टुहुरी बालिकाको उद्धार



 

सञ्जय कार्की, रौतहट
धन भएर मात्र हँुदैन, पुण्य काम गर्न मन हुनुपर्छ भनेझैं एक जना मनकारी महिलाबाट रौतहटकी एक टुहुरी बालिकाको उद्धार हुने भएको छ। दुई साताअघिको बाढीबाट अभिभावक गुमाउन पुगेकी रौतहटकी एक टुहुरी बालिकाको तिनै मनकारी महिलाबाट शिक्षादीक्षामा सहयोग पुग्ने भएपछि सामाजिक क्षेत्रमा काम गर्ने धेरैलाई चुनौतीसमेत थपिएको छ।

मानवअधिकार र सामाजिक कार्यकर्ताको परिचय दिएर दातृनिकायको बजेटबाट रोजगारी गर्नेलाई ती मनकारी महिलाले हृदयदेखि नै गरेको कामले चुनौती थपिदिएको हो। नेपाल विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष उर्मिला थपलिया तिनै मनकारी महिला हुन्। उहाँले बाढीबाट आमाबुबा गुमाउन पुगेकी परोहा नगरपालिका निवासी ४ वर्षीया बालिका जानवी यादवलाई कक्षा १२ सम्म पढाउनुहुने भएको छ।

आमाबुबासहित ६ जना परिवारको सदस्य गुमाएकी परोहा नगरपालिका–३ निवासी ४ वर्षीया जानवी यादवलाई नेपाल विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष उर्मिला थपलियाले चन्द्रनिगाहपुरस्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पढाउने घोषणा गर्नुभएको हो। कक्षा १२ सम्म पढाउँदा लाग्ने सम्पूर्ण खर्च थपलियाले व्यहोर्ने हुनुभएको छ।

आमाबुबाविहीन जानवी यादवलाई संघकी उपाध्यक्ष उर्मिला थपलियाले श्रीमान् मोहन आचार्यको सहयोगमा ती बालिकालाई पढाउने हुनुभएको हो। यो उहाँको पुण्य काम भएको नेपाली कांग्रेस रौतहटका सदस्य सुमन गौतमले बताउनुभयो। मनकारीहरूले सहयोग गर्ने हो भने यो देशमा टुहुरा बालबालिकाको शिक्षादीक्षा सजिलै आर्जन गर्न सक्ने गौतमले बताउनुभयो।

जानवी यादवकी आमा प्रमिला यादवलाई प्रसूति गराउन राजपुर परहदवास्थित अस्पताल लैजाने क्रममा गत साउन २९ गते बाढीले कटान गरेको बाटोमा एम्बुलेन्स बगाउँदा उनका बाबु चन्द्रकिशोर यादव र आमा प्रमिला यादवको निधन भएपछि उनी एक्लो बनेकी थिइन्। ती बालिकालाई कक्षा १२ सम्म पढाउन लाग्ने सम्पूर्ण खर्च केन्द्रीय उपाध्यक्ष थपलियाले व्यहोर्ने बताउनुभएको छ। थपलियाले बाबुआमाले दिने माया जानवी यादवलाई दिन नसके पनि शिक्षाको उज्यालो दिन सकिने भएकाले कक्षा १२ सम्म पढाउन लागेको बताउनुभयो। ‘यसबाट हामी विचलित हुने छैनौं’, उहाँले भन्नुभयो– ‘ती बालिकाको कर्म आमाबुबा बन्न चाहन्छौं।’

प्रतिक्रिया दिनुहोस्