अमेरिकामा आँधीको आतंक, ३४ को मृत्यु



 

भगवती तिमल्सिना, नर्थक्यारोलिना

अमेरिकाको टेक्सास प्रान्तमा केही दिन अघिदेखि आएको आँधीका कारण यहाँ रहेका अन्य देशका नागरिकका साथै नेपाली पनि प्रभावित भएका छन्। विशेष गरी हिस्टन, सानएनटिनियोलगायतका क्षेत्रमा हावाहुरीसहितको समुन्द्रको छाल उर्लिएर ठूलो वर्षा भइरहेको छ। अफ्रिकाबाट एक साताअघि शुरू भएको वर्षा टेक्सास पुग्दा हुरिकेन नामक आँधीमा परिणत भएको घोषणा गरिएको छ। हुरिकेन यतिबेला टेक्सासको सानएनटिनियोमा पुगेको छ। यहाँका जनता अत्यन्तै त्रसित भएका छन्। अमेरिकामा यतिबेला ठूलो क्षति पुगेको सरकारले जनाएको छ।

अफ्रिकाबाट अगस्ट १७ मा शुरू भएको सामान्य अवस्थाको पानी र हुरीलाई पहिला हुरिकेन भनिएको थिएन। २० अगस्टसम्म खासै ठूलो नभएको भए पनि २३ अगस्टबाट हुरिकेनमा परिणत भएर समुद्रमा ठूलो छालसहितको आँधी आउन थालेपछि यसलाई २५ अगस्टमा हुरिकेन घोषणा गरिएको हो। टेक्सासको पूर्वी क्षेत्रबाट शुरू भएको हुरिकेन यतिबेला भिक्टोरिया हुँदै बढेको र तीन दिनदेखि निकै उच्चस्तरमा बढेको छ।

यतिबेला समुन्द्रनजिकै बसोबास गर्ने मानिस उच्च स्थानतिर सर्ने र सुरक्षित ठाउँको खोजीमा छन् भने यहाँको सरकारले सुरक्षित स्थानमा बस्न आग्रह गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन पनि अनुरोध गरेको छ। सरकारले खानेकुरा, पानी तथा गाडीमा ग्यास हाल्न आग्रह गर्दै आएको छ। पसलहरुमा भिडभाड छ भने ग्यास स्टेसनमा पनि मानिस उत्तिकै लाइन बसेका छन्। खाद्य स्टोरहरुमा पनि खानेकुरा सकिँदै छ। आम मानिस आत्तिएको अवस्थामा छन्।

सबैले तयारी खानेकुरा राखेर बसेका छन्। बाहिर जान मिल्दैन, बत्ती जान सक्छ, धेरै क्षति भयो भने बाहिर जानुपर्छ, रेस्क्यु टोली टोल टोलमा खटिएको छ, स्थानीयको भनाइ रहेको छ। आफ्ना महत्त्वपूर्ण डकुमेन्ट तयारी अवस्थामा राख्न इमेलमार्फत सूचित गरिसकेको टेक्सासस्थित सानएनटिनियोमा रहनुभएका नेपाली नागरिक सन्तोष तिमल्सिनाले जानकारी गराउनुभयो।

यतिबेला टेक्सासका सडक सुनसान छन्। नेपालीको घनाबस्ती रहेको टेक्सासमा निकै त्रास देखिएको छ। नेपाली एक आपसमा आ–आफ्ना समस्या साटासाट गर्दै सान्त्वना बटुलिरहेका छन्। यतिबेलासम्म खासै कोही कसैलाई व्यक्तिगत समस्या नभएको बुझिएको छ।

सरकारले निकै प्राथमिकताका साथ जनतालाई सचेत गराउँदै आएको छ। सडक सुनसान देखिन्छ, बाटाको साइडमा रहेका रूखहरु ढलेका छन् भने भारी वर्षासँगै हुरी चलेको छ। समुन्द्रको छाल बस्ती बस्तीमा भुमरीको रूपमा पुगेको छ। हरेक घरमा सबै मानिस बाहिरिन सक्ने गरी तयारी अवस्थामा महत्त्वपूर्ण सामानहरु बोकेर बसेका देखिन्छन्। हुरिकेन अझै केही दिन टेक्सास राज्यमा रहने यहाँका मौसमविद्हरुले बताएका छन्।

समुन्द्र आसपासका मानिसहरु धेरैजसो उत्तरी भेगमा घर छोडेर गएका र नजानेहरु केही हराएको पनि जनाइएको छ। १५ देखि २५ इन्च उच्चाइमा छाल बगेको पाइएको छ। यतिबेला ६ वटा घर क्षति भएको र २० हजार मानिस मेक्सिको तर्फ जान तयारी अवस्थामा रहेको सञ्चारमाध्यमहरुले जनाएका छन्। छाल बढ्दो अवस्थामा रहेको छ। यस क्षेत्रका मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनतालाई आग्रह गर्नुभएको छ। आँधीबाट हालसम्म ३४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्