गनगन



सामाजिक सञ्जाल अहिलेको पुस्ताका लागि एउटा महत्त्वपूर्ण पाटो भइरहेको छ। कतिपय मुलुकले सामाजिक सञ्जालमा आएका कुरालाई कसरी निगरानी गर्ने र कसरी एक हिसाबले फैलिएका हल्लालाई निस्तेज पार्ने भन्ने सम्मका रणनीति बनाउन थालेको धरहराले देखेको छ।
तर, हामीकहाँ भने सामाजिक सञ्जालको प्रयोग यति धेरै बढ्न थाल्यो कि हावाको तालमा जसले जे पनि लेख्ने अनि त्यसैमा आएका कमेन्ट र लाइक हेरेर रमाएर बस्ने प्रचलन बढ्न थालेको छ। यस्तै तालमा केहीअघि एक जना मन्त्रीले मुलुककै प्रतिष्ठित जीवित व्यक्तिको मृत्यु भएको भन्दै समवेदना समेत दिन भ्याए। कतिपय त काम नगर्ने बरु त्यहीं सञ्जालमा गनगन गर्ने र कुण्ठा पोखेर बस्ने गरेको समेत पाइन्छ।

मोबाइलमै सबै कुरा एक्सेस भएपछि मान्छेहरू मोबाइलमा पिङ खेलुम्ला जस्तो गरेर बसेको धरहराले देखेको छ। सूचना लिनका लागि कुनै एक समयमा गर्नु त ठिकै हो। कामको चाप भएको समयमा पनि यस्ता हर्कत देखिन्छन्। त्यो समय र ध्यान देश निर्माणको काममा लगाउने हो भने सायद देश कहाँबाट कहाँ पुग्ने थियो होला ? देशको हकमा मात्रै होइन कुनै पनि कार्यालयको लक्ष प्राप्तिमा पनि कति मद्दत गर्दथ्यो होला ?

सामाजिक सञ्जालमा यस्ता पाङ्दुरे होड देखेर सभ्य मान्छे हाँस्ने अवस्था भएको छ। सामाजिक सञ्जालमा पनि सकारात्मक कुराको बढावा गर्नेतिर सोचे राम्रो हुन्थ्यो कि? सधैं नकारात्मकताको खेतीपातीका लागि त्यस्तै बीऊ रोपेपछि त्यसबाट फल कस्तो लाग्ला ? धरहरालाई चाहिँ रामरामबाहेक अरू केही पनि भन्नुछैन है पाठकबृन्द!

प्रतिक्रिया दिनुहोस्