मिडियाले सञ्चितासँग बाहेक सोध्ने प्रश्न नभेटेको हो?ः निखिल उप्रेती



 

नायक, निर्देशक तथा निर्माता निखिल उप्रेती नेपाली फिल्ममा एक्सन किङको रूपमा परिचित छन्। डेब्यु फिल्म पिँजडाबाट नै सफलता हात पारेका उनले नेपाली फिल्म जगत्लाई शिवशक्ति, रामलक्षण, निखिल दाइ, ए पण्डित बाजे, चोर सिपाही, हामी साथीभाइ, दाइको ससुराली, भैरब, लुटेरा, राधे, रुद्रजस्ता दर्जनौं फिल्म दिँदै आएका छन् भने केही भोजपुरी फिल्ममा समेत अभिनय गरेका छन्। पढाइको सिलसिलामा भारतमा रहँदा केही हिन्दी फिल्म र साउथ इन्डियन फिल्ममा असिस्टेन्ट डाइरेक्टरको अनुभव सँगालेका उनी आफ्नो निर्माण तथा निर्देशनमा निर्माणाधीन फिल्म कमिटनेन्टः सिक्स्टी आवर्सको पूरा गर्न लागि परेका छन् भने यसै फिल्मबाट उनले आफ्नी साली तथा नायिका पत्नी सञ्चिता लुइँटेलकी बहिनी शिवानी लुइँटेललाई पनि नेपाली फिल्मी जगत्मा नायिकाको रूपमा भित्त्याएका छन्। उनीसँग गरिएको ५ प्रश्न यहाँ प्रस्तुत छः

रश्मी थापा

एक्सन हिरो तपार्इं हिजोआज निर्देशनमा व्यस्त हुनुहुन्छ। निर्देशनमा आउनुको कारणचाहिँ के हो?

म धेरै पहिले फिल्म डाइरेक्सन नै पढेको मान्छे तर शुरुमा नै म कलाकारितामा आएँ। त्यस कारण अभिनयमा नै सफलता पाउँदै गए। यो बीचमा मैले बलिउड र साउथ इन्डियन मुभीहरुमा असिस्टेन्ट काम पनि गरें। त्यस कारण अब फिल्म निर्देशन पनि गर्नुपर्छ भन्ने सोचले निर्देशन तीर लागेको हुँ।

तपाईं कमिटमेन्टः सिक्स्टी आवर्स बनाउँदै हुनुहुन्छ। यसको धेरैजसो कलाकार बलिउडका छन्। नेपाली कलाकार तपाईंको फिल्ममा फिट हुँदैनथे?

हो, यो फिल्ममा नेपाली कलाकार फिल्ट हुँदैनथे। तपाईं अमेरिकाको कथामा फिल्म बनाउँदै हुनुहुन्छ भने नेपाली कलाकारलाई लिएर कपाल र छालाको रङ परिवर्तन गरेर अमेरिकन जस्तै बनाउन सम्भव हुँदैन। कमिटमेन्टः सिक्स्टी आवर्स इन्डियाको कथा हो। एउटा केटाले इन्डियामा गरेको भागदौडको कथा हो। कथावस्तु नै इन्डियाको भएकाले इन्डियन कलाकार लिएको हो।

केहीअघि मात्र प्रदर्शन भएको फिल्म रुद्रमा तपाईं पहिलोपटक नेगेटिभ हिरोको रूपमा देखिनुभयो। तर, फिल्म व्यवसायिकरूपमा सफल हुन सकेन। त्यो रोलमा तपार्इं जम्न नसक्नुभएकाले हो?

हुन सक्छ, फिल्म असफल भएपछि जे भन्दा पनि हुन्छ। म नेगेटिभ हिरोमा जम्न नसकेर नै फिल्म असफल भएको हो भन्न पनि सकिन्छ।

तपार्इं आफैंले बनाएको फिल्ममा तपाईंको नायिका श्रीमती सञ्चिता लुइँटेललाई नलिई साली शिवानीलाई लिनुभयो, किन?

त्यो त पछि सञ्चितालाई फिल्म खेलायो भने पत्रकारले किन फिल्ममा श्रीमतीलाई खेलाएर अरूलाई नखेलाको भनेर प्रश्न गर्छन् भनेर उनैको बहिनीलाई लिएको हो। हा…हा…हा…। वास्तवमा त्यो फिल्मको कथावस्तु नै अलि कम उमेरको केटी हुनुपर्नेछ। कथावस्तुअनुसार सुहाउँदो कलाकार चाहिने भएकाले शिवानीलाई लिएको हो।

तपार्इंले सञ्चिताजीसँग पनि फिल्म खेल्नुभएको छ। अहिले सालीसँग फिल्म खेल्दै हुनुहुन्छ। कोसँग काम गर्दा सहज लाग्यो?

मेरो लागि कुनै पनि कलाकार यो र ऊ भन्ने नै छैन। दुवै जना कलाकार हुन्। यदि व्यवसायिक कलाकार हो भने म सबैसँग काम गर्दा कम्फरटेबल नै फिल गर्छु। सञ्चिता र शिवानी दुवैसँग काम गर्दा म सहज अनुभव गर्छु। तर, मिडियाहरुले मसँग कुरा गर्दा सञ्चिताको बारेमा मात्र प्रश्न गरिरहनुभएको हुन्छ। मिडियाले मसँग उहाँबाहेक अरूको बारेमा सोध्ने प्रश्न नभेटेको हो कि या उहाँको बारेमा कुरा नगरे आर्टिकल नबिक्ने हो?

प्रतिक्रिया दिनुहोस्