पार्कका स्वस्तिक चिह्न नहटाइने



 

मोन्ट्रियल, (एजेन्सी)
एउटा क्यानाडाली शहरले त्यसको ऐतिहासिक महत्वको कारण त्यहाँको एउटा पार्कमा राखिएका स्वस्तिक चिन्हहरू नहटाउने जनाएको छ। क्युबेकको पोइन्टे डेस कास्काडेसमा नाजी प्रतीक स्वस्तिकहरू प्रदर्शनका लागि राखिएका छन्। मोन्ट्रियल वरपर घिनलाग्दा ग्राफिटी हटाउँदै हिँड्ने कोरी फ्लेस्चर नामक व्यक्तिले ती स्वस्तिकहरूमाथि पेन्ट गर्न खोजेका थिए। तर मेयरले उनलाई त्यसो गर्न दिएनन्। बरु प्रहरी बोलाएर उनलाई पार्क छोड्न बाध्य पारियो। मेयरले ती चिन्ह स्थानीय इतिहासको महत्त्वपूर्ण अंश भएको बताएका छन्। सो चिन्ह राखिएको स्तम्भमा ‘नाजीवादको उपहार’ लेखिएको छ।

त्यसलाई विश्वयुद्धको अन्त्यतिर युरोपमा प्रयोग गरिएको र सन् १९८० मा एउटा व्यापारीको जहाजमा फेला पारिएको समेत त्यसमा उल्लेख गरिएको छ। तर शहरको वेवसाइटमा मेयरले दोस्रो विश्व युद्धकालीन एकजना व्यापारीको जहाजमा राखिएको सो चिज २५ वर्षअघि तैराकीहरूले भेटाएको उल्लेख गरेका छन्।
मेयर गिल्लेस सान्तेर्रेले पोइन्ट डेस कास्काडेस गाउँ कहिल्यै पनि नाजीको कब्जामा नपरेको बताउँछन्। करिब १ हजार ५ सय आवादी रहेको यो गाउँ मोन्ट्रियलदेखि ८० किलोमिटर टाढा रहेको छ। रेडियो क्यानाडाले सन् १९२० अघिसम्म स्वस्तिकलाई शान्तिको प्रतीकका रूपमा लिइने गरेको जनाएको छ। यसलाई हिन्दू र बौद्धमार्गीलगायत विश्वका थुप्रै धर्मावलम्बीले प्रयोग गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्