र भरपर्दो पनि हुन्छ भनेर सम्झाउन खोजेका थियौं’, उनले भने– ‘तर कल्भर्ट नै चाहिन्छ भनेर भनेर मानेनन्, अहिले कल्भर्टसहित बस्ती पनि बगरमा परिणत भयो।’ उनले आवतजावतमा केही सजिलो हुने र हेर्दा राम्रो देखिने भन्दै स्थानीयले कजवेको साटो कल्भर्ट निर्माणमा जोड दिएको पनि सुनाए।

प्रमुख जिल्ला अधिकारी एंव जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक विजयनारायण मानन्धर भक्तलालमा जस्तै विकासको नाममा अव्यवस्थित रूपमा बनाइएका संरचनाले बाढी र डुबानको समस्या थपिएको बताउँछन्। ‘अधिकांश स्थानका कल्भर्ट, पुल, बाँध, सडक, तटबन्ध र भवन जथाभावी बनेका छन्’, उनले भने– ‘राम्ररी हेर्दै नहेरी विकासको नाममा जथाभावी निर्माण हुँदा विनाश बढायो।’ प्रजिअ मानन्धरले विपत्तिबाट जोगिन सबै दृष्टिबाट अध्ययन गरेर मात्र संरचना निर्माण गर्नुपर्ने बताए। अव्यवस्थित संरचनाले बाढीको प्राकृतिक प्रवाह रोकिएर बस्ती र आवादी क्षेत्रमा बाढी र डुबानको प्रकोप सृजना गरेरको र धनजनमा क्षति पुगेको प्रजिअ मानन्धरले जानकारी दिए। निजगढ नपास्थित बकैया र लाल खोलामा निर्माण भएको पक्की तटबन्धका कारण जंगल पसेको बाढीले दक्षिणको कोल्हवी नपामा बाढी र डुबानको प्रकोप सृजना गरेको थियो भने कोल्हवीको खैरा पुल र कलैया जोड्ने सडकले रोकेपछि यस क्षेत्रका थप एक दर्जन गाउँका बासिन्दा तीन दिनसम्म डुबानको चपेटामा परेका थिए। त्यसै गरी ढल र वर्षाको भल पानी निकासको उचित प्रबन्धविना नै बनेका सडक, घर र पर्खालका कारण यसपटक कलैया, जितपुरसिमरा उपमहानगरपालिका, सिम्रौनगढ, महागढिमाई र निजगढ नपाको मुख्य बजार क्षेत्र बाढी र डुबानको चपेटामा परेका थिए।

प्रतिक्रिया दिनुहोस्