देउवा नहुँदा कांग्रेसमा “भूकम्प”



 

रामकृष्ण चापागाईं, काठमाडौं
धानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू भारत भ्रमणमा गएका बेलामा कार्यवाहक सभापतिको जिम्मेवारी केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई दिएपछि कांग्रेसभित्र सानोतिनो भूकम्प महसुस हुन थालेको छ। देउवा आइतबार राति स्वदेश आइसक्नुभए पनि उहाँको अनुपस्थितिमा पार्टीभित्र भूकम्पको झड्का महसुस गरिएको हो।

खास गरी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले यसको विरोध गरेका छन्। उपसभापति बनाउने छनकका साथ सभापति देउवाले निधिलाई कार्यवाहकको जिम्मेवारी दिएपछि पौडेल पक्षले असन्तुष्टि जनाएको हो।

विधानतः सभापति विदेश भ्रमणमा जाँदा उपसभापतिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुपर्ने उल्लेख भए पनि उपसभापति मनोनित नभएको अवस्थामा सभापति देउवाले नेता निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो। प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले भारत भ्रमणबाट स्वदेश फिर्ता नहुँदासम्मका लागि केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेपछि वरिष्ठताको कुरा उठाएर यसको विरोध भएको थियो।

विधानअनुसार उपसभापति नभएपछि पार्टीको वरिष्ठ नेतालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुपर्ने भन्दै कांग्रेस नेता डा. रामशरण महतले भन्नुभयो– ‘विधान, परामर्श र परम्पराअनुसार सभापति देउवाले कार्यवाहक तोक्नुभएन।’ उहाँका अनुसार पार्टीका वरिष्ठ नेतालाई कार्यवाहक बनाइनुपथ्र्यो। कांग्रेस विधानको धारा २४ को १२ मा ‘केन्द्रीय सभापतिले आफू विदेश गएको अवस्थामा उपसभापतिलाई कार्यवाहक तोक्ने उल्लेख गरिएको छ।

वरिष्ठताको आधारमा गठन गरिएको २९ सदस्यीय कार्यसम्पादन समितिलाई हेर्ने हो भने वरिष्ठको एक नम्बरमा पौडेल हुनुहुन्छ भने महामन्त्री र कोषाध्यक्ष पदेन सदस्यलाई छोड्दा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठपछि निधि पाँचौं नम्बरमा पर्नुहुन्छ। विधानअनुसार उपसभापति नभएपछि वरिष्ठको आधारमा कार्यवाहक दिनुपर्ने प्रतिक्रिया आएसँगै वरिष्ठ नेता पौडेललाई उपसभापति बन्न तयार भए कार्यवाहक दिने प्रस्ताव देउवाले गर्दा उहाँले नमानेको बताइएको छ।

‘विधानअनुसार उपसभापति नभएपछि सभापति देउवाले उपसभापति बनाउने इच्छा भएको व्यक्तिलाई कार्यवाहकको जिम्मेवारी दिने हो।’

निधिले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कार्यवाहक सभापतिको विषयमा प्रतिक्रिया आएपछि आफूले वरिष्ठ नेता पौडेललाई तपाईं उपसभापति बन्न तयार हुनुहुन्छ भने वरिष्ठको हिसाबमा कार्यवाहक सभापति बन्नुहोस् म छोडिदिन्छु भने।’ वरिष्ठ नेता पौडेललाई आफूले सोधेको भन्दै निधिले थप्नुभयो– ‘सभापति देउवालाई मलाई उपसभापति बनाउने इच्छा होला कार्यवाहक दिनुभयो तपाईंलाई केको आपत्ति ?’

विधानअनुसार नभएपछि पार्टीभित्र छलफल गरेर कार्यवाहक तोक्नुपर्ने भन्ने नेता पौडेलको प्रतिक्रियामा निधिले उपसभापति, महामन्त्री, तथा सहमहामन्त्री चयनको विषयमा सभापति देउवाको आधिकारिक प्रतिनिधि भएर पाँचपटक छलफल गरेको जवाफ दिनुभएको थियो।

‘मैले सभापतिको आधिकारिक प्रतिनिधि भएर पौडेलसँग पाँचपटक कुरा गरिसकें, उहाँले पनि मलाई सभापतिको प्रतिनिधि मानेर आफ्नो धारणा राख्नुभएको थियो’, पौडेललाई भनेको भन्दै निधिले भन्नुभयो– ‘छलफल भएन भन्नु बेकारको कुरा हो।’

 

प्रधानमन्त्री फिर्ता‘मैले सोधेर बोल्ने हो र ?’

काठमाडौं, (नेस)
प्रधानमन्त्री शेरबहादुर देउवा ५ दिने भारत भ्रमण पूरा गरेर आइतबार राति स्वदेश फर्किनुभएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा देउवाले संविधान संशोधनको कुरा उठाएको भनेर आलोचना भइरहेको सन्दर्भमा सञ्चारकर्मीले विमानस्थलमा सोधेको प्रश्नमा देउवाले भन्नुभयो– ‘कहाँ बोल्ने नबोल्ने भन्ने हुँदैन। म एउटा पार्टीको सभापति पनि हुँ। मेरो पार्टीको नीति संविधान संशोधन गर्ने नै हो। त्यसैले मैले बोलेको हुँ। कसैलाई सोधेर बोल्नुपर्ने हो र ?’ सोधेर बोल्नुपर्ने भए त्यहीअनुसारको निर्णय गर्नुपर्ने उहाँले बताउनुभयो।
उहाँले आफ्नो भारत भ्रमणका क्रममा देशको शीर नझुकेको बरु ठाडो भएको समेत बताउनुभयो। उहाँले भ्रमण समग्रमा सफल भएको समेत दाबी गर्नुभयो।
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा आफ्ना भारतीय समकक्षी मोदी, राष्ट्रपति रामनाथ कोविन्दलगायत नेताहरूसँग पनि कुराकानी गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्