नाट्यकर्मी महासंघको सांस्कृतिक कार्यक्रम



 

बनेपा, (नेस)। हरितालिका तीजको अवसर पारी नाट्यकर्मी महासंघ नेपाल काभ्रेले विविध सांस्कृतिक कार्यक्रमसहित तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि लोकगायक मच्छेश्वर सापकोटाले नाट्यकर्मी महासंघले गर्दै आएको क्रियाकलापले कलाकारको प्रतिभा प्रस्फुटनमा विशेष योगदान पुग्ने चर्चा गरे। नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष विजय विस्फोट, केन्द्रीय सदस्य कमल दाहालले कलाकारको हकहित तथा सामाजिक सुरक्षाका लागि महासंघले गरेको प्रगतिबारे जानकारी गराएका थिए।

दर्शकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, राप्रपा काभ्रेका सचिव राजेन्द्र केसी, नाट्यकर्मी महासंघका केन्द्रीय महासचिव राजेन्द्र रिमाल, प्रेस युनियनका अध्यक्ष कपिल कोइराला, मानव अधिकारवादी भोजराज तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो।

ठूलै झरीको समेत परवाह नगरी कार्यक्रममा सहभागिता जनाएका हजारौंहजार दर्शकलाई प्रमुख अतिथि सापकोटा तथा उनकी जीवन संगिनी सरस्वती सापकोटाले दोहोरीमा नाच्न बाध्य बनाएका थिए। त्यस्तै कलाकार तथा निर्देशक कमल दाहाल, रामहरि न्यौपाने, लोक गायक मदन विष्ट, यमकुमार मल्ल, शशिशेखर बुढाथोकी, विशाल थिङ, प्रीति संगीता, मियाङ लामा, सावित्री मगर, विक्रम गौतम, नितु पौडेल, रञ्जन कटुवाललगायतले आफ्ना गीतमार्फत् दर्शकलाई नचाएका थिए।

त्यसै गरी स्मृति कापित, रोजा परजुली, अनुष्का राजभण्डारी, निशा लामा, सरू मगरलगायतले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने हास्य कलाकार भगवान् खत्रीले दर्शकलाई पेट मिची–मिची हास्न बाध्य बनाएका थिए। गणेश केसीको प्रस्तुतिसमेत आकर्षक रहेको थियो ।

कार्यक्रमको सभापतित्व महासंघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्दले गरेका थिए भने कार्यक्रम सञ्चालन सनम सुवाल र पुजन धितालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्